कोरोना महामारीले गर्दा बागलुङमा अहिले लडकाउन छ । बागलुमा यसअघि पनि पटक–पटक लकडाउन हुँदै आएको थियो । छिमेकी जिल्ला म्याग्दी र पर्वतमा अहिले लुजडाउन छ । बागलुङमा दैनिक ५० भन्दा बढी कोरोना संक्रमितको संख्या थपिन्छ । लकडाउनका बावजुद पनि कोरोना रोकथाम र नियन्त्रण नहुनुको मुख्य कारण के हो ? कोरोना नियन्त्रणमा सरकार, सरोकारवाला निकाय र नागरिकको भूमिका कस्तो छ ? अबको बिकल्प के हुन सक्छ ? आदर्शकर्मी साधना पन्तले केही प्रतिनिधि पात्रसँग कुराकानी गर्नुभएको छ । प्रस्तुत छ, कुराकानीको सम्पादित अशंः
शकुन्तला शर्मा
पूर्व अध्यक्ष, अन्तरपार्टी महिला सञ्जाल
बागलुङमा लामो समयदेखि लकडाउन भयो । तर पनि कोरोना किन घटेन भन्ने विषय सोचनिय छ । अहिले सम्म लकडाउनले कोरोना नियन्त्रण हुन्छ भनेर निरन्तर लकडाउन गरिएको छ । यद्यपि अझै पनि कोरोना नियन्त्रण हुन सकेको छैन । कोरोनाको एक मात्र प्रभावकारी विकल्प लकडाउन नै देखिन्छ । मानिसहरुको भिडभाडले गर्दा कोरोना फैलिएको हो भनेर स्थानीय सरकार, प्रहरी प्रशासनले पटक पटक लकडाउन गरिएको छ । दैनिकजसो ५० भन्दा बढी कोरोना संक्रमित पुष्टि भइरहेको छ । यस्तो किन भइरहेको छ ? यसमा बागलुङको स्थानीय सरकार, प्रशासन र सरोकारवाला निकायले गम्भीरतापूर्वक चासो लिएको देखिएको छैन । लकडाउन भएको छ, जनतालाई घर भित्रै बस्नुहोस् भनिएको छ । घर भित्र बसेर मात्र कोरोना नियन्त्रण हुने हो भने त बागलुङमा लकडाउन पनि धेरै पटक गरियो । खै त कोरोन नियन्त्रण भएको ? स्थानीय प्रशासन र सरकारले आफ्नो खुसीले लकडाउन थप गरिरहेको पाइन्छ । बागलुङका व्यवसायीहरु लकडाउनकै कारण मारमा परेका छन् । स्थानीय सरकारले कमसेकम व्यवसायीहरु संग सल्लाह सुझाब लिने र लकडाउन गर्नै परे गर्ने, होइन भने विकल्प अर्को खोज्नुपर्छ । तर, स्थानीय सरकारले कोरोना नियन्त्रणको एक मात्र विकल्प लकडाउन मात्र देखेको छ ।
बजारमा कोरोना संक्रमितहरु खुलेआम बजार डुलेको भनेर सुनिन्छ । मानिसहरुले कोरोना लाग्यो भनेर लुकाउने, आफै औषधी किनेर खाएको पनि पाइन्छ । कोरोना लाग्नु कुनै पाप होइन, यसलाई लुकाउनु पर्दैन भनेर अझै मानिसहरुले नबुझेको र बुझ पचाएको दुवै अवस्था देखिन्छ । यसका कारणले कोरोना दिन प्रतिदिन बढेको छ ।
स्थानीय सरकारले एक घर, एक खोप ल्याउन अहिले अति आवश्यक छ । बागलुङमा कोरोना लगाउने ठाउँमै भिडभाड भएको छ । यसको व्यवस्थापन कसले गर्ने ? कोरोनाको खोप लगाएका मानिसहरु पनि संक्रमित हुनुभएको छ । त्यसकारण अहिले सम्म मानिसहरुमा पनि चेतनाको कमी हुनु यो आफैमा लापरबाही र बिडम्बना हो ।
बागलुङको छिमेकी जिल्ला पर्वत, म्याग्दीमा बागलुङमा जस्तो कोरोना छैन । बागलुङमा जस्तो पटक पटक लकडाउन गरेको पनि पाइएको छैन । अहिले सम्म धेरै लकडाउन बागलुङमै भएको छ । सवै आम नागरिक, सरोकारवाला निकाय, स्थानीय सरकार, प्रहरी प्रशासन सबै मिलि अब बागलुङमा लकडाउनको विकल्प खोज्न अति नै आवश्यक देखिन्छ । बागलुङमा नामको मात्र लकडाउन छ अहिले । कोरोनाको भ्याक्सिन लगाउने ठाउँमा भिड छ । बिहान बेलुका तरकारी पसल, खाद्यान्न पसलहरुमा भिडभाड हुन्छ । यसको जिम्मा कसले लिने । त्यसकारणले अब बागलुङमा सवै तहबाट कोरोना नियन्त्रणको लागी कदम उठाउन आवश्यक छ ।
नेपालमा पहिलो पटक कोरोना प्रवेश गर्दा साथ बागलुङमा पनि पहिलो चरणमै कोरोना संक्रमित भेटिएको थियो । कोरोना महामारीले सवैभन्दा बढी प्रभावित भनेको दैनिक ज्याला मजदुरी गरेर घर चलाउने मजदुरहरुलाई भएको पाईन्छ । सुरुको समयमा स्थानीय सरकारले केही मात्रमा राहात दिएको पाइएको थियो तर अहिले सम्म ती मज्दुरहरुको अवस्था कस्तो छ भनेर स्थानीय सरकारले सोचेको पनि सुन्नमा पाईदैन । कोरोना महामारीले सवै तहका मानिसलाई समस्यामा पारेको छ । स्थानीय सरकारले आफ्नो वार्षिक कार्यक्रममा कोरोना महामारीबाट थलिएका मजदुर किसान, व्यवसायीलाई कस्तो खालको कार्यक्रम ल्यायो त ? कोरोना महामारी नियन्त्रणका लागि सदैव लकडाउन मात्र विकल्प होइन र हुन सक्दैन भन्ने कुरा सवैले बुझेर विकल्प निकाल्न अति नै आवश्यक देखिन्छ ।
राम शर्मा
पूर्व अध्यक्ष, बागलुङ बार
कोरोना महामारीले गर्दा अहिले बागलुङमा लकडाउन छ । कहिले सम्म लकडाउ गर्ने त बागलुङमा भन्ने अहिलेको प्रमुख बहसको विषय बनेको छ । बागलुङबासी धेरै समयदेखि लकडाउनमा बसेका छन् । अझै लकडाउनमै राख्ने कि अन्य विकल्प खोज्ने भनेर अब सरकार र सरोकारवाला निकायले सोच्नु पर्ने भएको छ ।
लकडाउन मात्र गरेर भएन । लकडाउनको प्रभावकारी अनुगमन बागलुङमा भएको पाईदैन । बागलुङमा सरोकारवाला निकायको कत्ति पनि ध्यान कोरोना नियन्त्रणमा भएको पाइदैन । कोरोना महामारी बढ्यो बागलुङमा भनेर बन्द गर्ने तर कोरोना खोप लगाउने ठाउँमा भिडभाड गर्ने । यस्तो खालको लापरबाहीले बागलुङबासीले सधै लकडाउनमै आफ्नो जिवन बिताउनु पर्ने हुन्छ । लकडाउन गरिएको छ । तर, विहान बेलुका खोलिने पसलहरुमा भिडभाड छ । अब त्यसको अनुगमन कस्ले गर्ने ? विभिन्न बहानामा अनावश्यक बजार हिँड्डुल गर्ने मानिसहरुलाई नियन्त्रण गर्नुपर्ने हुन्छ । रातीको समयमा बागलुङ भित्रिने सवारी साधनमा रोक लगाउन आवश्यक छ । प्रशासनको नियम विपरित भएका गतिबिधि रोक्नका लागि जरिवाना र कारबाही अतिनै आवश्यक छ ।
बागलुङ जिल्ला लकडाउन भनिएता पनि बागलुङ बजारमा मात्र प्रहरी प्रशासन केन्द्रित भएको पाइएको छ । बागलुङका गाउँगाउँमा कोरोना महामारी भुसको आगो जस्तै फैलिएको छ । गाउँमा कोरोना नियन्त्रण गर्नका लागि प्रहरी प्रशासन र सरोकारवाला निकायको केही चासो र गम्भीरता छैन । गाउँमा आवत जावत भइराखेको पाइन्छ । मानिसहरुले कोरोना लागे पनि कसैलाई नभन्ने, अन्य मानिसहरुको सम्पर्कमा आउने गरेको पनि पाइन्छ । त्यसकारण कोरोना नियन्त्रण नभएको हो । बागलुङमा धेरै लकडाउन भयो । लकडाउनले मात्र कोरोना नियन्त्रण हुने हो भने पहिलो पटकमै कोरोना नियन्त्रण हुन पर्ने हो तर भएन । बागलुङमा धेरै पटक लकडाउन भयो र यही अनुसार अगाडि बढ्ने हो भने कहिल्यै पनि बागलुङमा कोरोना नियन्त्रण हुदैन । बागलुङको छिमेकी जिल्ला म्याग्दी र पर्वतमा निकै कम मात्रमा लकडाउन भएको पाइन्छ । छिमेकी जिल्लामा कोरोना संक्रमितको दर पनि कम छ । त्यसकारण बागलुङले लकडाउनको अन्य विकल्प खोज्न अति नै आवश्यक छ ।
काजी गाउँले श्रेष्ठ
संयोजक, नागरिक समाज
बागलुङमा कोरोना नियन्त्रण नहुनु प्रमुख कारण यहाँका नागरिकहरुको बानीले गर्दा हो । आफु स्वंयम् सुरक्षित साथ बस्ने हो भने अरुलाई दोष दिनु पर्ने थिएन । तर, नागरिकलाई मात्र दोष दिएर यहाँका स्थानीय सरकार, प्रहरी प्रशासन उम्किन पाउदैन । बागलुङको सरोकारवाला निकायले, स्थानीय सरकारले, प्रहरी प्रशासनले जे सिकायो, यहाँका जनताले सोही अनुरुप अगाडि बढेका हुन् । कोरोना महामारी नियन्त्रण नहुनुको दोष प्रमुख रुपमा जनताको देखिएता पनि कोरोना नियन्त्रण नहुनुमा ठूलो हात यहाँका सरोकारवाला निकाय, प्रहरी र प्रशासनको रहेको मैले महशुस गरेको छु ।
नेपालमा कोरोना महामारी आएको पनि लामो समय भइसक्यो । तर, अहिले सम्म नेपाली नागरिकहरुमा चेतनाको कमी भयो भनेर भन्नु त लाज मान्नु हो । आम नागरिकहरु पनि आफ्नो सुरक्षाको लागी स्वयंम्ले सजगता अपनाउनु पर्ने देखिन्छ । कोरोना महामारीले देशमा उथल पुथल ल्याएको समयमा बागलुङ पनि अछुतो त रहन सक्दैन । तर, बागलुङमा अन्य जिल्ला भन्दा कोरोनाले बढी नै प्रभावित जिल्ला भएको हामीले पनि महशुस गरेका छौ । त्यसकारणले बागलुङमा रहेका जति पनि बौद्धिक मानिसहरु, स्थानीय सरकार, प्रहरी र प्रशासनले यस विषयमा छलफल चलाएर बागलुङमा कोरोना नियन्त्रणको विकल्प खोज्नु जरुरी छ । कोरोना महामारीलाई नियन्त्रण गर्नका लागि एक मात्र उपाय लकडाउन बनाउनु नहुने हो । बागलुङमा कारोना नियन्त्रणको लागि विकल्प नखोजी सधै लकडाउन मात्र गरेको आम जनताको गुनासो बढेको छ । यसमा सबैले सोच्नुपर्छ ।