पछिल्लो समय सहकारी संस्थाहरुलाई नाफा केन्द्रित भएको, सदस्यप्रति उत्तरदायी नभएको भन्ने आरोप लाग्न थालेको छ । सहकारीले सहकारीका सिद्धान्त विपरित काम गरेको, समुदाय प्रतिको उत्तरदायित्व निर्वाह नगरेको, सहकारीको ऐन नियम र निर्देशनको पालना नगरेको आरोप लागि रहेको समयमा कास्कीको पारीजात बचत तथा ऋण सहकारी संस्थाले आफुलाई कसरी सदस्यप्रति केन्द्रित गरेर काम गरि रहेको छ ? भन्ने विषयमा आदर्शकर्मी साधना पन्तले सहकारीका सचिव दिलिप न्यौपानेसँग गरेको सहकारी संवादको सम्पादित अंश ।
तपाईको सहकारी संस्था स्थापना कसरी गर्नु भयो, यसको प्रमुख उद्देश्य के थियो ?
हाम्रो सहकारी स्थापना भएको १० वर्ष भयो । १० वर्षको दौरानमा हामीले विभिन्न खालका रणनीतिक योजनाहरु बनाएर अहिले यहाँँ सम्म आइपुगेका छौ । सहकारी ऐनमा टेकेर सहकारीका उद्देश्यहरु प्राप्तिका लागि अगाडी बढेका छौ । हाम्रो सहकारीमा हाल ३ करोड २५ लाख शेयर पुजी, ३२ करोड बचत र २५ करोड कर्जा लगानी गरेका छौ । हाम्रोमा नियमित रुपमा १३ सय र मासिक रुपमा १६ सय जनाले बचत गर्नुहुन्छ । हामीले सानो पूँजीबाट आज यो अवस्थामा आएका छौ । हामीले हाम्रा शेयर सदस्य बाहेक अन्य मानिसहरुसंग कारोबार गरेका छैनौ । नियमित रुपमा आफ्ना सदस्यलाई सेवा दिनका लागि हामीहरु लागि परेका छौ । उहाँहरुलाई आर्थिक मात्र नभएर अन्य समस्या परेको समयमा पनि हाम्रो सहकारीले सहयोग गर्दै आएको छ । हाम्रो सहकारीको उदेश्य नै आफ्ना सदस्यलाई आर्थिक रुपमा सवल बनाउने हो ।
यहाँहरुले गर्नु भएको कामले संस्थाले लिएको लक्ष्य हासिल गर्न कत्तिको सहयोग पुगेको छ ?
लक्ष्य प्रप्तीका लागि निन्तर संघर्ष गर्नु पर्दछ । केही पुरा भए पश्चात समय अनुसार अरु लक्ष्यहरु थपिदै जाने भएकाले हामी निरन्तर लागि रहेका छौ । हामीले शेयर सदस्यसंग सानो भन्दा सानो पूँजिलाई संकलन गरेर आवश्यक परेका शेयर सदस्यलाइ नै लगनी गरेका छौ । शेयर सदस्यको व्यापार, व्यवसाय र उत्पादन गर्न चाहने सदस्यलाई बजारको भन्दा सस्तो व्याजदरमा लगानी गरेका छौ । विशेष गरि मझौला खालका व्यापार गर्ने व्यापारीलाई हाम्रो सहकारीबाट निकै फाइदा भएको छ । हामीले समय समयमा विभिन्न खालका तालिमहरु संचालन गरेर आफ्ना शेयर सदस्यलाई उत्पादन संग जोडिन प्रेरित गरेका छौ, त्यसकारणले हाम्रो कामले सहकारीको उद्देश्य अनुसार र सहकारीको लक्ष्य प्राप्तिका लागि सहयोग पुगेको हामीले महशुस गरेका छौ ।
संस्थाको पछिल्लो अवस्था कस्तो छ, संस्थाको लक्ष्य प्राप्तिका लागि आगामी योजनाहरु के कस्ता छन् ?
हामीले धेरै ठूला व्यापारी, धनाढ्य भन्दा साना साना व्यवसाय गर्ने व्यापारीलाई मध्यनजर गरेर सेवा दिएका छौ । संस्थाको पछिल्लो अवस्था धेरै राम्रो छ । हामीले महिना महिनाको योजनाहरु बनाएर अगाडि बढेका छौ । पछिल्लो समय वित्तीय संस्थामा तरलताको समस्या देखा परेको छ । तर, हाम्रो सहकारीमा अहिलेसम्म तरलताको समस्या आएको छैन् । हामीले हाम्रा सदस्यलाई चाहिएको समयमा बचत फिर्ता र ऋण उपलब्ध गराएका छौ । हामीले संस्थाको रणनीतिक योजना बनाएका छौ । योजना अनुरुप काम पनि भइरहेको छ । बजारको अवस्था हेर्दा तरलता समस्या आउन सक्दछ यो समस्या हाम्रो सहकारीको मात्र नभएर सम्पुर्ण वित्तीय संस्थाहरुको भएका कारणले सरकारको तर्फबाट, राष्ट्रबंैकको तर्फबाट, अर्थमन्त्रालयबाट र अन्य सम्बन्धित निकायबाट समस्याको समाधानको विषयमा सोच्नु पर्ने हुन्छ तर हामीहरु तयारी अवस्थामा छौ । हामी संचालकहरुले पूर्व अनुमान लगाएर अव बजारमा कस्तो अवस्था आउने छ भने विश्लेषण गरी योजना निर्माण गरी अगाडि बढेका छौ । आगामी दिनमा तरलताको अभाव हुन नदिनका लागि ऋण र व्याज असुलिमा ध्यान दिने, बचत गर्नका लागि सदस्यलाई विभिन्न खालका बचत खाताहरु बनाएर व्याजदरमा फेरबदल गर्ने र सदस्यलाई बचत गर्ने बानीको बिकासका लागि विभिन्न खालका तालिम गोष्ठीको तयारी गरेका छौ ।
सहकारीको मुख्य सेवा सदस्यलाई हुनु पर्छ, संस्थाको कामबाट सदस्यहरु सन्तुष्ट छन् ?
हामी मान्दछौ सहकारीको मुख्य सेवा सदस्यलाई हुनुपर्दछ । हामीले त्यही अनुरुप सहकारीको ऐनको मर्म अनुसार सदस्यलाई सेवा दिएका छौ । हाम्रा सदस्यहरु सन्तुष्ट भएको हामीले महशुस गरेका छौ । हाम्रो सहकारीको उद्देश्य अनुरुप काम गरेका छौ । सदस्यको पैसा बचत गरिदिने र उहाँहरुलाई चाहिएको समयमा कर्जा सुलभ तरिकाले दिने गरेका छौ । हाम्रो संस्थामा खराब कर्जा छैन् । सदस्यलाई आर्थिक मात्र नभएर विभिन्न कार्यक्रमहरु लिएर अन्य तवरबाट पनि सेवा दिइरहेका छौ ।
सदस्यहरुलाई व्यवसाय गर्दा समस्या आएको छ भने विभिन्न खालका सुझाव सल्लाह दिने गरेका छौ । अस्पतालहरुसंग समन्वय गरेर शेयर सदस्यको नियमित स्वास्थ्य परिक्षण गराउने व्यवस्था मिलाएका छौ । हाम्रा शेयर सदस्यले आफ्नो स्वास्थ्य अवस्था बुझ्नका लागि वर्षको एक पटक पुरा स्वास्थ्य जाँच लागि सहकारीलेनै अस्पतालसंग समन्वय गरेको छ । हामीले सधै सदस्यलाई सेवा दिने उद्देश्य राखेकाले सदस्यहरु हामीले दिएको सेवामा सन्तुष्ट भएको हामीलाई लागेको छ ।
सदस्य केन्द्रीत व्यवसायका रुपमा सहकारीलाई लिइन्छ, के साच्चिकै सहकारीहरुले सदस्यको हितमा काम गरेका छन् ?
सहकारीका प्रकृति फरक फरक छन् । नाफाको लागि मात्र चलाएको, व्यापारीक परियोजनाका लागि मात्र संचालन गरेका सहकारीहरु पनि हुन सक्छन् । देखाउनलाई सहकारी भन्ने तर काम अन्य प्रकृतिका गरेका पनि छन् । तर, सवै त्यस्ता सहकारी छैन्न । धेरै सहकारीले सहकारी मर्म अनुसार रहेर आफ्ना शेयर सदस्यलाई सेवा दिएका छन । हाम्रो सहकारी सदस्यको हितमा काम गर्ने सहकारी हो । यो भनिरहदा आफ्नो सहकारीलाई कसले नराम्रो भन्ला र भन्न पनि हुन्छ । तर, सहकारीको काम र योजना, रणनीतिक योजना हेरेर सहकारी सदस्यमुखी छ की नाफामुखी छ भनेर बुझ्न सकिन्छ ।
समुदायप्रति चासो भन्ने सिद्धान्तलाई सहकारीले कत्तिको कार्यान्वयन गरेका छन् ?
सहकारीको सामाजिक उत्तरदायित्व हुन्छ । सहकारीको नियममा चलेका सहकारीले समुदायप्रति चासो सिद्धान्तलाई मात्र नभएर सहकारीका अन्य ६ वटा सिद्धान्तलाई पनि कार्यान्वयन गरेका हुन्छन् । आफ्नो सहकारीको उदेश्य अनुसार सवै सहकारीले काम भने गर्नै पर्ने हुन्छ र हाम्रो सहकारीले पनि सहकारीका सवै सिद्धान्तलाई कार्यान्वयन गरेर अगाडी बढेको छ । सहकारीले स्वास्थ्यमा समस्या आएका मानिसहरुलाई स्वास्थ्य उपचारका लागि आर्थिक सहयोग, भुकम्प पीडित, बाढी पीडित, शिक्षाबाट बञ्चित बालबालिकालाई सहयोग कार्यक्रमहरु हामीले वार्षिक रुपमा गरिरहेका छौ ।
सहकारीहरु सेवा सहितको नाफाभन्दापनि बढी नाफामा केन्द्रीत भए भन्ने आरोप छ, यसमा यहाँको के भनाई छ ?
मानिसहरुले आर्थिक वर्षको अन्तिम दिन सहकारीले कति प्रतिशत मुनाफा बाड्ने भयो भनेर चासो राख्छन् । कतिपय सहकारीकर्मीहरुले धेरै प्रतिशत मुनाफा बाडेका छौ भन्दै हिडेको पनि देखिन्छ । सहकारी भनेको सेवा सहितको नाफा दिने संस्थाका रुपमा रहनु पर्छ । हाम्रो सहकारी पनि आफ्ना सदस्यहरुलाई सेवा सहितको नाफा दिने उदेश्यका साथ काम गरिरहेका छौ ।
सहकारी ऐन निमय र निर्देशनको पालनामा सहकारीहरु चुकेका छन् भनिन्छ, के साच्चै त्यस्तो अवस्था छ त ?
ऐन नियम पालना गरेर संस्था सञ्चालन गर्नु पर्ने सहकारीकर्मीको जिम्मेवारी हो । धेरै सहकारीले नियम अनुसार नै काम गरेका छन् कतिपय संस्थाहरुले पालना नगरेका पनि देखिन्छन् । कहि कतै पालना भएका छैनन भने नियमनकारी निकायले हेर्नु पर्छ ।
समृद्ध समाज निर्माणमा सहकारीको थप भूमिका कसरी बढाउन सकिन्छ ?
हाम्रो जस्तो समाजमा समृद्धि ल्याउन, चेतनाको बिकास गर्न, सामुहिक भावनाको बिकास गर्न सहकारीको ठूलो भूमिका हुन्छ । संविधानमै समाजवाद उन्मुख अर्थतन्त्रका लागि सहकारी सहितको ३ खम्बे अर्थनीति उल्लेख छ । सहकारीका आफ्नै उदेश्य हुन्छन् । आफ्नो उदेश्य अनुसार आफ्ना सदस्यलाई सेवा दिने सदस्यलाई व्यापार व्यवसायमा जोडन्, आर्थिक हिसाबले सबल बनाउने, चेतनाको विकासका लागि विभिन्न खालका कार्यक्रमहरु ल्याउने, महिला, बालबालिका, युवा, वृद्ध लक्षित कार्यक्रमहरु ल्याउनु पर्छ । आफ्ना शेयर सदस्यहरुलाई व्यावसायिक बनाउदै कर तिर्न सक्षम बनाउने काम सहकारीले गरेका छन् ।
सहकारीको योगदानबाट, सहकारीको अभियानबाट समृद्धि ल्याउन सहज हुन्छ । छरिएर रहेको पूँजिलाई एकत्रित गर्ने र लगानी गर्ने काम सहकारीले गर्दछ । व्यापार, व्यवसाय, रोजगारीमा मानिसलाई आवद्ध गर्न सहकारीले महत्वपुर्ण भुमिका निर्वह गरेको हुन्छ । यसले गर्दा समाजको समृद्धि र व्यक्तीको आर्थिक उन्नतीमा सहकारीको महत्वपुर्ण भुमिका हुन्छ ।