कोरोना अपडेटः १० लाख संक्रमित, दुई लाख निको

आदर्श अनलाइन, काठमाण्डौं

विश्वमा कोरोना भाइरस संक्रमितको संख्या १० लाख नाघेको छ।

संसारभर संक्रमणबाट करिब ५३ हजार जनाको मृत्यु भएको छ। जोन्स हप्किन्सले कोरोना संक्रमितको सूचिकृत संख्या १० लाख पार गरेको बताए पनि वास्तविक संख्या अझ बढी हुनसक्ने अनुमान छ।

पछिल्लो समय अमेरिका कोरोना भाइरसको केन्द्रविन्दु बनेपछि संक्रमितको विश्व तथ्याकंले नयाँ बिन्दु पार गरेको हो। पछिल्ला सातामा संक्रमितको संख्या दोब्बर हुँदै गएपछि छोटो समयमै संक्रमितको संख्या १० लाख बढी भएको हो।

पछिल्लो विश्व विवरण अनुसार हालसम्म संक्रमणबाट ५३ हजार बढीले ज्यान गुमाइसकेका छन्।यस्तै २ लाख १२ हजार १८ जना संक्रमित निको भएका छन्। महामारी सुरू भएपछि संक्रमितको संख्या एक लाख नाघ्न डेढ महिनाको समय लागेको थियो।

सूचिकृत भएका संक्रमित मध्ये झण्डै एक चौथाइ संख्या अमेरिकाबाट रहेका छन्। त्यहाँ हालसम्म करिब २ लाख ४५ हजार जना भाइरसबाट संक्रमित भएको आधिकारिक तथ्याकं छ। अमेरिकापछि सबैभन्दा बढी संक्रमित इटाली र स्पेनमा भेटिएका छन्। त्यहाँ क्रमशः एक लाख १५ हजार २ सय ४२ र १ लाख १२ हजार ६५ जनामा संक्रमण पुष्टि भएको छ। जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार सबैभन्दा बढी संक्रमित अमेरिकामा रहेका छन्। यसैगरी कोरोना संक्रमणबाट सबैभन्दा धेरै मृत्यु इटालीमा भएको छ।

संक्रमितको संख्या अमेरिकामा धेरै भेटिए पनि मृत्यु संख्या भने इटाली र स्पेनमा धेरै छ। इटालीमा कोरोना भाइरसको संक्रमणबाट १३ हजार ९ सय १५ जनाको ज्यान गइसकेको छ भने स्पेनमा १० हजार ३ सय ५८ जनाको ज्यान गएको छ।

धेरै संक्रमित भेटिएको अमेरिकामा भने ६ हजार ७० जनाको ज्यान गएको छ।

संक्रमितको संख्या बढी रहेको अमेरिकाले कोरोना संक्रमणका कारण आफ्ना लागि आगामी दुई साता कठिन हुने यसअघि नै बताइसकेको छ। त्यसले गर्दा संक्रमितको संख्या अझ बढ्ने निश्चित छ। अमेरिकाले संक्रमणबाट आफ्ना झण्डै २ लाख ४० हजार नागरिकले ज्यान गुमाउने अनुमान गरेको छ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *