कोरोना नियन्त्रणमा सहकारी क्षेत्रको योगदानको तथ्यांक संकलन गर्दै सहकारी बैंक

आदर्श अनलाईन, बागलुङ

राष्ट्रिय सहकारी बैंकले कोरोना संक्रमण नियन्त्रण, रोकथाम र उपचारमा देशभरका सहकारीहरुले गरेको योगदानको तथ्यांक संकलन गर्न थालेको छ । विश्वमा देखिएको कोरोना (कोभिड–१९) का बारेमा सहकारी क्षेत्रले सचेतना अभिवृद्धि गर्न लगायत नियन्त्रण, रोकथाम र उपचारमा गरेको योगदानको एकमुष्ट अभिलेखका लागि तथ्यांक संकलन अभियान थालिएको बैंकले जनाएको छ ।

सहकारी क्षेत्रले हरेक संकटमा योगदान गरेका छन, तर तिनको एकमुष्ट तथ्यांक नभएका कारण सहकारीको एकमुष्ट योगदान देखिएको छैन, बैंकका अध्यक्ष के.बी.उप्रेतीले भन्नुभयो–यस पटक हामीले सबै प्रकृतिका सहकारीले गरेको योगदानको एकमुष्ट तथ्यांक सार्वजनिक गर्र्दैछौ ।

बैंकले आफ्ना ४४ वटै शाखामार्फत तथ्यांक संकलन गर्न निर्देशन जारी गरी सकेको छ । बैंकका सञ्चालकहरु, उपसमिति, कर्मचारी लगायत सहकारीकर्मीहरुलाई तथ्यांक संकलनमा सहयोग गर्न आव्हान गरिएको अध्यक्ष उप्रेतीले जानकारी दिनुभयो ।

कोरोनाका कारण उत्पन्न संकटका बीच पनि स्वास्थ्य, कृषि, उपभोक्ता, दुध, सञ्चार, फोहोर व्यवस्थापन, वचत तथा ऋण लगायतका सहकारीहरुले राम्रो सहयोग र समन्वय गरेका छन्, तिनको तथ्यांक संकलन गर्न तथा थप योगदानका लागि प्रेरित गर्ने उद्देश्यले तथ्यांक संकलन अभियान थालिएको बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईले जानकारी दिनुभयो । बैंकका सञ्चालक र कर्मचारीहरुले कोरोना संक्रमणका कारण सरकारले जारी गरेको लकडाउन लगत्तैबाट तथ्यांक संकलन गर्न थालेको र हाल आएर सफ्टवेयर मार्फत सबै सहकारीकर्मीहरुले जानकारी गराउन सक्ने गरी अगाडि बढेको गुरागाईले बताउनुभयो । सहकारीहरुले नै कोरोना नियन्त्रण, रोकथाम तथा उपचारका लागि गरेको योगदानको बारेमा जानकारी दिनका लागि अनलाइन फाराम https://ncbl.coop/coopagainstcorona तयार गरेको छ । यो पेजमा गएर आफ्नो संस्थाले गरेको योगदानको बारेमा सबै सहकारीेले जानकारी गराउन सकिने बैंकले जनाएको छ । यो संगै सहकारी क्षेत्रको पछिल्लो आर्थिक तथा अन्य गतिविधि समेत जानकारी हुने जनाइएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *