शिवेश्वर

शिवशरण ज्ञवाली

ए भावी ! उठ घुम्न नै जाउ मनको बहमा
पोखेर आऊँ आँसु त हजूर त्यै टुडिखेलमा
हामी त हिड्यौ थकाइ मेट्न बाटोको मोडैमा
जीवन यात्रा धक्का र मुक्की खोलीको छेवैमा ।।

गाडी नै गुडे भँवरा घुन्काइ गतिको खेल हो
आमा र छोरा दुई छेऊ हुनु ममता झेल हो
ऊ जन्मयो आज सङ्घर्ष जीवन सामना गर्नलाई
त्यही दिन आमा विचरा बरै प्रकृति लड्खडाई ।।

म दौडी जाँदा वर र पर दैवले पछार्यो
समात्न खोज्दा फुत्केर गयो हाँगाले लछारयो
ए भावी ! सुन कथा त हाम्रो जीवन व्यथाको
रोएर कति गर्दछौ तिमी चिन्ता है व्यर्थको ।।

ए बहिनी ! तिमी सुनेकै छौ नि परीक्षित जीवन
दुख र सुख जय र अजय गीतालाई भनन
ए दादा ! तिमी बुझ है कुरा जीवन नश्वर हो
विगत सम्झी पश्चाताप गर्नु समय व्यर्थ हो ।।

ऊ कस्ती थिई कस्ती नै भई सबैले जानेको
हँसिलो मुख लिएर हिड्दा सबैले मानेको
दैव नै आयो हुरी नै बनी त्यो गुँड नै भत्कायो
म छेक्न खोजे म रोक्न खोजेँ बाटो नै भत्कायो ।।

के सक्थे बरै रोक्न र छेक्न प्रकृति लीलालाई
घर त हाम्रो त्यही काली किनार शालीग्राम शिलालाई
छोरो त आयो नासो नै उसको मुहार उस्तै छ
भाग्य नै मानी हुँदैछ छ भन्थे प्रकृति निर्मम छ ।।

तापनि हाँस्दै सोध्दै छ उसले ममीको खबर
म भन्छु आज ममी नै बनी बाबाको भर गर
अरुका आमा छोरा नै भेट्दा मन नै भरङ्ग
के गरुँ मैले असहाय बन्दा तन नै तरङ्ग ।।

ए छोरा १ म त आउँदै नै छु नि काँध नै चढाउन
हुर्काइ बढाइ पढाइ तिम्लाई असल बनाउन
आमा त तिम्रो केही दिने पाहुना नबुझ्ने उमेरमा
कलेजो उसको काटियो वरै छोराको रोदनमा

के भनुँ बाबा मैले त आज विज्ञान हारेको
नातिको मुहार हेरेर आमा जीवन हाँसेको
अँध्यारो बेला काठमाडौं हो नि बत्तीको उज्यालो
रोएर थाकी बसेका यात्री जीवन नै उकालो

ए बाबु तिमी पर्ख है घर आउनेछु शिवेश्वर
दादाले भनी पठाको सन्देश रेसुङ्गा भृङ्गेश्वर
आजलाई यति कथा नै भनी बस्दैछु चुपचाप
पिरोल्छ मलाई ती दिन सम्झी उसका पदचाप।।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *