बुढी आमा र सुत्केरी श्रीमती कुर्दै, श्रीमान लकडाउनले अलपत्र

डम्मर बुढा मगर, बागलुङ
‘घरमा श्रीमती सुत्केरी भएकी छिन्, लकडाउनले गर्दा काम पनि बन्द भयो, पोखरामा भाडा तिरेर बस्न सकिएन, त्यसैले घर हिँडेको ।’ पोखराबाट पैदल १५ घण्टा हिँडेर बागलुङ आएका प्युठान गौमुखी गाउँपालिका ३ का प्रेम बुढा मगरले लकडाउनको कठिन अनुभव सुनाए ।

लकडाउनका कारण काम गर्न नपाए पछि खाना खान र घर भाडा तिर्न नसकेर गाउँ फर्किएका बुढा मगर यतिखेर बागलुङको आश्रय स्थलमा छन् । उनी सहित बिभिन्न स्थानबाट जिल्ला आएका १४ जनालाई यहाँ तयार आश्रय स्थलमा राखिएको छ ।

घरमा बुढी आमा र सुत्केरी भएकी श्रीमतिले फोन गरेर दैनिक बाटो हेर्ने गरेको उनी बताउँछन् । विश्वभर आतंक मच्चाइरहेको कोरोना भाइरसका कारण देशमा लकडाउन गरिए पछि पोखराबाट पैदल हिडेर आए पनि दुई दिनदेखि बागलुङमा रोकिँदा छटपटिमा छन् । गाउँ गएरै कोरोनाबाट जोगिन्छु, परिवारसँगै बस्छु भनेर घरको यात्रा तय गरेका उनलाई यतिबेला ठूलो फान्दामा परेको र घरको पीरले सताएको उनको भनाई छ ।

गाउँमा काम गरेर खान नपुगे पछि ऋण खोजेर पोखरा पुगेका उनी काम सुरु गर्ना साथ लकडाउन सुरु भएकाले समस्या परेको बताउँछन् । ‘लकडाउनको अवधी लम्बिँदै गएपछि साथमा भएको खानेकुरा र पैसा पनि सबै सकियो’ उनी भन्छन्–‘खान बस्न सक्ने अवस्था नभएपछि घर हिँडेको हो । बागलुङको आश्रय स्थलमा आँफुले बस्न र खान पाए पनि घरको अवस्था र चिन्ताले पिरोलिरहेको छ ।’

आश्रयस्थलमा आफू सुरक्षित रहे पनि संकटमा उनी घर, परिवारका सदस्य सँगै हुन चाहने हुटहुटि छ । र भर्खरै जन्मिएको आफ्नो सन्तानको मुख हेर्न र स्पर्श गर्न पनि उत्तिकै लालायित देखिन्छन् । तर, अहिले आश्रय स्थलमा बाधिँएर राखिए जस्तो भएको छ । आश्रयस्थलबाट छोडिदिए रात दिन हिँडेरै दुई दिनमा घर पुग्न सक्ने उनी बताउँछन् । ‘रोगले भन्दा पनि भोकले र शोकले मरिएला जस्तो भयो,’ उनी भन्छन् ‘घर पुग्न पाए जसरी पनि रोगबाट बचिन्थ्यो, गाउँमै केही गरेर परिवार पालिन्थ्यो ।’

घरको आर्थिक अवस्था निकै कमजोर भएको भन्दै घरमा पनि ठूलो समस्या भएको बताउँछन् । सुत्केरी श्रीमती र बुढी आमालाई मिठो, मसिनो र पोषिलो खुवाउने समयमा आफूसँग भएको पैसा सकिए पछि उनी निकै निरास भएका छन् । तर, पनि घरमै पुगेर सुत्केरी श्रीमतिको स्याहार सुसार गर्ने र बुढी आमालाई तातोपानी पिलाउने उनको चाहना छ ।

बुढा मगरसँगै आएका रोल्पा सुनछहारी गाउँपालिका वडा नम्बर ५ का प्रकाश पुन मगर पनि यही आश्रय स्थलमा छन् । पोखरामा घर बनाउने काम गर्दै आएका पुन मगर लकडाउन लम्बिए पछि घर पैदल हिँडेका थिए । ‘लकडाउन लम्बिएको लम्बिए छ, भएको सबै पैसा सकियो,’ उनले भने ‘के खाएर बस्ने, घरभाडा तिर्ने पैसा पनि भएन, भाइरसलेभन्दा भोकमरीले मरिएला जस्तो भयो, त्यसैले घर हिँडेको ।’ काम गरेर कमाएको पैसा लकडाउनले गर्दा सकिएपछि घरमा हिँडेका उनलाई प्रहरीले आश्रयस्थलमा ल्याए पछि पासोमा परे जस्तो भएको बताउँछन् ।

आश्रय स्थलमा उनीहरु सहित १४ जना छन् । जिल्ला प्रहरी कार्यालय बागलुङको पहल र अनुरोधमा आश्रय स्थलमा उद्योग बाणिज्य सघं लगायतले सघाएको थियो । उनीहरुलाई प्रहरी कार्यालयकै पहलमा गोविन्दाज रेष्टुरेन्टबाट खाना उपलब्ध गराउने गरिएको छ ।

आश्रय स्थलमा रहेका बागलुङसँग सिमा जोडिएकालाई गाडी व्यवस्थापन गरेर पठाउने तयारी भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रवक्ता हेम केसीले जानकारी दिनुभयो । उहाँले टाढाकाहरुलाई केही समय यही व्यवस्थापन गरेर राख्ने बताउनुभयो । बिहिबार प्रहरीले आठ जनालाई क्वारेन्टाइनमा बस्ने गरि छोडेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *