बागलुङ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २३ औं वार्षिक साधारणसभा २०८१ चैत ३० गते शनिवार सम्पन्न भयो । पुस मसान्तभित्र सम्पन्न हुनु पर्ने वार्षिक साधारणसभा संस्थाको आन्तरिक समस्याका कारण चैतमा पुग्यो । निर्वाचनसहितको साधारणसभाबाट बाबुकाजी के.सी. अध्यक्षतामा नयाँ सञ्चालक समिति निर्वाचित भएको छ । संस्थामा देखिएको आन्तरिक विवाद, त्यसको समाधान र साधारणसभा तथा नयाँ नेतृत्वका आगामी योजनाका बारेमा सहकर्मी रोहन जि.सी.ले गर्नु भएको कुराकानी ।
अध्यक्षमा निर्वाचित हुनु भएकोमा बधाई छ ।
– धन्यवाद ।
तपाई एकता सहकारीको सञ्चालक हुनुहुन्छ, एउटा संस्थाको संचालक अर्को संस्थाको अध्यक्ष बन्न मिल्छ ?
–सर्वप्रथम म अर्को संस्थाको संचालक पदबाट राजीनामा गरेर यस संस्थामा आएको हुँ । म कुनै पनि आर्थिक अपचलन गरेर आएको छैन, अर्को संस्थाका संचालकहरूसँग पनि सरसल्लाह गरेर यहाँको नेतृत्व लिन आएको हुँ ।
सहकारी प्रति नकारात्मक धारणा बनिरहेका बेला सहकारीको अध्यक्ष बन्न कसरी प्रेरित हुनु भयो ?
–मलाई के लाग्छ भने, सबैभन्दा पहिले आम मानिसहरुको स्वभाव चुनौती, समस्याबाट पन्छिने र डराएर भाग्न खोज्ने खालको छ । सजिलो हुदा त्यसमा जान मरिहत्ते गर्ने, अलिकति समस्या आउदा साथ कसरी छोड्ने होला ? भन्ने अवस्था छ । तर म चुनौति भित्र सम्भावना खोज्नुपर्छ भन्ने बिचार भएको मान्छे हुँ । अहिले समग्र देशको आर्थिक स्थिति केही कमजोर भएको छ, कोरोना महामारीबाट विश्व नै सिथिल बनेको अवस्था छ, यस्तो परिपेक्ष्यमा नेपालको सहकारी क्षेत्रमा केही नकरात्मक कुरा आउनु स्वभाविक पनि छ, तर म अर्को संस्थामा पनि सञ्चालकको रूपमा काम गरेको हुदाँ खासगरी बागलुङमा सहकारीहरुको अवस्था सहकारीप्रति नकरात्मक सोच राख्नेहरुले प्रचार गरे जस्तो चिन्ताजनक छैन भन्ने मेरा बुझाई छ त्यसैले म आफै प्रत्यक्ष रूपमा अध्यक्षको भुमिकामा काम गर्दै ति तमाम प्रश्नको हल गर्ने सम्भावना देखेको छु । चुनौतीको सामना गर्न नसक्नेहरुका लागि अवसर प्राप्त हुदैन भन्ने सोचका साथ सहकारी क्षेत्रमा देखिएको समस्या समाधान गर्न अग्रसर भएको छु ।
पुस मसान्त भित्र गरिसक्नु पर्ने वार्षिक साधारण सभा चैत्र मसान्तमा किन ?
–संस्थामा केही आन्तरिक विवाद थिए, जसका कारण समयमा साधारणसभा हुन सकेन, यतिबेला ति समस्या हल भइसकेका छन् । अब संस्थामा सबै काम समयमै हुने कुरा आम शेयर सदस्यहरुलाई विश्वास दिलाउन चाहन्छु ।
संस्थामा देखिएको समस्याको जड के हो ? कसरी समाधान गर्नुहुन्छ ?
– मैले अगाडी नै भनिसके सहकारीमा भन्दा पनि समग्र देशको, विश्वको आर्थिक अवस्था ओरालो लागेको अबस्था छ यस्तो अवस्थामा नेपालमा पनि केही सहकारीहरू व्यक्ति केन्द्रित काम गर्दा समस्यामा देखिए, जसका कारण सहकारी प्रति आम जनताको सोच नकरात्मक बनेको छ । त्यस्तो अवस्थामा साना कुराहरुले पनि महत्व पाउने हुदाँ समस्या देखिएको जस्तो हो खासमा त्यस्तो केही समस्या हैन ।
आन्तरिक समस्याले साधारणसभा नै धकेलियो ? अब कसरी अगाडी लैजानु हुन्छ ?
–नयाँ संचालक समितिप्रति शेयर सदस्यज्यूहरुले जुन विश्वास देखाउनु भएको छ, भरोसा गर्नुभएको छ । निर्वतमान संचालक समितिले पनि हामीप्रति भरोसा गरेको छ । आन्तरिक विवाद हल भई सकेको छ, अब हामी शेयर सदस्य र निवर्तमान संचालकहरूसंग प्रत्यक्ष भेटेर सुझाव संकलन गरेर, संस्थाका कहाँ कमी कमजोरी भएका छन् त्यसमा ध्यान दिदै ति कमी कमजोरीलाई सच्याउदै अगाडी बढ्छौं र अवश्य पनि हामी एउटा गर्व गर्न लायकको संस्था बनाउने छौ भन्नेमा म विश्वस्त छु ।
अध्यक्षका रुपमा अबको चार वर्ष संस्थाका मुख्य योजना कस्तो हुन्छ ?
–सबै शेयर सदस्यज्यूहरु र सरोकारवालाहरूले पनि बुझ्नु पर्ने कुरा अब हामी सँग मात्र ३ बर्ष ३ महिना छ, किन भने यो आर्थिक वर्षको ९ महिना निर्वतमान संचालक समितिबाट नै काम भएको छ । यो वर्ष हामीसँग मात्र ३ महिना काम गर्ने अवसर छ । यद्यपी हामीले यो तीन महिनालाई राम्रोसँग प्रयोग गर्ने सोच बनाएका छौं । आगामी वर्षहरूमा सहकारीलाई विधि भित्र लगेर रणनैतिक कार्ययोजना बनाई केही नयाँ प्रविधिलाई प्रयोगमा ल्याउने खासगरी प्रत्येक शेयर सदस्य सम्म पुगेर उहाँहरुलाई सहकारी प्रति सकारात्मक बनाउने लक्ष्य लिएर त्यो अनुरुप कडा मेहनत गर्ने हाम्रो योजना छ ।
सहकारी अभियान प्रति नैरास्यता देखिएको छ यसलाई चिर्न यहाँको भूमिका के हुन्छ ?
–तपाईको यो प्रश्न प्रति मेरो अलि कडा धारणा छ । खासमा नेपालमा सहकारी अभियान जसरी संचालन भए त्यसमा सरकारको भूमिका अलि बढी रहनु पर्ने हो तर त्यस्तो भएको पाइएन । फलस्वरूप केही व्यक्तिहरु धेरै महत्वकांक्षाका साथ बजारमा आए । उनीहरूसंग सहकारीका सिद्धान्त भन्दा पनि व्यक्तिगत सिद्धान्त बढी थिए । भन्दा कडा हुन सक्छ ? सहकारीका सिद्धान्त भन्दा फरक उद्देश्यका साथ काम गर्दा त्यस्ता सहकारीमा समस्या आयो, सहकारीमा सदस्यले जम्मा गरेको बचत रकम आफ्नो सम्पत्ती बढाउन लगाउनेहरुका कारण शुरु भएको समस्याले धेरै (९५%) राम्रा सहकारीहरु पनि त्यसको चपेटामा परेका छन । अब यसलाई चिर्नका लागी राम्रा उद्देश्य बोकेका तर मारमा परेका सहकारी अभियान्ताहरुसँग सहकार्य र उहाँहरूलाई एउटा मोर्चा नै बनाई सहकारीका राम्रा पक्ष र असल सहकारीको बारेमा आम जनमानसमा पु¥याउने र सहकारी प्रतिको नैराश्यता र भ्रमलाई चिर्ने लक्ष्यका साथ म यो क्षेत्रमा आएको हुँ । सहकारीका सञ्चालक, शेयर सदस्य र राज्यका निकायहरुबीच समन्वय गरेर अगाडि बढ्ने हो भने सहकारीलाई पुनः पुरानै अवस्थामा लैजान सकिन्छ भन्ने मेरो विश्वास छ ।
सहकारी सदस्य को हो ? तर सदस्यहरुले पनि संस्थालाई अप्ठेरो पर्दा साथ नदिएको गुनासो सुनिन्छ ? बागलुङ बहुउद्देश्यीय सहकारीका शेयर सदस्य लगायत आम सहकारीका सदस्यहरुलाई के भन्न चाहनुहुन्छ ?
–एक शब्दमा भन्नु पर्दा शेयर सदस्य भनेको सहकारीका मालिक हुन । आम शेयर सदस्यहरूले जसरी आफ्नो पसलमा लगानी गरेपछि पसलमा बसेर नाफा कमाउने उद्देश्यका साथ काम गर्नुहुन्छ त्यसरीनै सहकारीमा पनि मेरो लगानी छ र त्यसको संरक्षण र नाफामा भागीदार बन्नुपर्ने हुन्छ, त्यसैले बेलाबेलामा आफ्नो लगानीको अवस्था के छ ? सहकारीमा जाने केही आफ्ना सुझाव सल्लाह दिने कार्य गर्नुपर्दछ । शेयर सदस्यहरुनै संस्थाबाट रकम लान पाउने नियम भएको कारण ऋण लगेका शेयर सदस्यहरू पनि संस्थाप्रति उत्तरदायी भएमा मात्र संस्था राम्रो बन्छ र हामी कमजोर भए संस्था बिग्रन्छ भन्ने कुरा शेयर सदस्यज्युहरूले पनि बुझ्न जरूरी छ । शेयर सदस्यहरू पनि जवाफदेही भएर लाग्नुपर्छ भन्ने मेरो भनाई हो ।
अन्त्यमा थप केही भन्न चाहनुहुन्छ ?
–अन्त्यमा नयाँ वर्ष २०८२ को उपलक्ष्यमा सम्पूर्ण आमा बुबा दाजु भाई तथा दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न चाहन्छु । साथै बागलुङ बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्षको नाताले बागलुङमा केही फरक उद्देश्यका साथ आएका सहकारीहरू विग्रन पुगे, जसका कारण सदस्य केन्द्रीत कारोबार गर्ने सहकारीमा पनि त्यसको असर पर्न गयो । म शेयर सदस्यहरूलाई के भन्न चाहन्छु भने बागलुङका सहकारीका संचालकहरूमा जवाफदेहिता छ र सहकारीहरू बिग्रने अवस्थामा नभएकोले ढुक्क हुन, बागलुङबासी आम जनतालाई सहकारीप्रति सकारात्मक सोचका साथ लाग्न र विश्वास गर्न आग्रह गर्दछु ।