स्थानीय तहको निर्वाचन २०७४ साल बैशाखमा भयो । त्यस यताका दुई बर्ष नागरिकको ठुलो अपेक्षाका बीच गुनासोमा बढी बितेको प्रतित हुन्छ । खासमा सबै भन्दा तल्लो तह अर्थात ग्रामिण तहका जनप्रतिनिधि के गरिरहेका छन् ? जनताको सन्तुष्टिको मापनमा उल्लेख्य उत्साह नदेखिए पनि स्वयम् जनप्रतिनिधि आफ्नो भुमिकामा सन्तोषजनक अवस्थामा छन् ? यही बुझ्ने क्रममा आदर्श अनलाइनकर्मी सिर्जना पन्तले गलकोट नगरपालिका–५ हरिचौर, बागलुङका वडा अध्यक्ष नारायणध्वज मल्लसँग कुराकानी गर्नुभएको छः–
अध्यक्षमा निर्वाचित भएको पनि साढे २ वर्ष भयो क्यारे, कार्यकाल कस्तो रह्यो ?
सबै भन्दा पहिले त हामीहरुले हाम्रो जग भुल्नु हुँदैन । देश संघियतामा गयो, संघियतामा जाँदा साथ स्थानीय, प्रदेश र संघ गरेर तीन तहको सरकार बन्यो । सरकार मात्र बन्यो, संयन्त्र र पूर्वाधार हामीहरुले अहिले सम्म बनाउँदै छौं । हाम्रा नीति नियमहरु अहिले पनि निर्माण हुँदैछन् । यसकारण पनि हामीले जनताको अपेक्षा अनुसार काम गर्न सकेका छैनौ ।
चुनावका बेला बोलेका या बाँडेका आश्वासन र सपना कति पुरा भए ?
जनताको मात्र के कुरा हामीले हाम्रै चाहना, निर्वाचनको बेला जनतालाई बाँडेका सपना र आँफुले लिएका लक्ष्य,उद्देश्य पुरा गर्न सकेका छैनौ । हाम्रो सोचाइ र अहिलेको अवस्थामा धेरै फरक प¥यो । संघीयताको अभ्यासमा जाँदा हामीसँग प्रयाप्त कर्मचारी छैनन् । भौतिक संरचना छैन, यसका बाबजुद पनि हामीहरुले समाजमा शिक्षा, स्वास्थ्य, सडक र खानेपानी त पु¥याउनै पर्छ भनेर काम ग¥यौं । खासमा सोचे जस्तो सय प्रतिशत नै त गर्न सकिएको छैन । नयाँ संरचना भएको हुनाले स्थानीय तह कर्मचारी, भौतिक संरचना, अनुभव र योजनामा काँचै थिए । अझै पनि हामीसंग शिक्षाको नीति छैन । भर्खर स्वास्थ्यको नीति बनाएका छौं । आँफ्नो अपेक्षा जति काम हुन सकेको छैन । तर, हामीहरुले हाम्रो शक्ति, स्रोत र आर्थिकले भ्याए सम्म काम गर्दै अगाडी बढेका छौं । केही पनि नभएको शुन्य अवस्था होइन । तर, ठुलो परिर्वतन भएको छैन । अबको दुई बर्ष भित्र हामीहरुले विकासका पूर्वाधार पूर्ण रुपमा सम्पन्न गर्न नसके पनि यसको भिजन तयार गर्ने, वडा र नगरको फोहोरमैला व्यवस्थापन, कार्यालय व्यवस्थापन, नगरको भवन र जग्गा व्यवस्थापनको काममा अगाडी बढिसकेका छौं ।
पहिलो आधार वर्ष, दोस्रो निर्माण वर्ष र तेस्रो बर्षदेखि ठोस उपलब्धि देखाउँछौ भनेर सरकारले भनेको छ । यस्तो ठोस उपलब्धि अब देखिएला त ?
मैले मेरो वडाको कुरा गर्नु पर्दा सडक तर्फ हरिचौरबाट टेउवा पुग्ने कौलेनीको सडक कच्ची भए पनि हामीहरुले पहिलो वर्षको वडाको सबै भन्दा ठुलो योजना अन्र्तगत राखेर काम ग¥यौ । बाटो सोलिङ गर्ने काम भएको छ । दोस्रो बर्ष हरिचौर बजारलाई सफा राख्नका लागि ढलान ग¥यौ । विद्युतको नाङ्गो तार विस्थापित हुँदैछन् । यो कार्यक्रम अर्काे बर्ष सम्पन्न हुनेछ । यस्तै स्वास्थ्यमा एक स्थानीय तह, एक स्वास्थ्य संस्था भन्ने नीति अनुसार सरकारले लिएको १५ शैयाको स्वास्थ्य नीति अनुसार गलकोट नगरपालिकाको गलकोट स्वास्थ्य केन्द्रमा भवन निर्माण हुँदैछ । यो भवन यहि वर्ष निर्माण सम्पन्न हुन्छ । त्यसको साथै आँखाको स्वास्थ्य सेवाका लागि गलकोट समाज जापानका साथीहरुको आर्थिक सहयोगमा गलकोट आँखा उपचार केन्द्रको भवन पनि यहि वर्षमा निर्माण सम्पन्न हुँदैछ । पिउने पानीको कुरा गर्दा हाम्रो यस क्षेत्रमा एकदमै समस्या छ । खानेपानी भनेर ६३ सालदेखि क्रमागत योजना चलिरहेको छ । अहिले ५० प्रतिशत काम सम्पन्न भएको छ । अहिले बजेट अभावको कारण यो योजना सम्पन्न गर्न कठिन भएको छ । बजेटको माग गरेका छौं । गलकोट नगरपालिकाको शिक्षा केन्द्र वडा नम्बर ३ हटियामा छ । त्यसलाई क्याम्पस स्तरमा वृद्धि गर्ने योजना छ । हाम्रो वडामा १२ कक्षा सम्म सञ्चालित पृथ्वी माविमा ४ वटा कोठाको भवन यो वर्ष निर्माण गरिरहेका छौं ।
यहाँले आफ्नो वडामा भएका भौतिक विकासका कामको कुरा गर्नुभयो, मानव विकासको काम, समुदाय विकासको काम केहि भएको छ ?
मानव संशाधन विकासका लागि हामीहरुले यहि पुस ८ गते स्वच्छ, पूर्ण सरसफाई उन्मुख वडा घोषणा ग¥यौं । जस अन्र्तगत हामीहरुले अघिल्लो वर्ष १८ महिना नेपाल सरकारको सरसफाई योजना अन्र्तगत भएका २०÷२२ वटा सूचकलाई हरेक घरधुरीमा जानकारी दिएर आनीबानी परिर्वतको लागि कसरी स्वस्थ रहने भनेर जनचेतनामुलक कार्यक्रम ग¥यौं । अहिले हामीहरुले सरसफाई उन्मुख वडा घोषणा गर्न सफल भएका छौं । त्यसको फलस्वरुप अस्ती फागुन १ गते इच्छा कामना गाउँपालिकाका १ देखि ७ सम्मका वडाका अध्यक्ष, कालिका नगरपालिकाका १ देखि १२ वडा सम्मका अध्यक्ष र भरतपुर महानगरपालिकाका २९ नम्बर वडाका अध्यक्ष लगाएत ३५ जना चितवन जिल्लाका जनप्रतिनिधी हाम्रो सूचना पाएपछि सरसफाई सम्बन्धी अन्तरक्रिया गर्न यहि आउनुभयो । उहाँहरुले हाम्रो वडाको भ्रमण गरेर जानुभयो । त्यसकारणले मानव विकास (चेतना, जागरण) लगायतको क्षेत्रमा पनि हामीले काम गरेका छौ ।
गलकोट नगरपालिकामा बसाई सराईको ठुलो समस्या देखिन्छ । त्यसमा पनि तपाईको वडामा तथ्यांकमा धेरै रहेछ । तपाईले भन्नुभएको काम र योजना सुन्दा त यसरी बसाई सराई गरेर जानुपर्ने अवस्था देखिदैन । तर, बसाइसराई त किन बढ्दो छ ?
समाज परिर्वतन हुनको लागि आनिबानी परिर्वतन गर्नुपर्छ । भौतिक परिर्वतनले हुँदैन जस्तो लाग्छ मलाई । मान्छेलाई लागेको बानी परिर्वतन गर्न निकै ग्राहो हुने रहेछ । केहि समय लाग्ने रहेछ । गलकोट नगरपालिका द्वन्द्वबाट ग्रसित नगरपालिका हो । हामीलाई द्वन्द्वले धेरै प्रभाव पा¥यो । द्वन्द्व पश्चात हुने खाने, बैदेशिक रोजगारीमा रहेकाहरुका परिवार र सम्पन्न व्यक्तिहरुले यहाँबाट बसाई सर्नुभयो । त्यसको प्रभाव घर, टोल र गाउँ हुँदै सिङ्गो नगरपालिकामा प¥यो । तर, पछिल्लो समय त्यो अवस्था छैन । विकासोन्मुख शहरहरु बागलुङ, पोखरा, काठमाण्डौं र चितवन बसे पनि आँफ्नो जन्मभूमी आँफ्नो गाउँमा केही गर्नुपर्छ, त्यहाँ जानुपर्छ भन्ने भावना पैदा भइसकेको छ । सबै भन्दा ठुलो कुरा शिक्षा, स्वास्थ्य र रोजगारी हो । यो सबै कुरा आँफ्नो ठाउँमा पाईयो भने मान्छे बाहिर जाँदैन । त्यसको लागि हामीहरुले काम गरिरहेका छौं । हरेक स्थानीय तहमा एउटा औधोगिक ग्रामको सरकारले नीति ल्याएको छ, यो नीतिले बसाई सराई रोक्ने मात्र होइन, मान्छेलाई आँफ्नो ठाउँमा फर्काउछ । हामीहरुले वडा नम्बर ३ र ४ को बीचमा औधोगिक ग्राम सञ्चालन गर्दैछौं । छोडेर जानेहरुको तथ्याङ्क एक्कासी देखिए पनि गाउँ फर्कनेहरुको तथ्याङ्क विस्तारै देखिन थालेको हामीहरुले अनुभुति गरिरहेका छौं । त्यो बातावरण हामी बनाउँछौ । कृषि र पर्यटनको लागि हामीहरुले काम गर्नुपर्छ, वैदेशिक रोजगार रोक्नुपर्छ । हामी यहि योजनाका साथ अगाडी बढेका छौं ।
सुन्दर घर, सुन्दर गोठ र सुन्दर फाँटहरु बाँझै छन् । अब गाउँमा चहलपहल गराउने, यहि रमाउने, बसाउने वडाको अबको नीति, योजना कस्ता छन् त ?
नीति बनाउनुपर्ने आवश्यकता देखिएको छ । हामीसँग ठ्याक्कै नीति छैन । कृषि र पर्यटनलाई प्राथमिकता दिनेमा हामी अगाडी बढिसकेका छौं । तर, कृषिको विकासका लागि निर्वाहमुखीबाट व्यवसायीक तर्फ उन्मुख हुनका लागि गुरुयोजना आवश्यक छ । यसको लागि प्रदेश र संघबाट सरकारले स्थानीय तहलाई सहयोग गर्नु आवश्यक छ । मलाई अर्काे कुरा के पनि लाग्छ भने नीति बनाउनु नै ठुलो कुरा पनि होइन । नीति भएर पनि लागु भएन भने त्यसको के अर्थ ? हाम्रा जनताहरु अर्धशिक्षित छन्, अर्ध दक्ष छन,् हामीहरुनै अर्धदक्ष छौं । त्यसैले पनि विकासको काममा केहि ढिला भएको हो । तर, कृषि र पर्यटनको विकास गर्दै हाम्रा युवाहरुलाई यहि रोक्नुपर्छ भन्ने सोचमा हामी छौं ।
अब कुरा गरौं अन्र्तराष्ट्रिय मूर्तिकला कार्यशालाको । यहाँको वडामा ११ देशका १५ जना मूर्तिकार झिकाएर मुर्तिकला कार्यशालाको आयोजना गरिएको छ । यसले वडाको विकासमा के कस्तो अर्थ र सहयोग पु¥याउला ?
खासमा मूर्तिकला कार्यशाला भन्ने शब्द कला र संस्कृतिसँग जोडिएको छ । यसलाई बुझ्न कला बुभ्mने मन चाहिन्छ । कला सँस्कृतिबाट धेरै कुराको अध्ययन गर्न सकिन्छ । यो एकदमै गहकिलो विषय हो । हामीहरुले कृषि र पर्यटन प्रर्वद्धन गरि सम्वृद्ध गलकोट बनाउने योजनाको साथमा अगाडी बढेका छौं । आन्तरिक सँगै बाह्य पर्यटक भित्राउनका लागि पर्यटक आउने वातावरण तयार गर्नुप¥यो । हुन त गलकोटमा दरबार, कोट, घुम्टे लेक नभएका होइनन् । यति हुँदाहुँदै पनि यो नयाँ विषय जहाँ अबको नयाँ पुस्ताले अध्ययन र अनुसन्धान गर्ने केन्द्रको रुपमा विकास गर्ने अवसर हामीलाई उपलब्ध हुँदैछ । पर्यटक पनि भित्राउन सक्छौं भन्ने विश्वासले यसको योजना र आयोजना गरिएको हो । हाम्रो संविधानसभा सदस्य क्याप्टेन पूर्णबहादुर रानाको संयोजकत्वमा एउटा समिति बनाएर २०७३ सालदेखि लागि परेर यो योजनालाई यहाँ सम्म ल्याई पु¥याएका हौ । यसको लागि डिपिआर गरेर संघ र प्रदेशमा पनि यो कुरा पु¥याएर गरिएको कार्य हो । यो गलकोटको मात्र होइन, प्रदेश र संघका लागि पनि नेपाल पर्यटन वर्ष २०२० लाई सहयोग पुग्ने गरि यस योजनालाई अगाडी बढाईएको छ । भौतिक पूर्वाधार निर्माण गर्ने क्रम अहिले चलिरहेको छ ।
अन्र्तराष्ट्रिय मूर्तिकला कार्यशालाको विस्तृत परियोजना प्रतिवेदन हेर्ने हो भने करोडौै रुपैयाँ खर्च हुने देखिन्छ । यो खर्च हरिचौर या गलकोटले कसरी व्यवस्थापन गर्छ ?
राम्रो कामको लागि तपाई हामी सबै मिलेर लाग्यौ भने सम्भव छ र हुँदोरहेछ । यो ठुलो कुरा होइन । एउटा व्यक्ति आजिवन सदस्यता लिनको लागि सहर्ष रुपमा १० हजार तिर्नुभएको छ । वडा नम्बर ५ मा मात्र ३ सय भन्दा बढी व्यक्तिहरु आजिवन सदस्य बन्नुभएको छ । ३० लाख त यसै पनि भयो । अन्य व्यक्तिहरु पनि हुनुहुन्छ । अहिले करोडको योजना भनेको ठुलो कुरा भएन । तर, यसलाई आर्थिक संकलन भन्दा पनि आर्थिक संकलन पछिको पारदर्शिता र मितव्ययीता अपनाउने र स्वच्छ रुपमा योजना सम्पन्न गर्ने, सहयोगदाताहरुको चित्त बुझाउन सक्ने हो भने ३, ४ करोडको मात्र होइन अरबौको योजना पनि तपाई हामीले सजिलै पुरा गर्न सक्छौं ।
मूर्तिकारहरुले मूर्ति निर्माण गरेपछि तपाईहरुले यहाँ संग्रहालय स्थापना गर्ने भन्नुभएको छ । यसको दीर्घकालिन व्यवस्थापनका बारेमा वडाको सोच, योजना र तयारी केही छ ?
अहिलेको जुन समिति छ, यसले यहाँ सम्म ल्याउनुभयो । आर्थिक संकलन गरेर आजिवन सदस्यहरु हामीले बनाएका छौं । हामीले उहाँहरुबाट नयाँ समिति बनाउने छौं । त्यसपछि त्यो समितिले पूर्ण रुपमा यसको व्यवस्थापनको जिम्मा लिनेछ । कार्ययोजना बनाएर अगाडी बढ्ने छ । त्यसमा स्थानीय सरकारले सहयोग गर्नेछ । म पनि सरकारमा सधै बस्ने होइन । केहि बर्षमा म पनि सामान्य नागरिक सरह बन्छु । म पनि संग्रहालयको सदस्य बन्छु । मेरो पनि यसको संरक्षणको जिम्मेवारी र दायित्व हुनेछ ।