महिलालाई तुच्छयाउने, होच्याउनेलाई किन भोट हाल्ने ? : ढोरपाटन नगरका उपप्रमुखका उम्मेदवार पुन

ढोरपाटन नगरपालिकामा राष्ट्रिय जनमोर्चा विद्रोही समुह र नेकपा एमालेबीच चुनावी तालमेल भएको छ । राजमो विद्रोही समुहबाट उपप्रमुखमा उमेद्वार बन्नुभएकी ताराकुमारी पुन यस अघि २०७४ सालको स्थानीय निर्वाचनमा वडा नम्बर ४ बाट महिला सदस्यमा निवार्चित हुनुभएको थियो । पुनलाई जिल्ला समन्वय समिति बागलुङको सदस्य हुने मौका समेत मिल्यो । अहिले संयुक्त बामगठबन्धन भन्दै नगरको उपप्रमुखमा उम्मेदवार बनेपछि उहाँसँग आफ्नो प्रतिबद्धता, चुनावी तालमेल र विद्रोहका विषयमा गरिएको संक्षिप्त कुराकानी

स्वागत छ, यहाँलाई यो सम्वादमा ।
यहाँहरुलाई धन्यवाद ।

तपाई आफूलाई स्थानीय तहको निर्वाचन २०७९ मा ढोरपाटन नगरको उपप्रमुखमा उम्मेवार बन्छु जस्तो लाग्याथ्यो ?
मेरो व्यक्तिगत तयारी केही थिएन । कहिलेकाहीं अपर्झट निर्णय गर्नुपर्ने अवस्था आउँदो रहेछ । हाम्रो टिमले उठ्नुपर्छ भन्यो । मैले अस्विकार गरिन ।

तपाइँत राष्ट्रिय जनमोर्चामा हुनुहुन्थ्यो । पार्टिमा विद्रोह गरेर एमालेसँग जोडिनु पर्ने बाध्यता कि अवसर ?
म पार्टिमा लागेर काम गरेको लामो समय भयो । पार्टिका नेताहरुले जे–जे भन्नुभयो त्यो मान्दै यहाँ सम्म आइपुगे । पार्टीमा इमान्दार, कर्मठ, जुझारु भएरै काम गरे । पार्टिभित्रको नेतृत्वमा गडबड रहेछ । त्यो पनि पछि थाहा भयो । हामीलाई गोप्य राखिएको पनि रहेछ । पछि विभिन्न समयमा भित्रका कुराहरु बाहिर आउन थाले, हुँदा हुँदा छताछुल्ल भए । आफ्नै साथीमाथि आक्रमण गरियो । यस विषयमा हामीलाई पार्टिको संग्लग्नता छैन र थिएन भनेर पनि सम्झाउन खोजियो । घटनाक्रमले त्यो सत्य रहेनछ भनेर बतायो । म जिल्ला समन्वयमा थिए । त्यहाँ नेतृत्व गर्नुभएका साथीहरुले समेत यो पार्टिमा केही नेतृत्व पंक्तिको ठूलो भूल हो भन्नुहुन्थ्यो । पार्टिका साथी साथी बिच मुद्धामामिला, मार पिट आग्रह पूर्वाग्रहपूर्ण व्यवहारहरु भए । यहाँबाट म सँगै वडा अध्यक्ष हुनुभएका तिलक पुनलाई काँग्रेस प्रवेश गरेको भनेर केन्द्रका नेताबाट विज्ञप्ती जारि गरियो । केन्द्रिय समितिको बैठक बसेर पार्टि छाडेको भन्दै निर्वाचन कार्यालयमा पद खानेसम्मका व्यवहारहरु भए । त्यसपछि यहाँ गडबड छ भन्ने स्पष्ट भएपछि हामी पार्टिको गतिविधिबाट अगल हुनुपर्ने अवस्था आयो । अहिले आफ्नै पार्टिमा विद्रोह गरेर जाने अवस्था त्यति राम्रो हुने थिएन तर पार्टिका नेताहरुको व्यवहार हामीप्रति पूर्वाग्राही भयो । नगरका धेरै कार्यकर्ताहरु असन्तुष्ट बन्नुभयो । त्यसको कारण यो अवस्था सिर्जना भयो । एमालेसँग जोडिने कुरा त राष्ट्रिय जनमोर्चा पनि त को–को सँग जोडिनुभएकै छ हामी विद्रोही । उहाँहरुलाई सुहाउने हामीलाई नसुहाउने के कुरा भयो र ?

चुनाव जित्नुहुन्छ त ?
चुनाव भनेको जनताको मतदानको परिणाम हो । जनमतले पत्याए जितिएला नपत्याए अभ्यास नै होला । जित्नैपर्छ भन्ने र जित्नकै लागि जे जे पनि गर्ने पक्षमा म छैन । सबैको चाहना, इच्छा रहेछ भने सामाजिक काम गर्ने हो त्यो मौका प्रति विश्वास गरेकी छु । अर्को म संविधानले दिएको अधिकार प्रयोग गर्दै महिला उपप्रमुखमा आएको हो । यहाँका सचेत दिदीबहिनी, आमाहरु र दाजुभाईहरुले सही ठाउँमा मतदान गर्नुहुने छ ।

तपाइसँगैका अर्को गठबन्धनबाट उपप्रमुखका उम्मेदवारले क्षमता नभएको उमेदवार भनेर सार्वजनिक मन्तव्य दिनुभएछ सुन्नुभयो ?
हो त्यो भाषण मैले दुईदिन पछि सामाजिक सञ्चालमा सुने । ति भाइ सरहका मान्छे हुन । मेरो क्षमता र दक्षतालाई लिएर मेरी श्रीमति जस्ती भनेर तुच्छ शब्दको बोलेछन् । उनीसँग त्यही संस्कार छ । महिलालाई अपहेलना गर्ने, हेप्ने, तुच्छ बोल्ने, कमजोर सोच्ने, आफूलाई बलबान र क्षमतावान देखेर म प्रति गरिएको दुव्र्यवहारले उनैलाई तल पार्ने हो । नेता भनेको गुणवान हुनुपर्दछ । उहाँले आफ्नी श्रीमतिलाई कमजोर, क्षमता नभएको, घरपरिवारमै दुव्र्यवहार गर्नुहुँदो रहेछ भन्ने त्यो बोलीबाट थाहा हुन्छ । ठीकै छ । घरमै रहेकी श्रीमतिको ईज्जत गर्न नसक्ने, दुनियाँ महिलालाई क्षमता नभएकी र मेरी श्रीमति जस्ती भन्नेलाई यो नगरपालिकाका सचेत नारीले किन मतदान गर्नुहुन्छ ? मत यहाँका दीदीबहिनीहरुलाई समेत प्रश्न गर्न चाहन्छु । घरकी श्रीमतिलाई त तुच्छ सोच्ने, सार्वजनिक रुपमा महिलालाई विभिन्न लाञ्छना लगाउनेलाई ठीकै समयमा जनताले चिन्न पाए । व्यभिचार व्यक्त गर्नेलाई निर्वाचन प्रक्रियाबाट बाहिर लैजान यहाँका नागरिकलाई आग्रह गर्दछु । यस्ता मान्छे पनि काँग्रेसमा पार्टि सभापति बनाइएको रहेछ । महिला दिदिबहिनीको कोटामा उपप्रमुखको उम्मेदवार बनेर महिलालाई होच्याउनेलाई काँग्रेसमा पनि सचेत महिला रहेछन भने सोच्नुहोला भनेकी छु ।

तपाइलाई राजनीतिमा खासै देखिनुभएन । सामाजिक गतिविधिमा पनि कम उपस्थिति रह्यो त्यसैले कमजोर उम्मेदवार हो भनेर चर्चा गरिने रहेछ नि ? तपाइले सुन्नुभएको छ यस्ता कुरा ?
म मेरो राजनीतिमा सक्रिय नै छु । सामाजिक गतिविधिमा आवश्यक ठाउँमा उभिएकी छु । जिम्मेवारीमा आएको काम इमान्दार भएर पूरा गरेकी छु । जे जस्तो जिम्मेवारी आयो त्यसरी नै काम गर्ने हो । अनावश्यक हो हल्ला गरिन होला । मेरो प्रचारवाजी भएन होला र त्यसो भनेका होलान । अहिले मौकामा आएकी छु त । जिताएर हेर्नुस् मेरो इमान्दारिता र कामको लेखाजोखा त्यस पछि गर्नुहुन आग्रह गर्दछु ।

तपाइले जितेपछि के के गर्छु भन्ने योजना वा प्रतिवद्धता के छन् ?
नगरको उपप्रमुख भएपछि मेरो जिम्मेवारी भनेको स्थानीय तह सञ्चालन ऐनले गरेको व्यवस्था अनुरुपनै पूरा गर्ने हो । मैले पाएको कार्यभार र काम कर्तव्य अधिकारको उच्चतम प्रयोग गर्ने हो । नगरको न्यायिक समितिलाई व्यवस्थित र चुस्त ढंगले अघि बढाउँछु । कार्यपालिकाको बैठक निर्णय र संबैधानिक अधिकारलाई साझा दायित्वका रुपमा प्रयोग गर्नेछु । समयमा आवश्यक ऐन तथा कार्यविधिहरु पारित गर्न कार्यपालिकामा क्रियाशील रहनेछु । जनताका समस्या, गुनासा र भावनाको पूर्ण कदर गरि जनप्रतिनिधि संस्था र त्यसको प्रतिनिधि सबैको साझा हो भन्ने विषयमा स्पष्ट छु । सबैको राय, सुझाव, ज्ञानलाई साझेदारी गरेर अघि बढ्नेछु । महिला अधिकार, हक र सचेतनाका आवश्यक नयाँ अभ्यासमा विज्ञहरुको रायका आधारमा काम गर्ने छु । ठूला सपना आवश्यक ठानिन । म जति सामान्य छु । त्यसरी नै सामान्य ढंगले उचित परिणम लिन अग्रसर रहनेछु ।

मतदादालाई के भन्नुहुन्छ ?
मसँग मतदाता प्रभावित पार्ने अनावश्यक तडक भडक छैन । जनताको समस्याहरु जटिल छन् । एक दुई वटा होईन हजारौं छन् । म चुल्होबाट निस्केर महिला नेतृत्वको जगमा उभिएको, दुई पार्टिको समर्थनमा आएको साझा उमेदवार हो । त्यो मात्र होईन पाँच दलीय गठबन्धनमा समेत महिलाको हक कुण्ठित भयो । त्यहाँ महिला प्रतिनिधि नभएका होईनन् । गठबन्धनका नाममा महिलाको नेतृत्व ढोरपाटनमा मारिने कोसिश गरियो । गठबन्धनका महिला नेतृहरु दीदीबहिनीहरुसँग मेरो कुराकानी भेटघाट भएको छ । त्यहाँको आन्तरिक पीडापनि बताउनुभएको छ । संविधानमै व्यवस्था भएको स्थानीय पालिकाको निर्वाचनमा प्रमुख वा उपप्रमुखमा एक महिला अनिवार्य भनिएको छ । त्यो व्यवस्था किन गरिएको हो भने मूलधारमा आउन नसकेका महिलाहरुले अनिवार्य नेतृत्व गर्न पाउने अधिकारलाई ग्यारेन्टी गरिएको हो । त्यो त गठबन्धनले सुरक्षण गर्न सकेन । त्यसकारण ढोरपाटनका जनताले महिलाहरुको प्रतिनिधित्व सून्य नबनाउन आग्रह गर्दछु ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *