लकडाउनमा थप कडाई : दुध, तरकारी पनि घरमै मगाउनुस् : प्रहरी

आदर्श अनलाईन, बागलुङ
जिल्ला प्रहरी कार्यालय बागलुङले लकडाउनको समयमा घर बाहिर ननिस्कन आव्हान गरेको छ । लकडाउनको उल्लंघन गरेमा कडा कार्वाही गर्ने चेतावनी प्रहरीले दिएको छ ।

प्रहरीले आइतबार बिहानदेखि फलफूल तथा तरकारी लिन समेत बाहिर ननिस्कन उर्दी जारी गरेको हो ।

लकडाउनको समयमा पनि विभिन्न बहानामा मानिसहरु घर बाहिर निस्कने, समुह समुहमा हिड्न गर्न थालेपछि प्रहरीले सूचना प्रकाशित गरेर बाहिर ननिस्कन आग्रह गरेको हो ।

तरकारी तथा फलफूल आवश्यक परेमा पसलेहरुसंग सम्पर्क गरी घरमै मगाउन प्रहरीले सूचना मार्फत अनुरोध गरेको छ ।

‘यदी कोही कसैले यस सूचनाको वेवास्ता गरी लकडाउनको उल्लघन गरेको फेला परेमा कडा भन्दा कडा कार्वाही गरिने व्यहोरा समेत जानकारीका लागि अनुरोध छ’, बागलुङ प्रहरी कार्यालयले शनिवार सांझा सार्वजनिक गरेको सूचनामा उल्लेख छ ।

कसैले दुधजन्य पदार्थ, तरकारी तथा फलफूल माग गरेमा घर घरमै पु¥याउने व्यवस्था मिलाउन विक्रेताहरुलाई प्रहरीले आग्रह गरेको छ ।

मन्त्रिपरिषद वैठकले लकडाउनलाई पूर्णपालना गराउनका लागि एक प्रदेशबाट अर्को प्रदेश, जिल्ला जिल्लाबाट अर्को जिल्ला र एक स्थानीय तहदेखि अर्को स्थानीय तहमा जान प्रतिवन्ध लगाउने निर्णय गरे लगत्तै बागलुङ प्रहरीले लकडाउनमा कडाई गरेको हो ।

नेपालमा ९ जनामा कोरोना संक्रमण देखिएकोमा बागलुङका मात्रै २ जना छन्, बागलुङ कोरोना संक्रमणको जोखिम क्षेत्रका रुपमा रहेकाले पनि सुरक्षालाई ध्यान दिनु पर्ने देखिएको छ ।

तेस्रो मुलुकबाट आएकाहरुमा देखिदै आएको कोरोना संक्रमण पछिल्लो समय छिमेकी मुलुक भारतबाट आएका र स्थानीयमा समेत देखिए पछि कोरोना संक्रमणको दोस्रो चरण प्रवेश गरेको चर्चा शुरु भएको छ ।

स्थानीयमा संक्रमण देखिए पछि महामारी फैलिन सक्ने आंकलनका साथ कोरोना नियन्त्रण अभियानलाई प्रभावकारी गराउन सरकारले सरोकारवालाहरुलाई निर्देशन गरेको छ ।

सरकारले दोस्रोपटक आव्हान गरेको लकडाउनको समय चैत २५ गते सकिदैछ, त्यसपछि खोल्ने कि बढाउने भन्ने विषय संक्रमणको अवस्था र सरोकारवालाहरुसंगको परामर्शपछि तय गर्ने सरकारको तयारी छ । कोरोनाको संक्रमण बढ्दै गएको र स्थानीयमा समेत देखिएकाले लकडाउनको समय बढ्ने संभावना रहेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *