बागलुङका ४ स्थानमा ८६ प्रि आइशोलेसन

डम्मर बुढा मगर, बागलुङ
बागलुङका विभिन्न स्थानमा ८६ बेडका प्रिआइशोलेसन निर्माण गरिने भएको छ ।

जिल्ला कमाण्ड पोष्ट बागलुको बिहिबार बसेको बैठकले बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङ, नरेठाँटी उप-स्वास्थ्य चौकी गलकोट, धौलागिरी बहुमुखी क्याम्पस बागलुङ र कुश्मीशेरा प्राथमिक स्वास्थ्य केन्द्र जैमिनीमा गरी ८६ बेडको प्रि-आइसोलेसन कक्ष निर्माण गर्ने निणर्य गरेको हो ।

बिहिबार कोरोना संक्रमण पुष्टि भएका १० जनालाई धौलागिरी अस्पतालको आइसोलेसनमा राखिने व्यवस्था मिलाइएको जिल्ला स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौंले दिनुभयो । १२ बेडको आइशोलेसन भएको अस्पतालमा १२ बेड थप गरि संक्रमितलाई राखिने उहाँको भनाई छ ।

अस्पतालको प्रसुति गृहलाई आइशोलेसन कक्ष बनाइएको धौलागिरी अस्पतालका सूचना अधिकारी तिर्थराज गौतमले जानकारी दिनुभयो । उहाँले प्रसुति गृहलाई पोषण पुनःस्थापन गृहमा स्थान्तरण गरि १२ बेडको आइशोलेशन थप गरिएको बताउनुभयो ।

यस अघि संक्रमितहरु बसेका १२ बेडका आइशोलेसनभन्दा केही फरक र त्यत्तिको राम्रो नहुने बताउनुभयो । पहिले तयार पारिएका सबै आइशोलेसन कक्षमा एटेच बाथरुमहरु छन् भने पछि निर्माण गरिएका १२ वटामा त्यस किसिमको सुविधा नभएको उहाँको भनाई छ ।

अस्पतालमा हाल २४ बेडको आइशोलेसन तयार भएका छन् । २४ बेड मध्ये १६ बेडमा संक्रमित रहेका छन् । अस्पतालमा थप ८ जना संक्रमित राख्न सक्ने क्षमता छ ।

बैठकले स्वास्थ्य अवस्था सामान्य रहेको संक्रमितलाई प्रि आइसोलेसनमा राख्ने र अवस्था जटिल बने र लक्षण देखा परेपछि मात्रै उपचारको लागि धौलागिरी अस्पतालमा ल्याउने निणर्य गरेको छ ।

स्वास्थ्य कार्यलय बागलुङका प्रमुख गुरौका अनुसार ढोरपाटन नगरपालिका, निसीखोला गाउँपालिका, तमानखोला गाउँपालिका र बडिगाड गाउँपालिकाको व्यवस्थापनमा बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा १२ बेड, बागलुङ नगरपालिका र काठेखोला गाउँपालिकाको व्यवस्थापनमा धौलागिरी बहुमुखी क्याम्पसमा ५० बेड, गलकोट नगरपालिका र ताराखोला गाउँपालिकाको व्यवस्थापनमा गलकोटको नरेठाँटी उप-स्वास्थ्य चौकीमा १२ बेड र जैमिनी नगरपालिका र बरेङ गाउँपालिकाको व्यवस्थापनमा कुश्मीशेरा प्राथमिक स्वास्थ्य केन्द्रमा १२ बेडको प्रिआइसोलेसन निर्माण गर्ने निणर्य भएको छ ।

बैठकले आइशोलेसन निर्माणको लागि सामाजिक विकास मन्त्रालय गण्डकी प्रदेशलाई बागलुङ नगरपालिका र काठेखोला गाउँपालिकाको लागि १० लाख, ढोरपाटन नगरपालिका, निसीखोला गाउँपालिका, तमानखोला गाउँपालिका र बडिगाड गाउँपालिकाका लागि ५ लाख, गलकोट नगरपालिका र ताराखोला गाउँपालिकालाई ५ लाख, जैमिनी नगरपालिका र बरेङ गाउँपालिकाका लागि ५ लाख रुपैयाँ उपलब्ध गराइदिन अनुरोध गर्ने निणर्य गरेको छ ।

बैठकले धौलागिरी बहुमुखी क्याम्पसलाई आइशोलेसन निर्माण गर्नका निम्ति पनि अनुरोध गरेको छ । योसँगै बैठकले बागलुङमा संचालित निजी अस्पतालहरु निलगिरी अस्पताललाई १५ बेड, मुक्तिनाथ अस्पताललाई १५ बेड र सफल पोलिक्लिनिकलाई १० बेड उपलब्ध गराउन अनुरोध गरेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *