कमल चौलागाई
१. बजेट महिमा
बजाई दिने चिजै भयो बजेट यसको नाउँ
जे जे आउछ खान मिल्छ जुनसुकै होस ठाउँ !
ट्रम मिलाई कन्डिसनलाई टाङ मुनि छिराई
मह काट्दै, हात चाट्दै खान्छौ घुमाई फिराई !
हिसाब किताब दुरुस्तै छ रकम पार्छौ हात
मार्छौ तर, थप्छौ घर, निमुखालाई लात !
कालो धन लाई सेतो पार्ने नीति पनि ल्यायौ
पुरानैको जुगाड हो कि नयाँ पनि भ्यायौ !
नयाँ नेपाल यहि हो भन्दै झ्याली पिट्छौ कति ?
भ्रमको खेती गरी राछौ लाज नमानी रति !
२. फेसबुक फण्डा
त्वमेव माता च पिता त्वमेव !
त्वमेव फेसबुक च सखा त्वमेव !
सबेरैमा निद्रा खुल्दा
देश देसाबर हिड्दा डुल्दा
राती निद्रा लाग्ने सम्म
होस नगुमाइ जाग्ने सम्म
तिम्रो साथ टुट्ने छैन
फेसबुक को लत छुट्ने हैन !
बधाई गोदाई सबै यसमा
बढाई बिदाई सबै यसमा
सवको मुहार हेर्ने चसमा
मुहार वेहोर हेर्ने यसमा
उडाउदैछ निद्रा चैन
फेसबुक को लत छुट्ने हैन !
फेसबुक भित्ता कस्तो कस्तो
लाज पचेको लवस्तरो जस्तो
बाउ आमाको जय जय हुने
वृद्ध आत्मा दिनहुं रुने
गलोस भत्कोस वित्ने हैन
फेसबुक को लत छुट्ने हैन !
लोग्ने स्वास्नी एउटै खाटमा
नयां जोडि खोज्दै च्याटमा
फेक आइ डि पोष्ट गर्दा
ठगिने चाहिं अकाल मर्दा
फेसवुक लिला टुट्ने हैन
फेसवुक को लत छुट्ने हैन !
जुकेरवर्ग लाई लुकेर वर्ग वनाए
ढांट छल खेती लाई स्वर्ग बनाए
जुकेरवर्ग लाई ढुकेर वर्ग बनाए
गौडा ढुक्दै नर्क बनाए
जुकेरवर्ग लाई टुटेर वर्ग बनाए
नाता तोड्ने अड्डा बनाए
तै पनि आदत छुट्ने हैन
फेसबुक को लत छुट्ने हैन !