कोरोना संक्रमण देखिएकी महिलाको अस्पतालमा निधन

काठमाडौं 
काभ्रेको धुलिखेल अस्पतालमा उपचारका लागि भर्ना भएकी एक महिलाको मृत्यु भएको छ।  

सिन्धुपाल्चोकको बाह्राविसेबाट बिहीबार धुलिखेल अस्पतालमा भर्ना भएकी महिलाको शुक्रबार साँझ उपचारका क्रममा निधन भएको हो। 

उनलाई हिजो श्वास फेर्न अप्ठ्यारो भएपछि भेन्टिलेटरमा राख्ने तयारी भइरहेका बेला निधन भएको अस्पताल स्रोतले जनाएको छ। अस्पताल स्रोतका अनुसार ती महिलामा कोरोनाको संक्रमण देखिएको छ।  श्वास फेर्न गाह्रो हुने लगायतका लक्षण देखिएपछि उनको स्वाब निकालेर  धुलिखेल अस्पतालमै पीसीआर परीक्षण गरिएको थियो। 

‘एक जना बिरामीको निधन भएको छ। उहाँको कोरोना परीक्षण पनि गरिएको छ। तर रिपोर्ट सिधैँ मन्त्रालय पठाइएको छ,’ अस्पतालका प्रवक्ता डा.सुमन ताम्रकारले भने, ‘उहाँको रिपोर्ट के छ भनेर हामी पनि अहिले ४ बजे हुने मन्त्रालयको प्रेस व्रिफिङ कुरेर बसेका छौँ।’

तर, स्वास्थ्य मन्त्रालयले ती महिलाको स्वाब धुलिखेल अस्पतालबाट मगाएर पुनः परीक्षणका लागि राष्ट्रिय जनश्वास्थ्य प्रयोगशाला टेकुमा पठाएको स्रोतले जनाएको छ।

‘धुलिखेलमा पीसीआर र आरडीटी दुवै रिपोर्ट पोजेटिभ आएको छ। तर पनि अझै रिकन्फर्म गर्न टेकुमा पनि स्वाब पठाइएको छ,’ धुलिखेल अस्पतालमा एक चिकित्सकले भने, ‘टेकुको रिपोर्ट मन्त्रालयले नै सार्वजनिक गर्नेछ।’

शुक्रबार निधन भएकी ती महिला अस्पतालमा श्वासप्रश्वासको समस्याका कारण भर्ना भएकी थिइन्। उनी आठ दिनअघि त्रिवि शिक्षण अस्पतालबाट डेलिभरी गराएर घर फर्किएकी थिइन्।

उनको शुक्रबार दिउँसो स्वाब संकलन गरेर कोरोना परीक्षण गरिएको थियो। धुलिखेल अस्पतालमा गरिएको पीसीआर परिक्षणको रिपोर्ट शनिबार पोजेटिभ आएको अस्पताल स्रोतले बतायो।

निधन भएकी महिलामा कोरोना पोजेटिभ देखिएपछि अहिले धुलिखेल अस्पताल सिल गरिएको छ। अहिले आकस्मिक कक्षका चिकित्सक, नर्स सबैको स्वाब कलेक्सन गरेर कोरोना परीक्षणको लागि पठाइएको छ। त्यसका साथै ति बिरामीको उपचारमा सहभागी सबै चिकित्सकलाई पनि अस्पतालमा छुट्टै राखेर स्वाब परीक्षण गरिएको छ।

‘शुक्रबार निधन भएकी महिलाको कोरोना रिर्पोट पोजेटिभ भएको छ,’ अस्पताल स्रोतले भन्यो, ‘तर त्यसको आधिकारी पुष्टि स्वास्थ्य मन्त्रालयले नै गर्ने भन्ने छ।’ काठमाडौं प्रेसबाट

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *