संविधानले स्थानीय तहको अधिकार अन्तर्गत न्यायिक समितिको व्यवस्था गरेको छ । निर्वाचित उपप्रमुखहरू न्यायिक समितिको संयोजक रहने व्यवस्था स्थानीय सरकार सञ्चालन ऐनले गरेको छ । कानुनी तथा न्याय सम्पादनका विषयमा कमै मात्र जानकारी भए पनि न्यायिक समिति संयोजकहरूलाई न्याय सम्पादनको महत्वपूर्ण जिम्मेवारी सुम्पिएको छ । न्यायिक समितिको नेतृत्वसमेत गरिरहेका उपप्रमुखले न्याय सम्पादन गर्ने काम कत्तिको सहज छ, अनुभव के छ ? समस्या र चुनौती कस्ता छन् ? सोही विषयमा म्याग्दीको मुस्ताङको थासाङ गाउँपालिकाका उपप्रमुख सोमल हिराचनसँग म्याग्दी सम्वाददाता अमृत बास्कुनेले गरेको कुराकानीको सम्पादित अंश ।
उपाध्यक्षमा निर्वाचित भएपछि न्यायिक समितिमा के कस्ता समस्या आउँछन्, कति सजिलो र अप्ठ्यारो छ ?
वि.सं. २०७९ को स्थानीय तहको निर्वाचनमा निर्वाचित भएर आए पछि यहाँ धेरै चिजहरु भेटीयो र पाइयो । त्यस मध्ये पनि न्यायीक समितिमा समस्या धेरै नै आउने गर्दछन् । न्याय तथा कानुन सम्बन्धी सबै जानकारी निर्वाचित भएर आउने जनप्रतिनिधिहरुलाई सुरुमा नहुने हुँदा समस्या हुन्छ नै । स्थानीय स्तरबाट आएका उजुरीहरुलाई के कसरी न्याय निरुपण गराउने भन्ने समस्या पनि हुन्छ ।
स्थानीय तहको न्यायीक समितिमा आएका उजुरीहरुको न्याय सम्पादनमा कुनै दवाव आउँछ कि आउँदैन ?
थासाङ गाउँपालिकाको उपाध्यक्ष भएर आए पछिको अवस्था हेर्दा अहिले सम्म दवाव आएको छैन । स्थानीयले न्यायीक समितिमा उजुरी दिए पछि न्यायीक समितिमा दुवै पक्षलाई राखेर छलफल गर्ने र त्यसलाई मिलापत्रका लागि अगाडी बढाउने गरिएको छ । सबैलाई समेटेर समान न्याय हुने गरी गरी नै न्याय सम्पादन गर्ने गरिएको छ ।
नीति निर्माण तथा योजनामा उपाध्यक्षको भूमिका के छ ?
थासाङ गाउँपालिकाको अवस्था हेर्ने हो भने हालसम्म बजेट निर्माण गर्दा उपाधयक्षको प्रमुख भुमिका नै हुने गर्दछ । हाम्रो पालिका भित्रका वडाहरुबाट आएका योजना तथा समस्याहरुलाई गाउँपालिकामा कार्यपालिकाको बैठकबाट प्राथमिकताको आधारमा निर्णय गरी गाउँसभामा पेश गर्ने गरिएको छ । महिला तथा बालबलिकाको अधिकार, शिक्षा, स्वास्थ्य तथा खानेपानी जस्ता योजनालाई हामीले बढी प्राथमिकतामा राखेर अगाडी बढ्ने गरेका छौं ।
गाउँपालिकाको पालिको उपप्रमुखको रुपमा हजुर आउँदै गर्दा यहाँका जनताले हेर्ने दृष्टिकोण के कस्तो पाउनु भएको छ?
पहिलाको उपाध्यक्ष पनि महिला नै हुनुहुन्थ्यो । २०७९ मा स्थानीय तहमा पुरुष उपाध्यक्षका रुपमा आउँदा स्थानीयले सोध्ने गर्छन् । उपाध्यक्ष पुरुष हुनुको कारण हामीले प्रष्ट पार्ने गरेका छौं । स्थानीय वासिन्दालाई उपाध्यक्षको भूमिका र उपाध्यक्षको बारेमा बुझाउनु नै ठूलो कुराका रुपमा हामीले लिने गरेका छौं ।
हिंसाका घटनाहरु कति आउने गरेका छन्?
जिल्लामा भनाई प्रख्यात भए पनि मेरो बिचारमा महिला तथा घरेलु हिंसाका घटनाहरु हुने गरेको भए पनि बाहिर आउन सकेको छैन । कुटपिट तथा हिंसाका घटनाहरु मुस्ताङमा छ यसलाई जनचेतनाको कार्यक्रम गरेरै उनीहरुलाई न्यायीक समितिमा आउन भन्ने गरिएको छ । कानुन बनाउने क्रममा महिलाको हक अधिकारलाई प्राथमिकता राख्ने गरिएको छ ।
स्थानीय तहमा शिक्षा, स्वास्थ्य, खानेपानीको अवस्था के कस्तो छ?
शिक्षा, स्वास्थ्य, खानेपानी राम्रो छ । भौतिक पूर्वाधार पनि राम्रो छ । बाल र मातृ मृत्युदर छैन । स्कुलको विद्यार्थीको संख्या न्यून छ । जिल्ला भित्रका स्थानीयहरु जिल्ला छाडेर बाहिर जाने हुँदा अहिले जिल्ला भित्र अन्य जिल्लाबाट कामको शिलशिलामा आउनेहरुको बालबालिका मात्रै मुस्ताङ भित्र रहेका छन् । स्थानीय भन्दा बाहिर जिल्लाका बालबालिकाहरुको संख्या राम्रो छ ।