बागलुङका क्षेत्रीकाे बेलायतमा काेराेनाका कारण निधन

आदर्श अनलाईन
आफ्नो नातीको विहेका लागि बेलायत आएका एकजना नेपालीको कोरोना भाइरस संक्रमणका कारण निधन भएको छ । गत फेब्रुअरी महिनाको २६ तारिख लण्डन आइपुगेका बाग्लुंग जिल्लाको बाग्लुंग नरपालिका- १२, अमलाचौरका ७५ वर्षीय कर्णबहादुर क्षेत्रीको बुधबार लण्डनको नर्थविक पार्क अस्पतालमा निधन भएको हो ।

मार्च ३० तारिखका दिन अस्पताल भर्ना भएका उनलाई त्यसको दुई दिनपछि भेन्टिलेटरमा राखिएको थियो । ‘सुरुमा खासै ठूलो लक्षणहरु देखिएका थिएनन् । खाना रुचेको छैन, अरु सबै ठीक छ भन्नुहुन्थ्यो वुबाले । बिस्तारै उहाँको बोली काँप्ने, हिंड्दा खुट्टा काँप्ने गरेजस्तो हामीलाई लाग्यो’ , अस्पताल भर्ना हुनुअघिको क्षेत्रीको अवस्थाबारे बुहारी सरस्वती केसीले भनिन्, ‘पछिल्लो एक दिन पखाला पनि लाग्यो । खाना खाने बेला वमिट पनि भयो । भोलिपल्ट चक्कर पनि लागेपछि हामीले अस्पताललाई खबर गरेका हौं ।’

एम्बुलेन्समा आएको प्यारामेडिकको टोलीले पनि अरु सबै सामान्य रहेको तर अक्सिजनको कमी भएको हुन सक्ने बताएपछि अस्पताल भर्ना गरिएको केसीले सुनाइन् । त्यसअघि क्षेत्रीलाई श्वासप्रश्वासमा समेत कुनै समस्या भएको थिएन ।

अस्पताल भर्ना गरेर जाँच गर्दा क्षेत्रीलाई निमोनिया देखिएको डाक्टरहरुले बताएका थिए । सोमबार साँझ अस्पताल भर्ना भएका उनलाई बुधबार बिहानदेखि भेन्टिलेटरमा राखिएको थियो । क्षेत्रीलाई कोरोनाको संक्रमण पुष्टी भएको जानकारी पनि परिवारले सोहि दिन पाएको थियो ।

‘भेन्टिलेटरमा राखेको एक-दुई दिन पछि केहि सुधार देखिन थालेको थियो । हामीलाई त आशा पलाएझैं पनि भएको थियो । तर फेरि अवस्था बिग्रिंदै गयो’, बुहारी सरस्वतीले सुनाइन्, ‘डाक्टरहरुले ‘डायलासिस’ समेत गरेर हेरे । तर किड्नीलाई काम गर्ने अवस्थामा फर्काउन सकेनन्’, सरस्वतीले भनिन् ।

बुधबार दिउँसो अस्पतालले परिवारलाई टेलिफोन गरेर क्षेत्रीलाई बचाउन कुनै उपाय नलागेको जानाकरी गराएको थियो । ‘दिउँसो २ बजे फोन आएको थियो । अस्पतालको नम्बर देख्दा हामी त केहि ‘पोजिटिभ न्यूज’ नै होला भनेर खुशी थियौं । तर, उनीहरुले अब उपाय बाँकी नरहेको भन्दै भेन्टिलेटरबाट बाहिर निकाल्ने तयारी गरेको सुनाए । हामी स्तब्ध भयौं । न केहि भन्न सक्यौं न त केहि गर्न नै’, सरस्वतीले गला अवरुद्ध पार्दै सुनाइन्, ‘दुई घण्टापछि फेरि फोन आयो । भेन्टिलेटरबाट निकाल्यौं , वुबाले शान्तिपूर्वक प्राण त्याग्नुभो भनेर हामीलाई सुनाए ‘

अप्रत्यासित रुपमा क्षेत्रीको निधनपछि अहिले परिवार मर्माहत छ । क्षेत्रीसंगै आएकी उनकी ७१ वर्षीय श्रीमतीलाई सम्हालिन गाह्रो परेको छ । ‘केहि दिनअघि आमा पनि सामान्य बिरामी पर्नुभएको थियो , बिस्तारै ठीक भएर  तंग्रिदै हुनुहुन्थ्यो । फेरि यो बज्रपात आइलाग्यो, हामी सम्हाल्ने कोशिस गरिरहेका छौं’, सरस्वतीले भनिन् ।

मृतक कार्की इण्डियन आर्मीका ‘रिटायर्ड पेन्सनर’ थिए । अवकाशप्राप्त जीवनलाई आफ्नै गाउँमा समाजसेवा र राजनीतिमा लगाएका उनी तत्कालिन गाविसमा एमालेको तर्फबाट उपाध्यक्ष निर्वाचित भएका थिए । परिवारका अनुसार उनलाई खासै कुनै ठूलो स्वास्थ्यसमस्या समेत थिएन ।

क्षेत्रीका ४ छोरा र तीन छोरी छन् । जेठो छोरा मिलन परिवारसहित लण्डनमा छन् भने कान्छो छोरा र बुहारी जापानमा । अरु सबै नेपालमै छन् ।

नातीको विहेका लागि लण्डन आएका क्षेत्री दम्पति अप्रिल २६ मा नेपाल फर्किने टिकट थियो । कोरोनाको महामारी सुरु हुन लागेपछि नेपाल नै बढि सुरक्षित हुन्छ कि भनेर बाबुआमालाई पठाउनेबारे सोंचेका पनि थिए छोराबुहारीले । तर भनेजस्तो व्यवस्था नभएपछि बेलायतमै बस्दा पनि राम्रै होला भनेर चित्त बुझाएका थिए उनीहरुले ।

परिवारको सन्देश :

कुनै गम्भीर स्वास्थ्य समस्या समेत नरहेका क्षेत्री बेलायत आएकै बेला निधन भएपछि परिवारलाई ठूलो चोट परेको छ । शोकको घडीमा सम्हालिने कोशिस गरिरहेको उनको परिवारले यहाँको समुदाय र अरु नेपालीलाई भने आवश्यक सतर्कता अपनाउन सुझाव दिएको छ ।

एनआरएनए यूकेकी कार्यसमिति सदस्य समेत रहेकी बुहारी सरस्वतीले आव्हान गरिन्, ‘म सबैलाई यहि सन्देश दिन चाहन्छु कि कुनै पनि लक्षणलाई गम्भीरतापूर्वक लिनुहोस् । श्वासप्रश्वास ठीक भएर मात्रै नहुँदो रहेछ । अझ पखाला छ भने त पर्खिएर बस्दै नबस्नुहोस् । अस्पतालमा सम्पर्क गरेर सल्लाह लिन ढिलो नगर्नुहोस् । हरेक सावधानी अपनाउनुहोस् जसले गर्दा हामीले जस्तै असामयिक रुपमा आफ्नो परिवारको सदस्य गुमाउन नपरोस् ।’

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *