क्वारेन्टिनकी युवतीसँग सुरक्षाकर्मी नै अँगालोमा बेरिएपछि…

डम्मर बुढा मगर, बागलुङ
जिल्लाको पश्चिम ढोरपाटन नगरपालिका स्थित बुर्तिबाङको उत्तरगंगा क्वारेन्टाइन प्रकरणले लकडाउनकै बीच बागलुङ तरंगित भएको छ ।

गत बुधबार राति भारतबाट आएर बुर्तिबाङ क्वारेन्टिनमा बसेकी युवतीसँग सुरक्षामा खटिएका नेपाली सेनाका जवान अँगालोमा बेरिएको घटना बाहिरिए पछि हलचल मच्चिएको हो ।

क्वारेन्टिनमा बसेका नागरिकको सुरक्षामा रहेका सुरक्षाकर्मीबाटै यस्तो कार्य भएको भन्दै सामाजिक सञ्जाल मार्फत आलोचना र कटाक्ष गरिएको छ । नगरपालिकाले निमाणर् गरेको उत्तरगंगा मावि क्वारेन्टिनमा ४२ जनाले आश्रय लिएको ढोरपाटन नगरपालिकाले जनाएको छ । जसमा ६ महिला पनि क्वारेन्टिनमा थिए । यो घटना बाहिरिए पछि युवतीलाई आप्mनै गाउँपालिका पठाइएको छ । उनी तमानखोला गाउँपालिकाकी हुन् ।

क्वारेन्टिन जस्तो संवेदनशिल ठाउँमा अवैध गतिविधि भएको घटना सार्वजनिक पछि नगरपालिका र गाउँपालिकाको समन्वयमा ती युवतीलाई तमानखोलामै पठाइएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रकाशसिंह भण्डारीले जानकारी दिनुभयो ।

उहाँले उनीहरु बीच टाढैबाट कुराकानी भएको तर विभिन्न संचार माध्यममा आए जस्तो चाही नभएको बताउनुभयो ।

‘केहि अस्वभाविक गतिविधि भएको थाहा पाए लगत्तै मैले यहाँबाट हाम्रा साथीहरु पठाएको हुँ, त्यस्तो आपत्तिजजनक अवस्थामा भेटिएको भन्ने कुरा गलत हो’ भण्डारीले भन्नुभयो ।

युवति १२ दिन अगाडी दार्जिलिङबाट बुर्तिबाङ आएकी थिइन् । उनीसँगै आएको एक समूहलाई उत्तरगंगा माविको क्वारेन्टिनमा राखिएको थियो । उनीहरु काँकडभित्ता नाका हुँदै आएका थिए । ढोरपाटन नगरपालिकाले उद्धार गरेर क्वारेन्टिनमा राखेको थियो ।

यसो भन्छिन् युवती
क्वारेन्टिनमा बस्दै आएर विवादित बनेकी युवतीले एक जना नेपाली सैनिकसँग फोनमा कुराकानी भएको तर त्यसरी सँगै नबसेको बताएकी छिन् ।

उनले सुरक्षाका निम्ति खटिएका एक जवानले आफूलाई केही दूरी तलबाट फोन गरेर ढोकामा उभिन भनेको र ढोकामा उभिएको देखे पछि क्वारेन्टिनमा बस्ने अरु युवाले हल्ला गरेको बताइन् ।

‘मलाई एक जना आर्मी दाईले फोन गर्नु हुन्थ्यो, त्यस राति १० बजे हामी शौचालय गएर आएका थियौँ, शौचालयबाट आउँदा त्यो दाइले तलबाट मलाई देख्नुभएछ र मलाई फोन गर्नुभयो, अनि मलाई त्यही उभिनु काम छ भन्नुभयो । अनि म बाहिरै ढोकामा उभिएँ,’ युवतिले भनिन् ‘उहाँले तलबाट मलाई हेर्दै फोन गर्नुभाथ्यो । अनि त्यतिकैमा यहाँ बस्ने केटाहरुले हल्ला गरेका हुन् ।’

उनले आफूहरु भारतबाट आएपछि क्वारेन्टिनमा बस्ने बेलामा ति सैनिक जवानले नम्बर मागेको र आफूले नम्बर दिएको बताइन् । त्यसपछि फोनमा कुराकानी हुन थालेको उनको भनाई छ ।

‘उहाँसँग म एकान्तमा भेट भएको पनि होइन, त्यस्तो नराम्रो गरेको पनि होइन, म त्यही ढोका निर उभिएको थिएँ, उहाँ तलबाट फोन गरि राख्नुभएको थियो, त्यस्तै एक मिटर तल हुनुहुन्थ्यो,’ युवतीले आदर्श अनलाईन सँग भनिन् ‘मैले जानु तपाईको साथीले थाहा पाए भने गाह्रो हुन्छ, यहाँ केटाहरुले थाहा पाए भने पनि क्वारेन्टिनमा बसेको बेला यस्तो गर्छन् भन्लान भन्दै थिएँ, उताबाट केटाहरुले झ्याप्पै देखेछ, त्यसपछि केटाहरुले को हो तपाई आर्मी हो ? आर्मी भएर यस्तो गर्न पाइन्छ भन्दा भन्दै हल्ला गरेका हुन् ।’

एकै ठाउँ बसेको देखेपछि प्रत्यक्षदर्शीलाई आर्मीको धम्की
युवतीसँगै एउटै क्वारेन्टिनमा बस्दै आएका एक युवाले आफ्नो नाम नखुलाउने सर्तमा उनीहरु राति ११ बजेको समयमा एकै ठाउँ देखेपछि हल्लाखल्ला भएको बताए ।

‘हामी राति ११ बजे बाहिर चुरोट खान निस्केका थियौँ, त्यतिबेला ती दुई जना अँध्यारो ठाउँमा एकै ठाउँ जोडिएर बसेका थिए,’ क्वारेन्टिनमै रहेका युवाले घटनाबारे भने, ‘यस्तो देखेपछि हामीले अरु साथीहरुलाई पनि भन्यौ अनि हल्ला भएको थियो ।’

उनले सुरक्षा दिन बसेको आर्मीले त्यस्तो गर्दा आफूहरुलाई पनि नराम्रो असर पर्ने भन्दै यस्तो गतिविधिले यहाँ क्वारेन्टिाइना राख्नुको औचित्यनै नभएकोे बताए । युवतीसँगै बसेको युवाहरुले देखेपछि ती आर्मी जवान भागेको र उल्टै आफूहरुलई धम्की समेत दिएको उनको भनाई छ ।

‘हामीहरुले देखेपछि भागेर तल पुग्यो, अल्ली तल पुगे पछि तिमीहरुलाई मैले एक-एक चिनेको छु भोली विहान देख्लास् भन्दै गयो’ ती युवाले आदर्श अनलाइनसँग भने, ‘त्यसपछि मैले केटीलाई को हो भनेर सोध्दा, उसले साथी हो भनेर ढाट्यो, क्वारेन्टिन बाहिर धेरै आर्मीहरु बसेको छ कसरी आयो भित्र भन्दा आर्मी दाई हो, तेल माग्न आएको हो भनेर जवाफ दियो ।’

उप-सेनानी थापा यसो भन्छन्
युवतीको सम्पर्कमा आएको जवानलाई छुट्टै क्वारेन्टाइनमा राखेको शत्रु मर्दन गुल्म ढोरपाटनका उप-सेनानी रिनबहादुर थापाले जानकारी दिनुभयो ।

उहाँले यस विषयमा विभागमा जानकारी गराएको भन्दै दोषी ठहर भएपछि विभागको निर्देशन अनुसार कारवाही गरिने बताउनुभयो । नागरिकको सुरक्षामा खटिएका सुरक्षाकर्मी नै यस्ता गलत कार्यमा उद्धत भए अब नागरिकले कसलाई भरोसा गर्ने ? अहिले सर्वत्र प्रश्न उठ्न थालेको छ । क्वारेन्टिनको सुरक्षा र संवेदनशिलता माथि पनि गम्भीर सवाल खडा भएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *