पोखराका दोहोरी साँझ खुलाउन माग

आदर्श अनलाइन, पोखरा
दैनिक १२ लाख रुपैयाँ भन्दा बढीको कारोबार हुने पोखराका दोहोरी साँझ बन्द भएको गत चैत्र ५ गतेबाट हो ।

दोहोरी साँझ सञ्चालनका लागि पटक–पटक पहल गर्दा सञ्चालन गर्ने स्वीकृति नपाएपछि पोखरा लोक दोहोरी रेष्टुरेन्ट व्यवसायी संघ कास्कीले आन्दोलन गर्ने तयारीमा जुटेको छ । उनीहरुको आन्दोलनमा संगीतकर्मीहरुको संस्था राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गण्डकी प्रदेश, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कास्की तथा सांगीतिक कलाकार संघ नेपाल कास्कीको साथ रहेको छ । सोमबार चारवटै संस्थाले संयुक्त रुपमा पत्रकार सम्मलेन आयोजना गरेर दोहोरी साँझ, गजल साँझसहितका व्यवसाय सञ्चालन गर्न अनुमति दिनुपर्ने माग गरेका छन् ।

यस अगाडि गत साउन २० गतेदेखि जिल्ला प्रशासन कार्यालय कास्की, मुख्यमन्त्रीको कार्यालय, पोखरा महानगरपालिका, जिल्ला प्रहरी कार्यालय कास्की तथा सामाजिक विकास मन्त्रालयमा व्यवसायीले पटकपटक पत्र बझाएका थिए ।

यसरी बुझाइएको पत्रबाट कुनै सुनवाई नभएकोले आफूहरु आन्दोलनमा उत्रन पर्ने अवस्थामा पुगेको पोखरा लोक दोहोरी रेष्टुरेन्ट व्यवसायी संघ कास्कीका अध्यक्ष जीवन गुरुङले बताउनुभयो । यसको लागि उनीहरुले सम्बन्धित पक्षलाई तीन दिनको अल्टिमेटम दिएका छन् ।

माग सम्बोधन नभए मंसिर २६ गतेबाट दोहोरीसाँझका सम्पूर्ण कलाकार तथा कर्मचारीको सहभागितामा आन्दोलन गर्छौ अध्यक्ष गुरुङले भन्नुभयो । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ दोहोरी साँझ खुलाउन सकारात्मक भएपनि कास्कीका प्रमुख जिल्ला अधिकारी सकारात्मक नहुँदा सञ्चालन गर्न नसकिएको उहाँको भनाई छ ।

‘सबैजना सकारात्मक हुनुहुन्छ भनेर मंसिर १५ गतेबाट खोल्न थालेका थियौ, सोही साँझ ६ बजेर २० मिनेट जाँदा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवत्ता सुवास हमालले लिखित पत्र नआइ सञ्चालन गर्न पाइन्न, कानून भन्दा माथि कोही छैनौ भन्नुभयो ।

पोखरामा कुल २६ वटा दोहोरी साँझ सञ्चालनमा रहेको भएपनि पोखरा लोकदोहोरी रेस्टुरेन्ट व्यवसायी संघ कास्कीमा आवद्ध दोहोरी साँझ २४ वटा रहेका छन् । यी दोहोरी साँझमा झण्डै १ हजार १ सय ५० संख्यामा जनशक्ति कार्यरत छ ।

जसमा कलाकार र वाद्यवाधक मात्रै लगभग ४ सयको हाराहारीमा छन् । पोखरा लोकदोहोरी रेस्टुरेन्ट ब्यवसायी संघ कास्कीका महासचिव गायक चोलेन्द्र पौडेलले यो व्यवसायनै धरापमा पुगेको बताउँनुहुन्छ ।

कास्कीमा सञ्चालित दोहोरी साँझमा १७ करोड भन्दा बढीको लगानी रहेको अध्यक्ष जीवन गुरुङले बताउनुभयो । लोकदोहोरी गायक प्रजापति पराजुलीले वि.सं. २०५० फागुन ३ गते आफ्नै घरमा ‘ दोहोरी साँझ’ सञ्चालन गरी पोखरामा दोहोरी साँझको शुरुवात गर्नुभएको थियो ।

दोहोरी साँझ सँगै यहाँ सञ्चालनमा रहेका गजल साँझ, तथा सांगीतिक प्रस्तुतिको तालमा रम्न पाइने रेष्टुरेन्टको व्यवसाय समेत ठप्प छ । यसरी व्यवसाय ठप्प हुँदा तहाँ कार्यरत कर्मचारी, कलाकार र स्वंम व्यवसायी समस्यामा परेका छन् ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गण्डकी प्रदेशका अध्यक्ष सुरेन्द्र गुरुङले काठमाडौं, चितवन, दमौली लगायतका ठाउँमा रहेका अधिकांश दोहोरी साँझहरु संचालनमा आउँदा पोखराको दोहोरी साँझ बन्द हुनु शोभनीय नभएको बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *