एसिया कप, क्रिकेट र नेपाल

सम्पादकीय
नेपाली क्रिकेट पछिल्लो केही वर्ष यता उल्लेख्य फड्को मार्न सफल छ । कुनै बेला मुर्खले खेल्ने र महामुर्खले हेर्ने खेलको रुपमा चित्रित क्रिकेट यतिबेला नेपालमा सर्वाधिक लोकप्रिय खेलको रुपमा स्थापित भइरहेको छ । शहर बजारमा मात्र होइन, दुरदराजका ग्रामीण क्षेत्रमा समेत क्रिकेट खेलको क्रेज बढिरहेको छ । आजको समयमा नेपाली क्रिकेट नेपाललाई विश्व समुदाय माझ पहिचान दिलाउन समेत सफल भइरहेको छ । राजनीतिक दल, जात, धर्म, क्षेत्र, लिंग अनेक नाममा बिभाजित नेपालीहरुलाई एकताबद्ध बनाउन समेत महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । नेपाली क्रिकेट खेलाडीहरु अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिताहरुमा महँगो पारिश्रमिक लिएर खेल खेल्न थालेका छन् । यो नेपाल र नेपालीका लागि सुखद संकेत र सन्देश हो ।

अहिले नेपाली क्रिकेट टोली वर्षौदेखिको सपनाको एउटा प्रतियोगितामा सहभागी छ । पाकिस्तान र श्रीलंकामा आयोजित प्रतियोगितामा नेपालले पहिलो खेलमा नै विश्व क्रिकेटको नम्बर एक टोली पाकिस्तानको सामना ग¥यो । पहिलोपटक एकदिवसीय खेलमा नेपालको सामना गरेको पाकिस्तानका अनुभवी चार ब्याट्सम्यान १२४ रनको अवस्थामा पेभेलियन फर्कंदा संकटमा थियो । कप्तान बाबर र इफ्तिखारले पाँचौँ विकेटका लागि अविस्मरणीय साझेदारी गरे । दुवैले पाकिस्तानलाई १२४–४ बाट ३३८÷५ को बलियो स्थितिमा पु¥याए । उनीहरूका कारण नेपालले आफ्नो हातबाट खेल गुमाउन बाध्य भयो । त्यसअघि नेपालले पाकिस्तानमाथि पूर्ण रूपले नियन्त्रण राखेको थियो । पञ्जाबको मुल्तान रंगशालामा आयोजक र विश्वकै एक नम्बर एकदिवसीय टोली पाकिस्तानले ५० ओभरमा ६ विकेट गुमाएर तीन सय ४३ रन बनाएको थियो । १६ औँ एसिया कप क्रिकेट प्रतियोगिताको बुधबार उद्घाटन खेलमा नेपाल दुई सय ३८ रनको विशाल अन्तरले पराजित भयो । एकदिवसीय क्रिकेट इतिहासमै नेपालको हार १६ औँ ठूलो जित अन्तर हो । यो नेपालको एकदिवसीय खेलको इतिहासकै सबैभन्दा खराब हारसमेत हो । यसअघि नेपाल वेस्ट इन्डिजसँग एक सय एक रनले पराजित भएको थियो । अब दोस्रो खेल नेपालले श्रीलंकामा भारतसँग खेल्नेछ ।

नेपालका लागि जित त आवश्यक र महत्वपूर्ण थियो नै, पहिलो पटक विश्वको उत्कृष्ट टोली सँग खेल्न पाउनु पनि एक अभुतपूर्व अवसर थियो । जसबाट नेपाली क्रिकेट टोलीले पहिलो हारका बाबजुद पनि थुप्रै सिकाइ अनुभव सँगाल्न पाएको छ । जसले अब क्रिकेटमा शक्तिशाली ठानिएका पाकिस्तान, भारत लगायतका देशको टोलीसँग पनि प्रतिस्पर्धात्मक बन्ने आधार तय गर्दै जानेछ । नेपालले पहिलो इनिङ्समा आशा गरेजस्तै पाकिस्तानलाई दबाबमा राख्नु पनि सुखद सुरुवात थियो । सुरुमै दुई विकेट लिएर बाबर आजमजस्तो विश्व नम्बर एक खेलाडीलाई दबाबमा राख्नु सकारात्मक भए पनि दोस्रो इनिङ्स स्तब्धपूर्ण रह्यो । अब हारको सिकाइ र अनुभवबाट पाठ सिकेर प्रतियोगिताका बाँकी खेलमा नेपाली क्रिकेट टोली निःसन्देह उच्च मनोबलका साथ मैदानमा उत्रिनेछ । र आगतका दिनमा नेपाली क्रिकेटलाई थप उचाइमा पु¥याउनेछ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *