कोरोना विरुद्धको अभियानमा बागलुङ दुग्ध सहकारी संघले दियो एक लाख

आदर्श अनलाईन, बागलुङ
कोरोना नियन्त्रण, रोकथाम र उपचारका लागि बागलुङका स्थानीय तहले सञ्चालन गरेका राहत कोषमा सहयोग गर्ने क्रम बढ्न थालेको छ ।

बागलुङका १० वटै पालिकाले रकम विनियोजन गरेर विपद कोष स्थापना गरेका छन् । पालिकाहरुले स्थापना गरेका कोषमा स्थानीय संघ संस्था, व्यवसायी तथा वैदेशिक रोजगारमा गएकाहरुले समेत सहयोग गर्न थालेका छन् ।

पालिकाहरुले विपद कोषमा स्थानीय संघ संस्थाहरुबाट संकलित रकम र पालिकाको बजेट समेत गरी वडा वडामा स्वास्थ्य सामग्री, खाद्यान्न लगायत आवश्यकताका आधारमा सहयोग गर्र्दै आएका छन् ।

यसैबीच बागलुङ दुग्ध उत्पादक सहकारी संघ लिमिटेड बागलुङले कोरोना विरुद्धको अभियानमा १ लाख रुपैया आर्थिक सहयोग गरेको छ ।

संघले बागलुङ नगरपालिकाले सञ्चालन गरेको विपत राहत, उद्धार व्यवस्थापन कोषमा ५० हजार र काठेखोला गाउँपालिकाले सञ्चालन गरेको कोरोना रोकथाम तथा व्यवस्थापन कोषमा ५० हजार रुपैया सहयोग गरेको हो ।

सिंगो मुलुक कोरोना संक्रमण नियन्त्रण, रोकथाम र उपचारमा केन्द्रीत भएको समयमा सहकारी संघको तर्फबाट सहकार्यका लागि रकम सहयोग गरिएको संघका प्रवन्धक धरणीधर सापकोटाले जानकारी दिनुभयो ।

बागलुङ लगायत देशभरका सहकारीहरुले स्वतस्फूर्त रुपमा स्थानीय पालिका, प्रदेश सरकार लगायत नेपाल सरकारको विपद कोषमा समेत सहयोग गर्दै आएका छन् । सहकारीको समुदाय प्रतिको चासो भन्ने सिद्धान्तका आधारमा सहकारी संघ संस्थाहरुले राज्य लगायत स्वास्थ्य संस्थाहरुसंग सहकार्य गरेर सहयोग गरेको जिल्ला सहकारी संघ बागलुङका अध्यक्ष दिपक गौतमले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *