बढ्दो कोरोनाः के छ स्थानीय तहको तयारी ?

कोरोना भाइरस (कोभिड १९) को दोस्रो लहर सुरु भएको छ । यस क्रममा नेपालमा पनि कोरोना संक्रमण बढ्दो क्रममा देखिएको छ । अझै तीन तहका सरकारले समयमै यथेष्ट सचेतताका लागि आवश्यक पहल कदमी नलिने हो भने यसले महामारीकै रुप लिने खतरा देखिन्छ । जुन छिमेक देश भारतले भोगिरहेको छ । यस्तो अवस्थामा बागलुङका स्थानीय तहहरुले के गर्दैछन् ? कोरोना रोकथाम, उपचार र नियन्त्रणको जिल्लाका स्थानीय तहको पछिल्लो तयारी र योजनाका बारेमा आदर्शकर्मी साधना पन्तले सम्बन्धित पालिकाका स्वास्थ्य शाखा प्रमुखहरु सँग कुराकानी गर्नुभएको छ । प्रस्तुत छ कुराकानीको सम्पादित अंशः

रामप्रसाद खनाल
स्वास्थ्य शाखा प्रमुख
बागलुङ नगरपालिका

अहिले कोरोना महामारीको जोखिम बढेसंगै बागलुङ नगरपालिकाले स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर विभिन्न खालका निर्णय गरेको अवस्था छ । नगरका विभिन्न विद्यालयका विद्यार्थी भाइबहिनीमा कोरोना संक्रमण देखिए पछि नगर झन बढि सजग रहेर अगाडि बढेको छ । नगरका सम्पूर्ण विद्यालयहरु बन्द गरिएको छ । कोरोना संक्रमण अहिले जिल्लाको हकमा हेर्दा बागलुङ नगरपालिकामै भएको हुनाले सम्पुण संक्रमितहरुलाई सुरक्षित साथ होम आइसोलेसनमा बस्न आग्रह गरिएको छ । स्वास्थ्यमा समस्या भएका संक्रमितलाई अस्पतालमा लिएर चेकजाँच गरिएको छ र यहाँ पनि सम्भव नभएका संक्रमितलाई बाहिर पठाइएको अवस्था छ ।

यो अवस्थामा हामी मात्र सजग भएर हुँदैन । सम्पूर्ण नगरबासी पनि सजग हुनुपर्ने अवस्था हो । त्यसकारणले बागलुङ नगरपालिकाले विभिन्न सचेतनामूलक गतिविधि गरिएको छ । हामीहरुले धेरै जोखिम भएको ठाउँमा संक्रमितको घरघरमै गएर स्वास्थ्य जाँच समेत गरेका छौ । आजदेखि कोरोना धेरै भयावह अवस्था आउन नदिनका लागि हामीले पूर्व तयारी पनि गरेका छौ । अन्य जिल्लाका मानिसहरुलाई अनावश्यक रुपमा बागलुङ प्रवेशमा रोक लगाइएको छ । विदेशबाट आएका मानिसहरुलाई बागलुङ प्रवेशद्धारमा उनीहरुको सबै कुरा बुझेर वडालाई सम्पर्कमा लिएर जिम्मा दिएको अवस्था छ । हाम्रो रात्माटाको भवनलाई आजैदेखि आइसोलेसन बनाउने तयारी गरिएको छ । संक्रमितहरु दिनानुदिन बढेकाले हामीले अहिलेनै तयारी गरिसकेको अवस्था छ ।

बागलुङ जिल्लाको केस अनुसन्धान तथा खोज प्रचार टोली छ । त्यो मध्य बागलुङ नगरपालिकामा दुई वटा टोली छ र स्वास्थ्य कार्यालयले हिजो मात्र बागलुङ नगरपालिका, जैमिनी नगरपालिका ंर काठेखोला गाउँपालिकालाई लक्षित गरेर अहिले नेपालमा भित्रिएको नयाँ खालको कोरोनाको बारेमा स्वास्थ्यकर्मीलाई तालिम समेत दिइएको छ ।

अहिले सम्म सरकारले क्वारेन्टिनको व्यवस्थाका लागि स्वंयम व्यक्तिले आफ्नो आफ्नो घरमै होम क्वारेन्टिन व्यवस्थापन गर्नुपर्ने कुरा छ भने आइसोलेसनका लागि अस्पतालले नसकेको अवस्थामा हामीहरुले वडालाई नै जिम्मा दिएको अवस्था छ । हामीहरुले विदेशबाट आएका मानिसहरुलाई १० दिन अनिवार्य होम क्वारेन्टिन बस्नुपर्ने भनेका छौ । नगरमा धेरै मानिसहरु जम्मा गरेर कार्यक्रमहरु गर्न रोक लगाएको अवस्था छ । मानिसहरुलाई सचेतनामूलक कार्यक्रम भइरहेको छ । तर, कोरोना महामारी हामीहरुले मात्र भनेर नहुने भएकाले स्वयम मानिसहरु सचेत हुन आवश्यक छ ।

गोविन्द आचार्य
स्वास्थ्य शाखा प्रमुख
जैमिनी नगरपालिका
जैमिनी नगरपालिकामा अहिले सम्म त्यस्तो कोरोना संक्रमितहरु धेरै भएको अवस्था छैन । नगरले कोरोना रोकथामका लागि स्वास्थ्य सजगता अपनाइ रहेको अवस्था छ । नगरपालिकामा धेरै संक्रमित नभएता पनि हाम्रो छिमेकी बागलुङ नगरपालिकामा कोरोनाको जाखिम धेरै भएका कारणले हामीहरु उच्च स्वास्थ्य सुरक्षा अपनाइ अगाडि बढिरहेका छौ ।

अहिले देशभरमा कोरोना महामारी दिन प्रतिदिन बढेको अवस्था रहेकाले हाम्रो नगर पनि तयारी अवस्थामा छौ । २ जना मानिसले आफै कोरोना परीक्षण गरेर कोरोना पोजेटिभ आएको छ । उहाँहरु अहिले होम आइसोलेसनमा हुनुहुन्छ । अब जटिल अवस्था आउने हामीहरुले आँकलन गरेका छौ । अहिले सम्म हामीहरुलाई स्वाब संकल गरि जिल्लामा पठाउन भनिएको छ । हामीहरु सोही अनुसार स्वाब संकलन गरेर जिल्लामा पठाएका छौ । जटिल केसलाई हामीहरुले सिधै जिल्लामा पठाएको अवस्था छ ।

पालिकामा ५ शैयाको आइसोलेसन बेड तयार अवस्थामा छ । संक्रमितमा जटिल समस्या देखा परेमा धौलागिरी अस्पताल पठाउने व्यवस्था मिलाइएको छ । नगरपालिका आफ्ना नगरका नागरिकको स्वास्थ्यलाई लिएर संवेदनशील भएकाले समय समयमा बैंठक बसी अवस्थालाई बिश्लेषण गरि योजना बनाउने काम भइरहेको छ । जैमिनी नगरपालिकामा प्रत्येक वडामा नागरिक सचेतना समूह छ । ती समूहले आ–आफ्नो वडामा सचेतनामूलक कार्याक्रम गरेको अवस्था छ ।

नगरपालिकाले शिक्षालाई सरकारले दिएको निर्देशन अनुसार अगाडि बढ्ने कार्यपालिकाको बैंठकमा निर्णय गरिएको छ । विदेशबाट पालिका प्रवेश गर्ने मानिसहरुको हामीहरुले वडालाई जिम्मा दिएका छौ । सम्पूर्ण वडाले आफ्ना वडामा बाहिरबाट आएका मासिनहरुलाई होम क्वारेन्टिनको व्यवस्था मिलाउका लागि अनुरोध समेत गरिसकेका छौ । वडालाई पूर्व तयारीका साथ बस्नका लागि नगरले भनेको छ र वडाहरु तयारी गरिराखेको अवस्था अहिले छ । आज फेरि हामीहरु नगरलाई थप कोरोनाबाट बचाउनका लागि के कसरी अगाडी बढ्न सकिन्छ भनेर बैंठक बस्ने निणर्य समेत गरेका छौ ।

उदित थापा मगर
स्वास्थ्य शाखा प्रमुख
ताराखोला गाउँपालिका

ताराखोला गाउँपालिकामा कोरोना अस्पताल पहिलेनै तयार भइसकेको अवस्था छ । हामीहरु तयारी अवस्थामा छौ । हामीहरुले कोरोना अस्पतालमा कम भएका कर्मचारीलाई १५ गते भित्र पुरा गर्ने योजना समेत बनाएको अवस्था छ । अस्पतालमा सम्पूर्ण कर्मचारीलाई हामीहरुले तयारी अवस्थामा राखेको अवस्था छ । गाउँपालिकामा कोरोना सम्वन्धी सचेतनामूलक कार्यक्रम भइराखेको अवस्था छ । हामीलाई एन्टिजिन टेस्ट गर्ने किटहरु जिल्लाले उपलब्ध गराएको अवस्था छ । अहिले पालिकामा शंकास्पद कोही बिरामी आउनुभएको अवस्थामा त्यही किटबाट परीक्षण गरेका छौ । जटिल अवस्थाको मानिसहरुलाई जिल्लामा पठाएको अवस्था छ । अहिले ताराखोलामा जम्मा ३ जना कोरोना संक्रमित हुनुहुन्छ । उहाँहरुलाई पनि हामीहरु छिट्टै निको बनाएर घर पठाउने तयारीमा छौ ।

विद्यालयमा अहिले धेरै जोखिम बढेका कारण गाउँपालिकामा १७ गतेदेखि सम्पूर्ण परीक्षाहरु संचालन गर्ने गाउँपालिकाको शिक्षा समितिले निर्णय गरेको अवस्था छ । पालिकामा कोरोना जोखिम अहिले कम छ तर जोखिम बढेको अवस्थामा तत्कालै विद्यालय बन्द गर्नुपरेमा सबै तयार भएको समेत अवस्था छ ।

अहिले हिल स्वास्थ्य चौकीमा र ताराखोला अस्पतालमा क्वारेन्टिन र आइसोलेसनको व्यवस्था मिलाएका छौ । अहिले गम्भीर अवस्थाकालाई मात्र कोरोना अस्पतालको आइसोलेसनमा राख्ने भनिएको छ भने सामान्य संक्रमितहरु होम आइसोलेसनमा बस्न पनि सक्ने भनि सचेतनामूलक कार्यक्रम गरिएको अवस्था छ । विदेशबाट आएका मानिसहरुलाई अनिवार्य १० दिन होम क्वारेन्टिन बस्नुपर्ने भनिएको अवस्था छ । त्यस्तो कुनै कोरोनाको लक्षण देखा परेमा हामीहरुले स्वास्थ चौकी अथवा कोरोना अस्पतालमा जानकारी गराएमा पीसीआर टेस्ट गर्ने र उपचार गर्ने समेत उहाँहरुलाई जानकारी गराएका छौ । प्रत्येक वडाले आफ्नो वडामा आएका मानिसहरु होम क्वारेन्टिन बसे नबसेको बुझ्न समेत जानकारी गराएका छौ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *