बढ्दै ढोरपाटनमा पर्यटक, राजश्वमा समेत वृद्धि


खेमराज गौतम, बागलुङ

नेपालकै एक मात्र शिकार आरक्ष क्षेत्र ढोरपाटन क्षेत्रमा वर्षेनी पर्यटकहरुको संख्यामा बृद्धि भएको छ । पर्यटकहरुको आगमनमा वृद्धि भएसंगै ढोरपाटन शिकार आरक्षको राजश्वमा समेत बृद्धि भइरहेको छ । कुनै दिन ढोरपाटनमा शिकार खेल्न मात्रै पर्यटक आउने चलन थियो ।

सोझै हेलिकप्टरमार्फत विदेशी शिकारी पर्यटकहरुमात्रै ढोरपाटन शिकार आरक्ष पुग्ने भएपनि सडकको पहुँच, होटल सुबिधा तथा प्रचार प्रसार संगै बाह्य मात्रै नभएर आन्तरिक पर्यटकहरु समेत त्यहाँ पुग्न थालेका छन् ।

ढोपाटनमा शिकार खेल्न, ढोरपाटन उपत्यका भ्रमण गर्न, प्रसिद्ध ढोरबारही मन्दिर दर्शन गर्न र शिकार आरक्ष कार्यालयको अवलोकनका लागि पर्यटकहरु त्यहाँ पुग्ने गरेका छन् । नाउर र झारलको बैधानिक शिकार खेल्न पाइने उक्त क्षेत्रमा विदेशी पर्यटकहरुले लाखौं खर्च गरेर शिकार खेल्न त्यहाँ पुग्ने गरेका छन् भने आन्तरिक तथा अन्य पर्यटकहरुले शिकार आरक्ष क्षेत्रको भ्रमण तथा अवलोकन गर्ने गरेका छन् । वर्खा शुरुभएसंगै झण्डै ८ किलोमिटर क्षेत्रमा फैलिएको ढोरपाटन उपत्यकामा सयौ प्रकारका आकर्षक फूलहरु फुलेका छन् ।

हरीयाली ढोरपाटन उपत्यकाले त्यहाँ पुगेका पर्यटकहरुलाई नलोभ्याउने कुरै छैन । अहिले ढोरपाटनमा वर्षमा दुई याममा आन्तरिक तथा बाह्य पर्यटकहरु बढी मात्रमा पुग्ने गरेको छ । तर पुष माघको बाक्लो हिमपात र साउन भदौमा भारी वर्षा हुँदा बाहेक अघि पछी पर्यटकहरुको अभाव भने ढोरपाटनलाई पर्दैन ।

ढोरपाट शिकार आरक्ष क्षेत्रमा गत आर्थिक वर्ष देखि ढोरपाटन प्रवेश गर्ने आन्तरिक पर्यटकहरुको समेत रेकर्ड राख्न थालिएको छ । ढोरपाटन प्रवेश स्थल देउरालीमा यसअघि बाह्य पर्यटकहरुले शुल्क तिरेर प्रवेश पाउने गरेकोमा गत आर्थिक वर्ष २०७७÷०७८ आन्तरिक पर्यटकहरुले समेत रु.१०० प्रवेश शुल्क तिर्ने प्रावधान ढोरपाटन शिकार आरक्षले बनाएको छ ।

शिकार आरक्षको अनुसार आर्थिक वर्ष २०७६/०७७ सम्म विदेशी पर्यटकको मात्रै रेकर्ड राख्दै आएको आरक्षणले गत आर्थिक वर्षदेखि स्वदेशी पर्यटकरुको समेत रेकर्ड राख्दै आएको छ । आर्थिक वर्ष ०७२/०७३ मा ९१ विदेशी पर्यटक भ्रमणका लागि आएको आरक्षमा, ०७३/०७४ मा १३९ विदेशी पर्यटक, ०७४/०७५मा ११९ विदेशी पर्यटक, ०७५/०७६ मा ४८० विदेशी पर्यटक र ०७६/०७७ मा ३२० विदेशी पर्यटक आएकोमा २०७७/०७८ मा विदेशी र स्वदेशी गरी ६ हजार ७०३ पर्यटक आएको र पर्यटकहरुको आगमन शुल्क वार्षिनी ६ लाखको हाराहारीमा हुँने गरेकोमा २०७७/०७८ बढेर २० लाख पुगेको छ ।

ढोरपाटन शिकार आरक्ष अवलोकनका लागि विदेशी र स्वदेशी सबैको रेकर्ड राख्न थालिएको ढोरपाटन शिकार आरक्षका प्रमुख संरक्षक अधिकृत विरेन्द्र प्रसाद कंडेलले जानकारी दिनुभयो ।

“२०४४ सालबाटै विदेशी पर्यटक आउने ढोरपाटनमा पछिल्लो एक दशक यता आन्तरिक पर्यटकहरु आउन थालेका हुन्, सडकको पहुँच पुग्नु, प्रचार प्रसार हुँनु र होटल सुविधा थपिदा यहाँ वर्षेनी पर्यटकहरु बढ्दै आएका हुन्” कंडेलले भन्नुभयो “पर्यटकहरुको संख्यामा वृद्धि हुँदा राजश्वमा समेत वृद्धि भएको छ, विशेषगरी ढोरपाटनमा असोज, कात्तिक, मंसिर र चैत, वैशाख, जेठमा बढी पर्यटकहरु आउने गर्दछन् ।”

बागलुङ, म्याग्दी र पूर्वी रुकुम सम्म फैलिएको आरक्षको मुख्य कार्यालय बागलुङको ढोरपाटन उपत्यकामा पर्दछ । ढोरपाटन उपत्यकामा ढोरपाटन भ्रमणका लागि आउने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई लक्षित गरी २१ वटा साना ठूला होटल तथा घरबासहरु सञ्चालनमा आएका छन् ।

शिकार खेल्न विदेशी पर्यटक सोझै हेलिकप्टर मार्फत हिमाली क्षेत्रमा पुग्ने भए पनि अन्य विदेशी र आन्तरिक पर्यटक शिकार आरक्ष क्षेत्रमा आउने गरेका छन् ।

कोरोना पछि ढोरपाटन आउने पर्यटकहरुमा बृद्धि भएको ढोरपाटन सामुदायिक होटलका सञ्चालक सुरज पौडेलले बताउनुभयो ।

पौडेलले कोरोनाका कारण ठप्प बनेको ढोरपाटनको पर्यटन व्यवसाय बिस्तारै फष्टाउन थालेको र क्रमश आन्तरिक पर्यटकहरुको संख्यामा बृद्धि हुँदै आएको बताउनुभयो । “अहिले घुम्ने संस्कारको विकास भएको छ, विभिन्न जिल्लाबाट आन्तरिक पर्यटक यहाँ आउछन्, विदेशी पर्यटकहरु समेत कहिले काँही आउछन्, शिकारीहरु शिकार ब्लकमै आफ्नै व्यवस्थापनमा बस्छन्” पौडेलले भन्नुभयो “ढोरपाटनमा पहिला खुलेको होटल यही हो, अहिले पर्यटकहरुको आगमन बढेसंगै २१ होटल तथा घरबास सञ्चालनमा छन्, सिजनको समयमा सबै होटल तथा घरबास भरिभराउ हुन्छन् ।”

पर्यटकको आगमन बढेसँगै ढोरपाटनमा व्यापार–व्यवसाय पनि विस्तारै फस्टाउन थालेको र यहाँ उत्पादन भएको आलु, स्याउ लगायत स्थानीय उत्पादनले उचित मुल्य पाउन थालेको छ । सिजनको समयमा ढोरपाटनमा दैनिक चार÷पाँच सयको हाराहारीमा आन्तरिक तथा बाह्य पर्यटकहरु पुग्ने गर्दछन् । हिमपात र वर्खाका कारण सडक अबरुद्ध हुँदा पर्यटकहरु भने शून्य हुन्छन् । वर्खा लागेपछि द्वाला खोला बढ्दा सवारीसाधन ढोरपाटन पुग्न मुस्किल हुन्छ ।

बुर्तिवाङ देखि द्वाला सम्म सडक स्तरोन्नती भएर सहज भएपनि देउराली सम्म उकालो सडक वर्खाको भलले खोलेर सवारी साधन फस्ने समस्याका कारण भारी वर्षापछिको दुई महिना सवारीसाधन ढोरपाटन पुग्न मुस्किल हुन्छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *