महोत्सव विगत भन्दा केही पृथक : अध्यक्ष राजभण्डारी

बागलुङ महोत्सव जारी छ । महोत्सवका सन्दर्भमा बागलुङ उद्योग बाणिज्य सघंका अध्यक्ष तथा मुल आयोजक समितिका संयोजक युवराज राजभण्डारीसँग आदर्श अनलाइनकर्मी सुवास गौतमले गरेको संक्षिप्त कुराकानीः
तपाईको कार्यकालको यो पहिलो महोत्सव । पहिले र अहिलेमा केही फरक हुनेछ ?
महोत्सव मात्र अहिले सँग छ वटा हुँदैछन् । अहिलेको महोत्सवलाई अलि भिन्न तरिकाले लिएका छौं । अहिले लगानी सम्मेलन, कालिगण्डकी सभ्यता बचाउँ अभियान, शालिग्रामको मायाको चिनो, सुन्तलाको प्रर्दशनी, प्याराग्लाईडिङ जस्ता आर्कषणहरु पहिलो पटक हुन थालेका हुन् । त्यसैले महोत्सव निकै फरक र रोचक रहेको छ । महोत्सवले व्यापार व्यवसाय, पर्यटन प्रवद्र्धन, स्थानीय उत्पादनको प्रचार, व्यवसायिक सोच अभिवृद्धि गर्नेमा आशावादी रहेका छौं ।
महोत्सव भड्किलो भयो, मौलिकता हरायो भन्ने गुनासो सधै सुनिन्छ ? यसमा केही सोच्नुभएको छ ?
हामीले पनि केही हद सम्म त्यो कुरा महशुस गरेका छौं । महोत्सवलाई सके सम्म मौलिकता झल्काउने गरी १२ भन्दा बढी स्टलहरुमा स्थानीय उत्पादन, कृषि मेला प्रर्दशनी लगायतका कार्यक्रम राखेका छौ । महोत्सवलाई मौलिकता झल्काउने खालका कार्यक्रम गर्नका लागि दश वटै स्थानीय तहका झाँकी जस्तै लाखे नाँच, हनुमान नाँच, झाँक्री नाँच लगायतका मौलिक पहिचान बोकेका थुप्रै कार्य हुने भएको छ । तर दर्शकको ध्यान तान्नका लागि केही आधूनिक, समय सापेक्ष कार्य समेत गर्नुपर्ने हुन्छ ।
महोत्सवको मुख्य आर्कषण के.के हुन् ?
महोत्सवमा प्याराग्लाईडिङ गर्ने, १८ र १९ गते हेलिकप्टरद्वारा बागलुङ जिल्लाको पर्यटकीय क्षेत्रहरुको अवलोकनको व्यवस्था गरेका छौ । बागलुङमा प्याराग्लाईडिङको निकै सम्भावना रहेका कारण व्यावसयिक रुपमानै प्याराग्लाईडिङ गर्नका लागि केही कम्पनीहरु आर्कषित समेत भएको अवस्था छ । हामी महोत्सव पछि प्याराग्लाईडिङको व्यावसायिक उडान गर्नै तयारीमा समेत रहेका छौं । यस्तै कालिगण्डकीमा मात्र पाईने शालिग्राम संरक्षणका लागि र अवैध नदी दोहन बचाउनका लागि कालिगण्डकी सभ्यता बचाउ अभियानको कार्यक्रम समेत महोत्सवमा जोडेका छौ । यही महोत्सव मार्फत फरक सन्देश दिने तयारीमा हामी छौ ।
कति दर्शक आउने आयोजकको अपेक्षा हो ?
महोत्सवमा हामीले करिब ६ लाख दर्शक भित्राउने लक्ष्य राखेका छौं । बागलुङ सदरमुकाम साविक धौलागिरी अञ्चल सदरमुकामको केन्द्र समेत भएका कारण दर्शक धेरै भन्दा धेरै भित्रिनेमा कुनै चिन्ता छैन । महोत्सवमा भ्रमण वर्ष र अंग्रेजी नयाँ बर्षलाइ स्वागत गर्ने विशेष कार्यक्रम समेत रहेका कारण उल्लेख्य संख्यामा दर्शकहरु आउनेमा ढुक्क छौं ।
भ्रमण वर्षको शुरुवात र महोत्सव एकै पटक संयोग की तपाईहरुको योजना ?
संयोग नै भन्नु पर्दछ यसलाई । पहिला नयाँ वर्षको स्वागत र महोत्सव एकैै पटक पारेर आयोजना गरियो । यसपटक सरकारले अंग्रेजी नयाँ वर्षको अवसरमा नेपाल भ्रमण वर्ष घोषणा गरेर मनाउन लागेको छ । यसका लागि भव्य सांगितिक कार्यक्रम गर्ने र नयाँ वर्ष मनाउनका लागि पोखरा पुग्ने पर्यटकहरुलाई बागलुङ आर्कषण गर्ने मुख्य लक्ष्य रहेको छ । यस्तै बागलुङ जिल्ला प्रवेशका पाँच नाकाबाट भित्रिने पर्यटकहरुलाई त्यस दिन स्वागत गर्ने योजना समेत बनाएका छौ । जसका कारण भ्रमण वर्षको प्रचार प्रसार तथा बागलुङ महोत्सवको सफलता हुनेछ ।
कति कारोवार हुने अपेक्षा छ ?
हाम्रो अनुमान मात्रै हो । महोत्सवमा आउने दर्शकहरु अनुसारनै कारोवार बृद्धि हुँदै जाने हो । यो महोत्सवमा करिव १० करोडको कारोवार हुने अपेक्षा गरेका छौं । यहाँ उत्पादित अर्गानिक सामाग्री खरिद विक्री गर्ने, खानपान, मनोरञ्जन र सामाग्री खरिदहरुका कारण नै कारोवारमा वृद्धि हुने हो ।
महोत्सवले जिल्लामा ठोस रुपमा के कस्ता फाइदा हुनेछन् ?
महोत्सवका धेरै फाइदा छन् । आर्थिक गतिविधि बढाउने देखि बागलुङ जिल्लालाई राष्ट्रिय अन्र्तराष्ट्रिय क्षेत्रमा पहिचान दिलाउने सम्मका क्रियाकलापहरु हुन्छ । यस्तै बागलुङमा लगानीका सम्भावना, चुनौती र अवसरहरुको विषयमा समेत बहस हुने जस्ता कार्यले सिंगो जिल्लालाईनै प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा फाइदा पु¥याएकै हुन्छ । यहाँको स्थानीय, घरेलु उत्पादन, कृषि उपजको पनि प्रचार प्रसार र प्रर्वद्धन हुनेछ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *