नेपालमा काेराेना संक्रमितको संख्या २९५ पुग्यो

काठमाडौं
नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण दुई जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार संक्रमितको संख्या भने २९५ पुगेको छ। 

आइतबार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा तीन जनामा कोरोना पुष्टि भएको हो। उनीहरु धनकुटाकी ३४, मोरङको विराटनगरकी २९ वर्षीया महिला र विराटनगरकै ३६ वर्षीय पुरुष छन्। उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ। 

स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म कोरोना जितेर ३६ जना डिस्चार्ज भएका छन्। मृत्यु भएका दुईमध्ये एक सिन्धुपाल्चोककी महिला हुन् भने अर्का बाँकेको नरैनापुरका युवक हुन्। सिन्धुपाल्चोककी मृतकको पशुपति आर्यघाटको विद्युतीय शवदाह गृहमा अन्त्यष्टि गरिएको छ भने युवकको अन्त्यष्टि गर्ने तयारी भइरहेको छ। 

कोरोना संक्रमण बढ्दै गएको र यसले नेपालमै मृत्युसमेत भएपछि सरकारले फेरि लकडाउन थप्ने तयारी गरेको छ। लकडाउनको विषयमा निर्णय गर्न अहिले मन्त्रिपरिषद् बसिरहेको छ। कोरोना भाइरस संक्रमण नियन्त्रण तथा रोकथाम समन्वय उच्चस्तरीय समितिले दुई सतासम्म लकडाउन लम्ब्याउन सिफारिस मन्त्रिपरिषद्लाई गरेको छ। यसअघि सरकारले गरेको लकडाउनको समय सोमबार रातिबाट सकिदै छ। 

सरकारले पहिलोपटक चैत ११ देखि १८ गतेसम्म लकडाउन गरेको थियो। त्यसपछि फेरि दोस्रोपटक एक हप्ता थपेर २५ चैतसम्मका लागि लम्ब्याइएको थियो। त्यसलाई निरन्तरता दिँदै वैशाख ३, त्यसपछि १२ दिन लकडाउनको अवधि थपेर वैशाख १५ र १० दिन थप गर्दै बैशाख २५ र पछिल्लो पटक जेठ ५ गतेसम्म लकडाउनको अवधि थप गरेको थियो। 

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *