नबगोस् सडकमा ढलः ‘बजारको नाली सफा र फराकिलो होस्’

बागलुङ बजारमा हरेक वर्षको बर्खामास जलमग्न हुन्छ । फोहोर ढल नालीबाट बग्दैन, सडकबाटै बग्न थाल्छ । यसले शहरको अव्यवस्थित विकासलाई बारबार देखाइरहेको छ । तर, किन यथेष्ट र अपेक्षाकृत समस्या समाधान हुन सकिरहेको छैन ? बजारको ढल निकास, व्यवस्थापनमा कहाँ कहाँ समस्या छ ? यसका लागि स्वयम् बजारवासी र नगरपालिकाले के–के गर्नु गराउन आवश्यक छ ? आदर्शकर्मी साधना पन्तले केही प्रतिनिधि नागरिकसँग गरेको कुराकानीको सम्पादित अंशः

अर्जुन घिमिरे
वडा सदस्य बानपा २

जब बर्खायाम सुरु हुन्छ । बागलुङ बजार धेरै जसो जलमग्न हुन्छ । यो समस्या अहिलेको मात्र होइन । धेरै वर्षदेखि बागलुङ बजारमा वर्षायामको समयमा सडकमा हिँड्न नसक्ने अवस्था आउँछ । यो समस्याको मुख्य कारण भनेको परापुर्व कालदेखिका बागलुङ बजारका राजकुलालाई नाली बनाइयो । तर,उनीहरुको साइज भने बढाइएन । बागलुङ बजारमा घर, सडक निर्माण गर्दा र नाली निमार्ण गर्दा यथेष्ट ध्यान नदिएका कारणले वर्षायाममा बागलुङ बजारका सड्कमा साना तिना खोलै बग्ने गरेको छ । हामीहरुले आफू बस्ने घर बनाउँदा घर अगाडिको नालीलाई पनि व्यवस्थित रुपमा फराकिलो र पक्की बनाउने हो भने पटक–पटक हामीहरुले बर्खायाममा दुःख पाउनु पर्ने अवस्था हुँदैन । नगरपालिकाले सडक निमार्ण गर्दा नालीलाई पनि राम्रो संग फराकिलो बनाउनु पर्ने हुन्छ । नगरपालिकाले बनाउन लागेको नालीलाई घर धनीले आ–आफ्नो घर अगाडिको ठाउँ दिएर सहयोग गरेमा नगरपालिकाले पनि नाली बनाउन सहज हुने थियो । अहिलेको नालीहरु सबै साँघुरा भएका छन् । नालीको मर्मत भएको छैन । नालीको समय–समयमा सरसफाई हुनुपर्ने भएको छैन । घर बनाउँदा नालीमा बालुवा गिटी परेर बुझिएको हुन्छ । तर, घर धनीले नालीको सरसफाई मर्मत गर्ने संस्कार छैन । यस्तै–यस्तै कारणले गर्दा बर्खायाममा बागलुङ बजार जलमग्न हुने गर्दछ ।

जब सम्म मानिसहरुमा नाली बनाउँदा, आफ्नो घरको पेटी अथवा आँगन पनि सफा, नाली फराकिलो हुन्छ भन्ने आम नागरिकमा साँेच आउदैन र हामी जनप्रतिनिधि र सरोकरवाला निकायले पनि सडक, नाली व्यवस्थित बनाउनु पर्दछ भन्ने कुराको ज्ञान आउँदैन, सधै यही प्रवृत्ति दोहोरिनेछ ।

बागलुङ बजारको पानी पहिले ३,४ वटा माध्यमबाट कालिगण्डकीमा पु¥याउने गरिन्थ्यो । तर, अहिले सबैलाई एकै ठाउँबाट कालिगण्डकीमा लगिएको छ । लहरेपिपल, रातामाटा, मुलपानी, पाखाथरको पानी मध्यपाहाडी लोकमार्गको नालीमा आउने गर्दछ । तर, लोकमार्ग बनाउने क्रममै रहेका कारणले बागलुङ बजारमा सिधै पानी आएको अवस्था छ । यसको लागी म जनप्रतिनिधि भएको हैसियतले पटक पटक नालीको डिजाइन इस्टिमेट परिर्वतन गरेर ठूलो बनाउनु पर्ने कुरामा विभिन्न माध्यमबाट जोड दिएको छु । तर, हामी बोलेको कुरा सुनुवाई भने भएको छैन ।

कुनै पनि विकास निर्माण पूर्वधारको काम गर्दा हामीकहाँ डिजाइन इस्टिमेट २,४ वर्ष पछाडिलाई हेरेर गर्ने चलन नभएकाले अहिले यस्तो अवस्था आएको हो । अहिले बागलुङ बजारमा विभिन्न स्थानहरुमा सडक पिच भएका छन् । तर, त्यहाँका नालीहरुलाई छोइएको पनि छैन । सडक पिच गर्दा कमसेकम त्यहाको नालीलाई मर्मत गर्न त सकिन्छ नी त्यो विषयमा ध्यान गएको छैन् ।

वर्षै पिच्छे ढल व्यवस्थापन भनेर बजेटहरु आएका छन् । खर्च पनि भएका छन् । तर, त्यो बजेट पुरानै संरचनामा खर्च भएको अवस्था छ । बागलुङ बजारमा १ अर्ब बराबरको योजना बागुलङमा ढल व्यवस्थापनमा डिपिआर पनि भएको हो । त्यसको अहिले सम्म कहिकतै आएको मैले मानेको छैन । बजेट बिनियोजन भयो तर त्यसको सदुपयोग नहुँदा यस्ता खालका समस्या भने आई राख्दछन् । अहिले बागलुङ बजारको श्रीनगरटोल, गोल्डेन गेट चोक, धौलागिरी चोक, शिवाधारा चोक, बुद्धबिहार चोक, बसपार्क चोक, पुरानो गोदामघर चोक आदिमा विशेष गरी समस्या आएको देखिन्छ ।

बागलुङ बजारको गोल्डेन गेट चोकलाई फराकीलो बनाउनका लागी ३ पटक सम्म बजेट पार्ने र फिरीज गराउदै अहिले बल्ला काम त्यहा भईराखेको छ । तर, त्यहा सड्क फराकीलो त गराईदै छ नाली भने पुनानै साईजको बनाईएको छ । यसले गर्दा त्यहा पनि पछि नाली भन्दा बढी सड्कबाट पानी बग्ने समस्या आउने हुन्छ । त्यसकारणले अब बनाउने नालीलाई फराकीलो बनाउने र पुराना नालीको मर्मत र सरसफाईमा ध्यान दिनुपर्ने देखिन्छ ।

लालिता थापा
व्यवसायी

निरन्तर वर्षाका कारण बागलुङ बजार जलमग्न हुने भइरहेको छ । शहर बजार पनि शहर बजार जस्तो देखिन्न । विकास गर्ने भन्दै बागलुङ बजारको चोक–चोकलाई बागलुङ नगरपालिकाले सडक पिच गर्ने योजना ल्यायो तर ढलको समस्या अझै उस्तै देखियो । सडक पिच गर्दा नाली व्यवस्थापनमा ध्यान नदिदाँ अहिले बागलुङ बजारका सडकहरु खहरे खोला जस्ता भएका छन् । बर्खाको समयमा बागलुङ बजारमा राम्रो ढल व्यवस्थापन नगर्दाको कारण डुबानमा पर्दछ । बागलुङ बजार प्रवेश गर्ने ठाउँ शिवधारा चोकबाट बजारमा पानी पसेर सिंगो बजारका सड्कहरु डुबेका छन् । मध्यपहाडी राजमार्गको नाली व्यवस्थापन नभएका कारणले रातमाटाबाट खसेको पानी सिधै बागलुङ बजार आएको छ ।

यसको व्यवस्थापन कसले गर्ने ? बागलुङ नगरपालिकाले रात्माटाबाट बागलुङ बजार आउने नाली व्यवस्थापन गर्नुपर्ने देखिन्छ । बागलुङ बजारका सडक निर्माण गर्दा नालीको पनि निमार्ण गर्न जरुरी छ । समय सयमा नालीको फोहोर व्यवस्थापन गर्न जरुरी छ । बजार एरियाका सवै नालीहरु ढुङगा माटाले, फोहोरले बुझिएको अवस्था छ । बर्खा लाग्नु भन्दा पहिले नालीको फोहोर सररफाई गर्ने योजना नगरले गर्नुपर्ने देखिन्छ । सधै सडक व्यवस्थापन गर्न खोजियो तर नालीको आकार भने बढाउनुको साटो घटेको देखिन्छ । नाली साँघुरिदै जाँदा पानी सवै सडकबाट जाने देखिन्छ । त्यसकारण नालीलाई पुनः बनाउने कुरामा नगरपालिकाको ध्यान जानुपर्ने हुन्छ ।

अहिले बागलुङ बजारका अधिकांश पिच सडकहरु रातो माटो र गग्रेटाले पुरिएका छन् । विकास गर्दा आजलाई मात्र होइन भोलीलाई पनि सोचेर योजना बनाउनु पर्ने हुन्छ । यही अनुसार पानी परेमा गरेको सडक पिच पनि उक्किने सम्भावना देखिन्छ । पिच सडकहरुको बिचबाट ढल बगेको छ । बजारका सडकहरु बिग्रिने अवस्थामा पुगेका छन । त्यसकारणले सडक निमार्ण गर्दा नाली व्यवस्थापनलाई प्राथामिकतामा राखेर सडक निर्माण गर्नुपर्दछ ।

शेखर खड्का
विद्यार्थी नेता

निरन्तर वर्षाका कारण बागलुङ बजार भित्र बाढी पसेको छ । रातमाटा बाट झरेको पानीले अहिले बागलुङ बजार डुबाएको छ । समयमा मध्यपाहाडी लोकमार्गको काम नहुने, नाली व्यवस्थापन नभएकै कारणले बर्खायाममा निरन्तर वर्षा हुने र भेल बाढी बागलुङ बजार छिरेको हो । बागलुङ बजारबाट लोकमार्ग छेउमा ग्याबिन अहिले चिनिँदै थियो । त्यो ग्याबिन निरन्तरको वर्षाका कारण भत्किएर भेलको रुप लिँदै बागलुङ बजार छिरेको हो । यसको समयमै व्यवस्थापन नभएमा यसले ठूलो जनधनको पनि क्षति हुन सक्ने देखिन्छ ।

बागलुङ बजारमा नालीबाट पानी नगएर सड्कमा पानी बग्न थालेको धेरै पहिलेबाट हो । यो बागलुङबासीका लागि नौलो कुरा रहेन । सम्वन्धित निकायलाई नगरबासीले पटक पटक समस्याबारे राख्दा पनि समाधान हुन सकेको छैन । बर्खायाम आउने समयमा ढल सफा नगर्नुको कारण अहिले पानी सडकबाट बगेको हो । समय समयमा नगरपालिकाले नाली सफा गर्नुपर्ने हो तर यसमा ध्यान पुगेको देखिन्न ।

अहिलेको समयमा पानी धेरै आएको कारणले देशको अधिकांश भूभाग डुबानमा परेको छ । यो समयमा बागलुङ बजार पनि अछुतो रहेन । यसलाई केही हद सम्म भने नाली व्यवस्थापन गरेर कम गराउन सकिन्छ । सडक निर्माण गर्दा नालीको पनि पुनःनिमार्ण हुन जरुरी देखिन्छ । नाली साँघुरा भएका छन् । धेरै ठाउँमा नाली भत्किएका छन् । यसले गर्दा वर्षायाममा ढल सडकबाट बग्न थाल्दछ । त्यसकारणले बर्खा लाग्नु भन्दा पहिलेनै योजना बनाएर नालीको सरसफाई मर्मत नगरपालिकाले गर्नुपर्ने देखिन्छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *