मेयर नेपालीको अनुभवः ‘ओढारमा जन्मेर दु:खमा हुर्केको’

बागलुङको नयाँ स्थानिय तह मध्येको एक हो ढोरपाटन नगरपालिका । भौतीक पूर्वाधार, संरचनाका हिसाबाले पनि नयाँ स्थानिय तह हो । जिल्लाको पश्चिममा पर्ने यस नगरपालिकाका नगर प्रमुख नगरपालिका भन्दा पनि चार्चामा आइरहनुहुन्छ । बाढी पीडित, पहिरो पीडित, दुखी गरिब मात्र होइन, मेला महोत्सव र विभिन्न कार्यक्रमहरुमा व्यक्तिगत रुपमा चन्दा, सहयोग गरेर सञ्चारमाध्यममा छाइरहने ढोरपाटन नगरपालिकाका नगर प्रमुख देबकुमार नेपाली संग नगरपालिकाको काम, योजना संगै नगरप्रमुखको चर्चाको विषयमा आदर्श अनलाईनकर्मी सिर्जना पन्तले गरेको कुराकानीको संम्पादीत अंशः

निर्वाचित भएर आएको पनि दुई वर्ष भन्दा बढी भइसक्यो, जनप्रतिनिधीका हिसाबले यो अवधिको अनुभव कस्तो रह्यो ?
मुख्य कुरा त अब जनप्रतिनिधी भएपछि जनताको काम गर्ने हो । जनताको अपेक्षा ठुलो छ ,जनताले चाहेका कुराहरु धेरै छन् । जनप्रतिनिधी भएपछि हिजोका दिनहरुमा भन्दा पनि बढी भेट्ने, गुनासा सुन्ने, चाहाना र अपेक्षा सुन्ने अवसर प्राप्त भएको भएर पनि धेरै खुसी छु । जनतासंग अझ धेरै भावनात्मक सम्बन्ध जोडिएको छ, नजिक भइएको छ । पहिले जति सजिलो थियो अहिले तेस्तो छैन । धेरै जिम्मेवारीहरु छन् । ति जिम्मेवारीहरु पुरा गर्ने स्रोत र साधन सिमित छ । नगरवासिहरुको चाहाना अनुसार प्रदेश र केन्द्रसंगको समन्वय र सहकार्य पछि योजना बनिरहेका छन् । यो अवधी विषेश गरी जनताको अपेक्षा, चाहाना बुझने र त्यही अनुसार योजना बनाउँने कार्यान्वयन गर्नमै वितेको छ । खुसी छु ।

नयाँ नगरपालिका, पूर्वाधार, संरचना र कर्मचारीहरुको व्यवस्थापनका हिसाबले कस्तो समस्याहरु हुँदा रहेछ, तपाईको अनुभव कस्तो छ ?
सबैभन्दा ठुलो चुनौती र समस्या नै यहि हो । पूर्वाधार र कर्मचारीको मात्र कुरा नभएर हामिहरुको समेत नयाँ अनुभवका कारणले पनि पुराना नगरपालिकाले भन्दा हामिलाई गति लिन केहि समय लाग्यो । सानो सानो कुराहरु जस्तै कार्यालय कहाँ राख्ने भन्ने विषयनै खड्क्यो, त्यसपछि र्फनिचर साना साना कुराले पनि समस्या ल्याउँदो रहेछ । अर्काे कुरा चाँहि पुरानो नगरपालिकाहरुमा पुराना आन्तरिक स्रोतहरु हुन्छन्, बजेट हुन्छ, पहिले देखि काम भइरहेको हुँदा सजिलो हुने । मेरो मात्र नभएर जतिपनि नयाँ स्थानिय तहहरु भए उनिहरु सबैको लागि यो समस्या र चुनौतीको विषय हो । विस्तारै यो चुनौती भन्दा माथि उठेका छौं । हुन त अहिले पनि हाम्रो आफ्नै भवन छैन, भाडामानै सञ्चालन भएको छ । तर कर्मचारीहरुको असहयोग भने कहिलै भएन । हामिहरु जनता, कर्मचारी र जनप्रतिनिधी मिलेर अगाडी बढीरहेका छौं । कर्मचारीहरु प्रशस्त नभए पनि थोरै कर्मचारीले धेरै काम गर्नुभएको छ । कर्मचारीकै कारणले नगरवासिको काममा ढिलाई भएको, चुस्त दुरुस्त नभएको भन्ने हाम्रोमा छैन । त्यसैले नयाँ नगरपालिका भएपनि हामिहरु रफ्तारमै अगाडी बढीरहेका छौं ।

नगरपालिका भन्दा पनि देवकुमार नेपाली अगाडी देखिन्छ, भन्ने कुरा सुन्नमा आउँछ, खास के हो बताई दिनुस न ?
तपाईको यो प्रश्न मार्मिक लाग्यो मलाई । विधोर गर्नेहरु, विपक्षमा रहेकाहरु, देवकुमार र ढोरपाटन नगरपालिकाले जे काम गरे पनि विरोध गर्नुपर्छ भन्नेहरुले जे पनि भन्न सक्नुहुन्छ । ढोरपाटन नगरपालिका भन्दा देवकुमार नेपाली होइन, नगरपालिका भन्दा नगरवासी अगाडी आएका हुन भन्छु मैले । नगरमा देवकुमारले ल्याएका निती योजना र कार्यक्रमहरुले गर्दा यहाँका बासिन्दाहरु खुलेर बोल्न, हिड्न र परिर्वतनको महशुष गर्न पाएका छन् उनिहरु अगाडी आएका छन् । निम्म वर्ग, दलित, जनजाती, पिछडिएको वर्ग सबैकोमा देवकुमार नेपाली पुगेको छ । देवकुमार नेपाली पुग्नु नै ढोरपाटन नगरपालिका पुग्नु हो । मान्छेहरुले यस्लाई कसरी व्याख्या गर्छन त्यो फरक कुरा भयो । हिजोका दिनहरुमा पनि जनताको घर दैलोमा पुगेकै थियौं । अहिलेको अवस्थामा त झन धेरै पुग्छौ । जनताको माग के छ, आवश्यकता के छ बुझछौं र त्यही अनुसार काम गरिरहेका छौं जनताले बुझेका छन् । बास्तममा भन्नेहो भने ढोरपाटन नगरपालिकाका जनताहरु यतिवेला हरेक कुराहरुमा अगाडी आएका छन् ।

यो विषयमा अझ स्पष्ट पार्दिनुस , बढी, पहिरो देखि गरिब र विपतमा परेकाहरुको घरमा पुग्दा होस या मेला पर्वमा पुग्दा नगरपालिकाको भन्दा पनि व्यक्तिगत रुपमा सहयोग गर्ने, दान गर्ने गरेको देखिन्छ तपाईले । यो पाँच वर्षको अवधीको लागि तपाई नगर प्रमुख भएपनि व्यक्तिगत चर्चाहरु भइरहेको देखिन्छ, के यो ठिक हो ?
मुख्य कुरा संस्था भन्दा व्यक्ति माथि कहिलै हुन सक्दैन । नगरपालिका भनेको नगरपालिकानै हो । म एउटा गरिबको छोरो हुँ । दलितको छोरा हुँ । म ओढारमा जन्मेर, ओढारको अवस्था, दुख, कष्ट, पीडा भोगर हुर्केको मान्छे हुँ म । मैले के भन्न चाहान्छु भने, नगरपालिका भनेको सिमित स्रोत र साधनमा चल्छ । नगरपालिकामा जति बजेट आउँछ त्यसमा ढोरपाटन नगरपालिकाका हरेक नागरिकको बराबर हक हुन्छ । गरिब, पिछडिएका मात्र होइन यहाँका सम्पन्न व्यक्तिहरुको समेत पसिना संग जोडिएको हुन्छ नगरको बजेट । हामिहरु यहाँका पहिरो पीडित, आगोलागि पीडित, दुखी गरिबको घरमा पुगेर नगरपालिकाको बजेट यति दिन्छौं, उति दिन्छौं भन्न मल्दिैन, बोल्न मिल्दैन । मैले आफैले त्यो अवस्था देखेको, भोगेको हुनाले जस्तो सुकै पीडितहरु किन नहुन म आफैले पनि उनिहरुलाई सम्बोधन गर्नुपर्छ भन्ने मान्यता राख्छु । मैले त्यहि अनुसार बोल्छु, सहयोग गुर्छ र गरिरहेको छु । त्यो त म नगरप्रमुख हुनुभन्दा पहिले पनि गर्थे, आज पनि गरिरहेको छु र भोलि पनि गर्छु । मैले यसो गर्दा धेरै पटक देवकुमार नेपाली संस्थाभन्दा माथि उठेर व्यक्तिगत रुपमा अगाडी देखिन्छ भनेर भ्रम फैलाईएको छ । संस्थागत कुराहरु निर्णय गरेर सहमति गरेर सबैको चित्त बुझाएर गर्नुपर्छ, मैले मेरो व्यक्तिगत सहयोग त मेरो खुसीले गर्ने हो त्यो अरुले पनि गर्दा हुन्छ ।

तपाई ढोरपाटन नगरपालिकाको मेयर बनेपछि अहिले सम्ममा नगरपालिकाको उपलब्धी र नगरवासिहरुको जीवनस्तरमा कस्तो परिर्वतन देख्नुभएको छ ?
सबैभन्दा ठुलो उपलब्धी भनेको हामिहरुले ढोरपाटन नगरपालिकाका सबै वडामा सडक पु¥याएका छौं । खानेपानीको व्यवस्था सबै स्थानमा पुगेको छ । तेस्रो भनेको शिक्षा हो । ढोरपाटन नगरपालिकाका सबै सामुदायिक विद्यालयमा अङग्रेजी माध्यमबाट पठन पाठन सुरु भएको छ । सबै वडाहरुमा स्वास्थ्य इकाईहरुको व्यवस्था भएको छ र अझै व्यवस्थाीत गर्नको लागि थप गर्दै छौं । हाम्रो नगरका वृद्ध वृद्धाहरुलाई घर घरमै स्वास्थ्य सेवा पुराउँने हाम्रो उद्देश्य थियो । त्यही अनुसार काम गरिरहेका छौं । निशुल्क रुपमा औषधी उपचार पु¥याउँने हाम्रो उद्देश्य हो । ढोरपाटन नगरपालिका भन्दा साथ पर्यटनसंग जोडिइ हाल्छ । हामिहरुले स्वदेशि र विदेशी सबै खालका पर्यटकहरुलाई यहाँ सम्म ल्याउँने र उनिहरुलाई यहाँको सुन्दरता कसरी देखाउँन सकिन्छ भनेर योजना बनाएर काम गरिरहेका छौं । बुर्तिवाङ देखि ढोरपाटन उपत्यका सम्म जोड्ने सडकलाई छिटो भन्दा छिटो पीच गर्नेगरी हाम्रो काम अगाडी बढिरहेको छ ।

उपलब्धीको कुरा त भइहाल्यो, नगरलाई समुन्नत बनाउँनको लागि अरु योजनाहरु के–के छन् ?
दिर्घकालीन योजना भनेको उत्तरगंगा जलासययुक्त जलविद्युत योजना हाम्रो सबैभन्दा ठुलो योजना हो । यस्लाई जसरी पनि पुरा गर्नुपर्छ भन्ने हाम्रो दृढता छ । अर्काे भनेको विकासको लागि हाम्रो यहाँका जंगल र पाखाहरुमा जडिबुटी खेती गर्ने योजना छ । र त्यस्तै सरकारले पनि गाउँ गाउँमा होम स्टेको अवधारणा ल्याएको छ । हामिहरुले पनि ढोरपाटनका गाउँ गाउँमा होमस्टे सञ्चालन गर्ने, यहाँका स्थानिय उत्पादन पर्यटकहरुलाई चखाउँने, यहाँको पहिचानलाई देश विदेशसमा पु¥याउने र प्रचार प्रशासर गर्ने हाम्रो योजना हो । शिक्षा, स्वास्थ्य, पर्यटन र विकासका कामहरु पनि हाम्रो प्राथमिकतामा छन् ।

उत्तरगंगा जलायसयुक्त आयोजनाको कुरा गर्नुभयो, यो आयोजनामा धेरै विवादहरु आइराख्छन्, विषेश गरी रुकुम र बागलुङका नेताहरुको पक्ष र विपक्षका कुराहरु चर्चामा आउँछन्, यस्मा तपाईको धारणा के छ ?
यो आयोजनाको काम भइरहेको छ । तर वेला बेलामा हल्ला गर्नेहरुको भिड छ । यो आयोजना सफल होस भन्नेहरु भन्दा धेरै असफल भएहुन्थ्यो भन्नेहरुको जमात ठुलो छ कि जस्तो लाग्छ कहिले काँही त । हाम्रा नेता र कार्यकताहरुनै आरोप लगाउँने, गाली गर्नेहरु भन्दा अरु केहि गरेको देखिदैन । यो वाइयात हल्ला हो । निरन्तर काम भइरहेको छ । यस्मा कोही पनि भ्रममा नपर्नुहुन अनुरोध गर्दछु ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *