रेश गाउँपालिकाकै नमूना वडाको रुपमा विकास हुनेछ

समाजको अपेक्षित गति, विकास र परिवर्तनको बाधक पुरानो व्यवस्था भएको भन्दै नयाँ संघीय व्यवस्था अनुसार स्थानीय तहको निर्वाचन २०७४ साल बैशाखमा भयो । त्यस यताका दुई बर्ष नागरिकको महत्वकांक्षी अपेक्षाका बीच गुनासोमा बढी बितेको प्रतित हुन्छ । खासमा सबै भन्दा तल्लो तह अर्थात ग्रामिण (वडा) तहका जनप्रतिनिधि के गरिरहेका छन् ? जनताको सन्तुष्टिको मापनमा उल्लेख्य उत्साह किन देखिदैन ? स्वयम् जनप्रतिनिधि आफ्नो भुमिकामा सन्तोषजनक अवस्थामा छन् ? यही बुझ्ने क्रममा आदर्श अनलाईनकर्मी सुवास गौतमले काठेखोला गाउँपालिका वडा नम्बर ७ रेश बागलुङका वडा अध्यक्ष प्रेम लामिछानेसँग कुराकानी गर्नुभएको छः–

तपाई निर्वाचित भएर आए पछिका सम्झन लायक काम केही छ ?
धन्यवाद, यो समय र संवादका लागि । हामी निर्वाचित भएर आएको तीन वर्ष पुग्नै लागेको छ । तीन वर्ष सम्म धेरै आरोह अवरोहका बीच थुप्रै कार्य गरेका छौं । रेश अरु वडाहरुको तुलनामा धेरै ठुलो जनसंख्या भएको वडा हो । शुरुमा कानूनको निकै जटिल समस्याका बीच अधिकार र कर्तव्यको समान पहुँच नहुँदा समस्या भएकै हो । हामीले निर्वाचित भएर आएपछि संविधानले दिएको अधिकार, अवसरलाई जनतासँग पु¥याउने साझा उद्देश्य हो । शुरुमा कार्यालय व्यवस्थापनमै लागियो । साविक रेश गाविसको एकतले भवनलाई मर्मत सम्भार गरी जनतालाई सेवा प्रदान गर्न थालियो । यसअघि रेशका जनतालाई सेवा दिनका लागि बागलुङ जिल्ला सदरमुकाम धाउनुपर्ने बाध्यताको अन्त्य भएको छ । हरेक क्षेत्रको अभिलेखकिरण, कृषिमा अनुदान, सडकको स्तरोन्नति गरी ट्याक्सी आउन सक्ने सडक बनाएका छौं । अब बाह्रै महिना सवारी साधन चल्ने गरी पक्की पुलको काम समेत अघि बढाएका छौ । रेश स्वास्थ्य चौकीमा ल्याव (उपकरण) राखेर फिजियो थेरापी सेवा समेत सञ्चालन गरिरहेका छांैं । थुप्रै काम भएका छन् । जस्तो पर्यटकीय पूर्वाधार निर्माण लगायतका क्षेत्रमा पनि उल्लेख्य काम भएका छन् ।

जनप्रतिनिधिको रुपमा अहिले सम्मको अवधि र कार्यकाल कति समस्या, सकस या आनन्दमा वित्यो ?
शुरुमा निकै समस्या भयो । जनप्रतिनिधि विहिनताको अवस्थामा गर्ने काम र अहिले गर्ने कामको तरिका निकै फरक छ । जनताको अपेक्षा पनि त्यही किसिमको छ । त्यसकारण केही समय कर्मचारीदेखि अरु सबै हिसावले परिमार्जन, परिवर्तन गर्न समय लाग्यो । कर्मचारीको अभाव हामीले सधै झेल्दै आएका छौं । मलाई के लाग्छ भने जनप्रतिनिधि भएर जनताको सेवा गर्न आएका हौं । त्यसै अनुसार काम गरिरहेका छौं । मानिसमा बुझाईको निकै समस्या पनि छ । तर अहिले निकै सहज बनेको छ । म खुशी छु, जनताको घरदैलोमा सेवा पु¥याउन सकेको छु । मेरा जनताका धेरै आकांक्षा छन् तर त्यसलाई क्रमशः सम्बोधन समाधान गर्दै जाने क्रममा छौ । अहिले जनता धेरै खुशी छन् । अवको दुई वर्ष जनताको सेवामै लाग्छु गाउँमै बसेर जनताको घर घरमा सेवा दिँदै हिँड्छु ।

तपाइको वडामा मुख्य कुन कुरालाई प्राथमिकता जोड दिएर अगाडी बढ्नुभएको छ ?
निश्चय पनि तपाईले महत्वपूर्ण प्रश्न गर्नुभयो । हामीले विकासको मुख्य आधार सडकलाई मान्दै आएका छौं । सडक विना अन्य पूर्वाधार तथा विकासमा पछि हुने निष्कर्षका साथ ग्रामिण सडकलाई १२ महिना चल्ने गरी निर्वाचित भएर आउँदा साथ शुरु गरेका थियौं । यद्यपी हिमपाइप बाढीले बगाएर समस्या सृजना भयो । तर, अहिले प्रदेश सरकारको बजेटमा बिहुँ र रेश जोड्ने गरी जिरेदीखोलामा एक्लेखेत–रेश–जिरेदी मोटरेबल पुल निर्माण भइरहेको छ । पाँच करोड २८ लाखको लागतमा निर्माणाधिन पुलको जिम्मा एमएस निलगिरी नेशनल जेभीले लिएको छ । पुल निर्माणसँगै बर्षायामको नियमित सवारी आवागमनमा देखिने समस्या हटेर जानेछ । यस्तै कच्ची नाली सहितको सडक स्तरोन्नति थालिएको छ । पहिलो पटक आरिमपाटामा चार किलोमिटर सडक कच्ची नाली सहितको सडक स्तरोन्नति गरिएको छ ।

वडा कार्यालय आउने मुख्य सडकलाई ६ मिटर चौडा पारिदै लगिएको छ । अर्को क्षेत्रिय सडक लामाचौर, डोटा, लेखानी हुँदै पञ्चकोट सडकको काम अगाडी बढेको छ । शुरुमा गाउँपालिकाको वडा नम्बर १ पाला सम्म उक्त सडक निर्माण हुनेछ । यस्तै प्रदेश सरकारको समपुरक बजेटमा जिरेदीमा ५ सय मिटर सडक कालोपत्रे हुने क्रममा छ । जुन यो आर्थिक बर्षमा नै हुनेछ । यो गाउँपालिकाको सम्भवत पहिलो कालोपत्रे सडक हुनेछ । गाउँपालिकाको बिहुँ जलजला हुँदै वडा कार्यालय सम्मको सडक कालोपत्र गर्नका लागि संघीय सरकारवाट १० करोड बजेट विनियोजन भएको छ । अर्को,पर्यटन प्रर्बद्धन गर्नका लागि चार वटा घरबास स्थापना गरिएको छ । घरवासलाई गण्डकी प्रदेशको उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्रालयबाट प्रदान गरिएको रु.१० लाख रुपैयाँले डोटामा मदन स्मृति पार्क निर्माण गरिएको छ भने प्रत्येक घरवासमा वाईफाईको व्यवस्था गरिएको छ ।

पर्यटनको कुरा गर्नुभयो । तर, रेशमा पर्यटक आउनका लागि के आकर्षण या सम्भावना छ ?
निकै सम्भावना भएर पनि रेश पर्यटनमा पछि परेको छ । तर स्थानीय सरकार आइसकेपछि पहल गर्नु पर्नेनै हुन्छ । रेशमा प्राकृतिक हिसावले आकर्षक ठाउँहरु छन् । भुगोलका हिसावले आकर्षक गाउँहरु छन् । तर, सम्भावनाको पहिचान गरेर प्रचार प्रसारमा जोड दिएको छु । आकस्मिक गर्भवति सुत्केरी तथा दुर्घटनामा परेकाहरुको उद्धार र पर्यटकलाई घरवासमा आउने बाह्य पर्यटकलाई केन्द्रित गरेर वडाका तीन स्थानमा हेली प्याड निर्माण गरिएको छ । घरवास पुग्नका लागि पदमार्ग निर्माण गरिएको छ । यो वर्ष मात्रै मदन भण्डारी पदमार्ग निर्माणका लागि केन्द्रीय सरकारको पर्यटन मन्त्रालयले २५ लाख रुपैयाँ बजेट बिनियोजन गरेको छ । जसवाट झण्डै एक किलोमिटर पदमार्ग निर्माण हुनेछ । म के भन्छु भने पुर्वाधार संरचना वर्तमानलाई हेरेर निर्माण गर्नुहुँदैन । त्यसैले तीन वटा हेली प्याड लगायतका संरचना निर्माण भएका छन् । कुनै दिन रेशमा पर्यटकहरुको बाक्लो उपस्थिति हुने सम्भावना छ । मलाई त्यो आशा छ ।

शिक्षा र स्वास्थ्यको क्षेत्रमा केही काम गर्नुभयो ?
अवश्य शिक्षा र स्वास्थ्यमा केही सकरात्मक प्रयास थालेका छौं । अझै सुधारको आवश्यकता छ भन्ने लागेको छ । विद्यालयमा शिक्षाको गुणस्तर वृद्धि गर्नका लागि विद्यालयको नियमित अनुगमन गर्ने, विद्यार्थीको संख्या वृद्धि गर्न लागिपरेका छौं । सरसफाईका लागि साविकका विभिन्न वडामा फोहोर फाल्ने संरचना तयार गरेका छौं । स्वास्थ्यका लागि रेश स्वास्थ्य चौकीमा ल्याव सेवालाई थप व्यवस्थित र प्रभावकारी बनाउने योजना छ । फिजिओथेरापी सेवा समेत हामीकहाँ छ । जसवाट बजारमा गएर फिजियोथेरापी गर्नेहरुलाई गाउँमै सेवा पुगेको छ ।

विद्युत तथा सिञ्चाईको क्षेत्रमा वडाले गरेका कामहरु के के हुन् ?
हामीले काठको पोल विस्थापित गर्न थालेका छौं । ५ सय काठका पोल फेरेर फलाम बनाउन थालिएको छ । सबै घरमा विद्युतको पहुँच पुगेको नै छ । सिञ्चाईको कुरा गर्दा डोटा, साँघुखोला सिचाइ आयोजना र देउराली धाउखोला सिम्ले सिञ्चाई आयोजनामा सिञ्चाई कार्यालयले २५÷२५ लाखको लागतमा निर्माण शुरु गरेका छन् । जसबाट रेशलाई धान जोनको रुपमा स्थापित गर्ने कार्यक्रमलाई सहयोग पुग्ने छ । यसले स्थानीयको उत्पादन क्षमता र आयआर्जनमा बृद्धि हुनेछ ।

एक वडा एक पहिचानको योजना कहाँ पुग्यो ?
काठेखोला गाउँपालिकाबाट हाम्रोमा खेलकूद पहिचान बनाउने गरी योजना परेका कारण गाउँपालिका स्तरीय खेल मैदान ३१ लाख रुपैयाँको लागतमा निर्माण भइसकेको छ । अब यसलाई व्यवस्थित बनाउनुपर्नेछ । यसैगरी, देउरालीमा २० लाखको लागतमा अर्को खेल मैदान निर्माण गरिएको छ । जसका कारण एक वडा एक पहिचानको काम सम्पन्न भएको छ । मैदानका लागि आवश्यक अन्र्य पूर्वाधार निर्माणमै छौं ।

तपाईको कार्यकाल सकिदाँ सम्म वडा कस्तो हुनेछ ? वडावासीले के अपेक्षा गर्ने ?
मलाई लाग्छ, वडा कार्यालय सम्म कालोपत्रे सडक पुग्नेछ । सबै घरमा एक घर, एक धारा निर्माण हुनेछन् भने ग्रामिण सडक १२ महिना चल्नेछन् । खोलामा पक्की पुल त हुने नै भयो । घरवासमा आन्तरिक तथा वाह्य पर्यटकको चहल पहल बढ्नेछ । रेश गाउँपालिकाकै नमूना वडाको रुपमा विकास हुनेछ । यहाँ कृषकहरुलाई टनेल निर्माणमा अनुदान प्रदान गरिएको छ । श्रमिकहरुलाई संगठित गरेर ज्याला निर्धारण गरिएको छ । समग्रमा रेश विकास, चेतना, जागरण सबै हिसावले धेरै अघि पुग्नेछ । त्यसमा जनप्रतिनिधिको हिसावले खेल्नुपर्ने नेतृत्वदायक अभिभावकीय भुमिका सबै खेल्नेछौ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *