काठेखोला गाउँपालिकाको नीति तथा कार्यक्रमको लागि सुझाव प्रतिवेदन पेश

प्रोग्रेसिभ ईन्जिनियरिङ एशोसियसन नेपाल पिन गण्डकी प्रदेश समितिको बिशेष समन्वयमा प्रोग्रेसिभ ईन्जिनियरिङ एशोसियसन नेपाल पिन बागलुङ जिल्ला समितिले आज काठेखोला गाउँपालिकालाई आगामी आर्थिक बर्ष २०७७/७८को बार्षिक नीति तथा कार्यक्रममा समाबेश गर्न सकिने बुँदाहरु सहितको सुझाव प्रतिवेदन पेश गरेको छ । पिन जिल्ला समितिका अध्यक्ष बिमल आचार्य, मनोज शर्मा एवं बागलुङ जिल्लामा रहेका ईन्जिनियरहरुको बिशेष पहल एवं पिन गण्डकी प्रदेश समितिको विशेष समन्वयमा यो सुझाव प्रतिवेदन पेश गरिएको हो ।

प्रोग्रेसिभ ईन्जिनियरिङ एशोसियसन नेपाल गण्डकी प्रदेश समितिले यही मिति २०७७ साल जेठ ९ गते गण्डकी प्रदेश सरकार समक्ष समेत आगामी आर्थिक बर्ष २०७७/७८ को बार्षिक नीति तथा कार्यक्रममा समावेश गर्न सकिने संभावित नीति र कार्यक्रमहरुको बारेमा लिखित प्रतिवेदन समेत पेश गरेको थियो । समृद्ध नेपाल सुखी नेपाली अभियानलाई सफल बनाउन स्थानीय सरकार जनतासँग प्रत्यक्ष सम्बन्ध रहने महत्वपूणर् अभिभावक भएको सन्दर्भमा स्थानीय सरकारका नीति तथा कार्यक्रमहरुलाई प्रभावकारी ढंगबाट अगाडि बढाउँदा बिकास निर्माणका काम अगाडि बढ्न सक्ने भएकोले पिन गण्डकी प्रदेश समितिले गण्डकी प्रदेशमा संभव भएसम्मका स्थानीय सरकारहरुलाई आगामी बर्षको नीति तथा कार्यक्रममा रचनात्मक सुझाव पेश गर्न पहल गरिएको प्रोग्रेसिभ ईन्जिनियरिङ एशोसियसन नेपाल पिन गण्डकी प्रदेश ईञ्चार्ज खिमानन्द कँडेलले बताए ।
उक्त सुझाव पत्र काठेखोला गाउँपालिकाका अध्यक्ष श्री अमर बहादुर थापा एवं प्रमुख प्रशासकीय अधिकृत श्री खिम बहादुर बिकलाई हस्तान्तरण गरिएको छ । प्रोग्रेसिभ ईन्जिनियरिङ एशोसियसन नेपाल पिन बागलुङ जिल्ला समितिले विभिन्न क्षेत्रको दीगो बिकासको लागि पेश गरेका नीतिगत बुँदाहरु यस प्रकार रहेका छन् ।

स्वास्थ्य क्षेत्र एवं कोभिड १९ विरुद्धको अभियान
(१) बिरामीहरुलाई अस्पतालसम्म ओहोरदोहोर गर्न निशुल्क रुपमा एकीकृत एम्बुलेन्स सुविधा उपलब्ध गराउने ।
(२) दीर्घरोगीको लागि आवश्यक औषधि चिकित्सकको सिफारिसमा स्थानीय स्वास्थ्य चौकी मार्फत निशुल्क उपलब्ध गराउने व्यवस्था गर्ने ।
(३) धेरैजसो मानिसमा देखिने रोगहरुको नियमित जाँच -जस्तै सुगर, प्रेसर लगायत) गर्ने ब्यबस्था प्रत्यक स्वास्थ्य चौकीमा गर्ने ब्यवस्था मिलाउने ।
(४) मानिसको चाप धेरै हुने स्थानहरु -जस्तै : (अस्पताल, प्रहरी चौकी, स्वास्थ्य चौकी, वडा कार्यालय, बजार क्षेत्र) मा Foot Operated Hand Wash System को व्यवस्था गर्ने ।
(५) सुरक्षित मास्क, स्यानिटाईजर जस्ता व्यक्तिगत स्वास्थ्य सुरक्षासँग सम्बन्धित सामग्रीहरु सम्बन्धित वडामा रहेको स्वास्थ्य कार्यालयबाट जनताको घर घरमा पुर्याउने व्यवस्था मिलाउने ।
(६) यही आर्थिक बर्षमा काठेखोला गाउँपालिकामा न्यूनतम एउटा १५ शैयाको सामुदायिक अस्पतालको निर्माण गरी संचालनमा ल्याउने ।

सडक, यातायात तथा पूर्वाधार बिकास
(१) गाउँपालिकाको गौरवको योजनामा समावेश गरिएको बेलढुंगा, थामनेटा, गाजादह/धुरी सडकको ट्रयाक खोल्ने काम यही आर्थिक बर्षमा सम्पन्न गर्ने ।
(२) गाउँपालिका यातायात गुरुयोजना तयार गरी सो को आधारमा गाउँपालिका क्षेत्रमा भएका सडक (सम्भाबित अन्य यातायातका पूर्वाधारहरु समेत), भविष्यमा बनाउनु पर्ने सडकको मापदण्ड निर्धारण गरी गुरुयोजनाको प्राथमिकता अनुसार निर्माण तथा स्तरोन्नती गर्दै जाने ।
(३) योजनाबद्ध स्थानीय विकासको सुरुवात गरिनु पर्दछ । मेरो गाउँपालिका यति बर्ष पछि यस्तो बन्छ, यस्तो सुविधा प्राप्त हुन्छ भन्ने जानकारी सबैले प्राप्त गर्नु पर्दछ।यसैको आधारमा पूर्वाधार निर्माणलाई प्राथमिकता प्रदान गरिनु पर्दछ ।
(४) मर्मतसम्भार पहिले भन्ने सिद्धान्तका आधारमा सडक लगायतका अन्य पूर्वाधार मर्मत गर्न स्थानीयको सहभागीतामा मर्मतसमूह (Road Maintenance Group: RMG) गठन गरी सो मार्फत गर्ने गराउने गर्नु पर्दछ । यसले गर्दा धेरै जनाले रोजगारी प्राप्त गर्न सक्छन् । यस पद्धतिलाई लघु उद्यमको रुपमा विकास समेत गर्न सकिन्छ ।
(५) हरेक वडाहरुमा सामाजिक एवं आर्थिक रुपमा पछाडि परेको एवं विपन्न समुदायलाई प्राथमिकतामा राख्दै न्यूनतम एउटा गाउँलाई नमूना गाउँ घोषणा गरी काठेखोला गाउँपालिकाका सम्पूणर् गाउँहरुमा व्यवस्थित आवास निर्माण, खानेपानी, विद्युत, सडक लगायतका पूर्वाधारहरुको बिकास गर्ने नीति अबलम्बन गर्ने ।
(६) काठेखोला गाउँपालिका चक्रपथ सडकलाई संघीय सरकार वा प्रदेश सरकार माताहतमा लगि आगामी दुई बर्षभित्रमा कालोपत्रे गर्ने ।
(७) आफ्नै वडा कार्यालय र स्वास्थ्य चौकी नभएका वडाहरुमा व्यवस्थित भवन एवं अन्य पूर्वाधार निर्माण गर्ने ।
(८) गाउँपालिकाका क्षेत्रमा रहेको उच्च भोल्टेजमा विद्युत प्रबाह हुने प्रसारण लाईनलाई भूमिगत प्रसारण लाईनमा परिणत गरी विद्युतीय जोखिमलाई न्यूनीकरण गर्ने ।
(८) प्रयाप्त जग्गाको उपलब्धता सहित गाउँपालिकाको आफ्नो व्यवस्थित कार्यालय भवन निर्माण गर्ने ।

कृषि, सहकारी तथा गरिबी निवारण
(१) “ब्यबसायिक कृषि पहिलो प्राथमिकता, समृद्ध काठेखोला आजको आवश्यकता” मुल नाराका साथ गाई, भैंसी, बाख्रापालन लगायतको लागि गोठ, खोर निर्माण वा भकारो सुधार, तरकारी खेतीको लागि निश्चित अनुदानमा टनेलको उपलब्धता, किवी खेती विस्तारको लागि अनुदानमा विरुवा एवं फलामे पोल वा कंक्रिटको पोलको व्यवस्था, माछापालनको लागि पोखरी निर्माण, माहुरीपालनको लागि घारको उपलब्धता,सुन्तला, कागती, केरा लगायतका खेतीको लागि बिरुवाको उपलब्धता एवं पोखरी निर्माण, यान्त्रिक हलो, कृषि औजार जस्ता उपकरण र पूर्वाधार निर्माणको लागि अनुदानको ब्यवस्था मिलाउने ।
(२) गाउँपालिका क्षेत्रमा उपयोगमा नआएका घरबारी र खेत क्षेत्रको पहिचान गरी पालिका भित्रका हरेक निजी जग्गाहरुलाई उत्पादनमा जोड्ने नीति अबलम्बन गर्ने । यसको लागि निम्नानुसारका कदमहरु चालौं ।
(क) बाँझो भएर प्रयोगहीन भएका जग्गाको पहिचान गरौं ।
(ख) घरमा बस्ने मान्छे नभएर फालिएका घरबारीको पहिचान गरौं ।
(ग) यस्ता जग्गामा संभब भएसम्म सम्बन्धित जग्गा धनीलाई नै ब्यवसायिक कृषिको लागि प्रेरित गरौं ।
(घ) सम्बन्धित घरधनी र जग्गाधनीले जग्गाको संरक्षण गर्न नसकेको अवस्थामा यस्ता घरजग्गामा गरीब परिवारहरुलाई निशुल्क बस्न र खेतीपाती गर्न दिने नीति बनाऔं ।
यो नीतिबाट जनताको जीवनस्तर उकास्न महत्वपूणर् उपलब्धी हाँसिल हुनेछ ।
(३) हरेक वडाहरुमा कृषि चिस्यान एवं कृषि उपज भण्डारण केन्द्रको स्थापना गर्ने ।
(४) ग्रामीण क्षेत्रका बस्तीहरुको योजनाबद्ध बिकासको लागि “एक घर एक करेसाबारी र एक घर एक फुलबारी” निर्माण गर्ने गरी भवन निर्माण संहिता लागू गर्ने ।
(५) ब्यवसायिक कृषि एवं लघु उद्योग संचालन गर्न सक्ने स्थानीय यूवाहरुलाई निश्चित प्रतिशत ब्याज नगरपालिकाले अनुदानमा उपलब्ध गराई बढीमा ५ प्रतिशत ब्याजमा ब्यबसायिक क्रृण उपलब्ध गराउने कार्यक्रम संचालन गर्ने ।
(६) स्थानीय उत्पादनहरुलाई बजार (बागलुङ बजार, बेनी, गल्कोट, बुर्तिबाङ, पोखरा, काठमांडौ वा अन्य) बजारहरुमा पुर्याउनको लागि कृषि एम्बुलेन्स सेवाको शुरुवात गर्ने ।
(७) काठेखोलाको दायाँ बायाँको क्षेत्रमा ब्यापक रुपमा सुन्तला तथा कागती खेतीको बिस्तार गर्ने ।
(८) कृषकलाई आवश्यक पर्ने तरकारी तथा फलफूलका बीउ बिजन, विरुवा स्थानीय सरकारले उपलब्ध गराउने ।
(९) लघुवित्त संस्थाहरुले अत्यन्त न्यून ब्याजदरमा प्राप्त गर्ने क्रृण एकोहोरो अंकको ब्याजदरमा नबढ्ने गरी ग्रामीण क्षेत्रमा परिचालन गर्नुपर्ने व्यवस्था मिलाउने ।
(१०) गाउँपालिकाभित्र बाँझो रहेका जमिनहरुको पहिचान गरी यस्ता जमिनहरुमा सम्बन्धित वडाका विपन्न परिवारलाई सामुहिक खेतीपातीको लागि निशुल्क रुपमा जग्गा उपलब्ध गराउन नीतिगत पहल गर्ने ।
(११) गाउँपालिका भित्र रहेका विभिन्न अक्षय कोषहरु अनिवार्य रुपले बैंक तथा वित्तिय संस्थामा राख्नुपर्ने र यस्ता रकमहरुबाट रकम खर्च गर्ने प्रष्ट अक्षय कोष परिचालन कार्यविधि निर्माण गरी सोही अनुसार गर्ने व्यवस्था मिलाउने ।
(१२) गाउँमा बाँझिएका जमिनहरुलाई उपयोग गर्न वडा वा गाउँपालिकाको स्वामित्व रहने गरी सामुदायिक ट्याक्टर सेवा संचालन गर्ने ।

संस्कृति, पर्यटन तथा वातावरण संरक्षण
(१) नगरपालिकाको एकीकृत पर्यटन गुरुयोजना निर्माण गर्ने ।
(२) “पर्यटन पूर्वाधार, समृद्धिको मूल आधार” नाराका साथ हरेक वडाहरुमा पर्यटन पूर्वाधारहरुको निर्माण गर्दै जाने नीति अबलम्बन गरी सम्पूणर् पर्यटन क्षेत्रका सरोकारवालाहरु एवं छिमेकी स्थानीय सरकारहरुसँगको सहकार्यमा एकीकृत रुपमा पर्यटन क्षेत्रको विकास गर्ने नीति अबलम्बन गर्ने ।
(३) गाउँपालिका भित्र रहेका मेला, पर्व, महोत्सव, स्थानीय कला र संस्कृति एवं परम्परालाई जोगाउन गाउँपालिका स्तरीय एकीकृत स्थानीय कला तथा संस्कृति प्रवद्र्धन कोषको स्थापना गर्ने ।
(४) गाउँपालिकाका विभिन्न वडाहरुमा “एक वडा एक ब्यबस्थित पार्क” निर्माणको अभियान संचालन गर्ने ।
(५) पर्यटनको व्यापक संभावना बोकेर पनि पूर्वाधारहरु बन्न नसकेका शिवधुरी, झुलेनीको धुरी एवं थाप्लेको धुरीमा पर्यटन पूर्वाधारहरुको बिकास गर्ने ।
(६) पूर्वी बागलुङ उपत्यका अन्र्तगत बागलुङ नगरपालिका र काठेखोला गाउँपालिकामा प्रशस्त राष्ट्रिय स्तरमा पहिचान बनाएका पर्यटकीय गन्तव्यहरु रहेकोले यस्ता पर्यटकीय गन्तव्यहरुलाई जोड्ने गरी कालिका मन्दिर, पञ्चकोट, भीमापोखरा दरबार, धम्जा, घोडाबाँधे, थामनेटा,गाजादह, भकुण्डे, भैरवस्थान मन्दिर, बलेवा एअरपोर्ट हुँदै पुनः बागलुङ बजार जोड्ने पर्यटकीय सडक निर्माणको लागि प्रदेश र केन्द्र सरकारसँग निरन्तर पहल गर्ने ।
(७) काठेखोला गाउँपालिका ५ बिहुँमा रहेको त्रिपुरेश्वर महादेव मन्दिरमा संस्कृत उच्च माध्यमिक विद्यालय स्थापना गर्ने ।
(८) काठेखोला गाउँपालिकामा स्थापित भएका सामुदायिक होमस्टेहरुमा पर्यटनमैत्री पूर्वाधारहरुको निरन्तर बिकास गर्दै लैजाने ।
(९) ऐतिहासिक कालखण्डमा नेपालको पहाडी क्षेत्रको सामरिक महत्वको बागलुङ, बिहुँ, गल्कोट, बुर्तिबाङ, रुकुम पदमार्ग अन्र्तगत काठखोला गाउँपालिकाको खहरे, सुल्डाँडा, ईनारपानी, हटिया, देउराली, दहपानी, घोडाबाँधे रगेनी पैदलमार्गलाई संरक्षण गर्ने नीति अबलम्बन गर्ने ।
(१०) काठेखोला गाउँपालिका क्षेत्रको पर्यटन बिकासको लागि पर्यटन क्षेत्रमा स्थापित भएका स्थानीय सरकारहरुसँग भगिनी सम्बन्ध स्थापना गरी ब्यापक प्रचार प्रसार गर्ने नीति अबलम्बन गर्ने ।

सूचना तथा प्रविधि क्षेत्र
(१) Digitize काठेखोला गाउँपालिकाको अबधारणा ल्याउने र पहिलो चरणमा सम्पूणर् नागरिकलाई अनलाईन मार्फत न्युनतम आधारभुत सेवा प्रदान गर्ने ।
(२) भ्रष्टाचार अन्त्यका लागि सम्पूणर् कारोबार पूणर् रुपमा digital बनाउने ।
(३) स्थानीय सरकारले आफ्ना जनतामा स्थानीय तहभित्र भैरहेका बिकासका कामहरु, सम्बन्धित क्षेत्रमा काम प्राप्त गरेका ठेकेदार कम्पनीहरुको बारेमा समयमा नै प्रष्ट सूचना प्रवाह गराउन रेडिया/टेलिभिजन कार्यक्रम संचालन गर्ने ।
(४) केवल ईन्टरनेट तथा बिद्युतका तारहरुलाई भूमिगत (Underground) गर्ने नीति अबलम्बन गर्ने ।
(५) स्थानीय तहमा रहेका तथ्याङ्क, विवरणहरुलाई डिजिटलाईज गर्नु पर्दछ । QR Scanner सहितको परिचय पत्र प्रदान गर्न सकेको खण्डमा समेत स्थानीय तहबाट प्रवाह हुने सेवा सुविधालाई प्रभाबकारी बनाउन, स्थानीयको पहिचान सहजै गर्न सकिन्छ ।
(५) ड्रोन सर्भे मार्फत स्थानीयतहको डिजिटलाईज नक्साङ्कन गरी भूमी बर्गिकरण गर्न सकिन्छ । नक्साको माध्यमबाट जग्गाको बर्गीकरण गरी सोही अनुसार विकास गर्न सकिन्छ ।

प्राकृतिक साधन स्रोतको उपयोग एवं सरंक्षण
(१) गाउँपालिका अन्र्तगत खोला किनारा, सार्वजनिक संघ संस्था, गुठी, सामुदायिक बन, सार्वजनिक बन क्षेत्रलाई उत्पादनमूलक कृषिमा उपयोग गर्ने नीति अबलम्बन गर्ने ।
(२) गाउँपालिका क्षेत्र भित्र तामाखानी, फलामखानी एवं अन्य खानीहरुहरुको संभाव्यता अध्ययन गर्ने ।
(३) भुकम्प प्रतिरोधी घरहरु निर्माणको लागि हरेक घरधुरीहरुलाई सामुदायिक बनसँगको सहकार्यमा न्यून मुल्यमा काठको उपलब्धता गराउने र सार्वजनिक जग्गा एवं बन क्षेत्रको तोकिएको स्थानबाट निशुल्क रुपमा ढुंगा उपलब्ध गराउने ।
(४) काठेखोला गाउँपालिकामा कृषि, पर्यटन, उद्योल संचालन, खानीजन्य उत्खनन् जस्ता क्षेत्रमा लगानी भित्राउन विशेष पहल गर्ने र यस्ता उद्योगहरुको लागि जग्गाको सहज उपलब्धता, सडक निर्माण, खानेपानीको व्यवस्था, विद्युतको व्यवस्था एवं विशेष करछुटको व्यवस्था सहित गाउँपालिकामा व्यापक लगानी भित्राउन पहल गर्ने ।
(५) गाउँपालिका क्षेत्र भित्र भएका सम्पूणर् सामुदायिक बनहरुको पुनःसंरचना गरी अनिवार्य रुपमा उपभोक्ता समितिको चयन , बार्षिक लेखा परीक्षण र सार्वजनिक सुनुवाई गर्नैपर्ने नीतिगत व्यवस्था गर्ने ।
(६) पर्यटन प्रवद्र्धन गर्नको लागि लालीगुँरास, खर्सु एवं लोपोन्मुख प्रजातीका रुखहरुलाई काट्न नपाईने नियम लागू गर्ने ।
(७) समग्र काठेखोला गाउँपालिकालाई खुला चिडियाखानाको रुपमा बिकास गर्न कालिज, मृग, बँदेल लगायत कुनै पनि जंगली जीवजन्तुको शिकार गर्न प्रतिबन्ध लगाउने ।
यूवा स्वरोजगार एवं रोजगारी अभिबृद्धि
(१) गाउँमा सफल रुपमा व्यवसाय संचालन गर्न सक्ने क्षमता भएका बेरोजगार यूवा र वैदेशिक रोजगारी गुमाएर गाउँमा आएका यूवाहरुलाई जिरो प्रतिशत व्याजमा वा अत्यन्त न्यून ब्याजदर (३ वा ४ प्रतिशत) मा रु. ५ लाखसम्म बैंक तथा वित्तिय संस्थाबाट ब्यबसायिक क्रृण उपलब्धता गराउने ।
(२) स्थानीय सीप, पूँजी र प्रविधिलाई प्रोत्साहन गर्न प्रदेश तथा स्थानीय तहको सहकार्यमा उद्यमशीलता प्रवर्दन केन्द्र स्थापना गरी उद्यमशीलतामा जोड दिने ।
(३) आ.ब.०७७।७८ लाई कृषि रोजगार बर्षको रुपमा घोषणा गरि विशेषगरी विदेशबाट फर्किएका युवा र सीमा क्षेत्रका कृषकलाई विशेष सुविधा सहितको राहतका प्याकेज उपलब्ध गराउने ।
(४) खाली रहेको सार्वजनिक जग्गाको पहिचान र एकिन गरि २०।३० बर्षको लागि बैदेशिक रोजगारीबाट फर्केका युवा तथा उद्यम गर्न चाहने व्यक्तिलाई लिजमा दिई कृषिमा संलग्न हुन प्रोत्साहित गर्ने । यसका लागि सार्वजनिक जग्गा र सडक अधिकार क्षेत्रभित्रको जग्गाको उपभोग मार्फत विपन्न बर्गलाई आयमुलक कार्यमा लगाउन सकिन्छ ।
(५) स्थानीयले सामूहिक रुपमा उत्पादन गर्ने कृषि उत्पादनको मात्राको आधारमा विकास र सेवा सूविधाका प्याकेज घोषणा गरेको खण्डमा सामूहिक कृषि पेशामा लाग्न प्रोत्साहित हुने ।
(५) स्थानीय क्षेत्रमा स्थायी बसोबास भई देश तथा विदेशमा रही विज्ञता, अनुभब, सिप हासील गरेका व्यक्तिहरुको पहिचान गरी उनीहरुलाई आफ्नो दक्षता अनुसारको स्वयँम सेवा सहयोगको लागि अनुरोध गरिनु पर्दछ । अझ यस कार्यलाई प्रभावकारी बनाउन स्वय सेवा बर्ष घोषणा गर्न सकिन्छ ।
(६) स्थानीय युवाहरुले उत्पादन गरेको वस्तु तथा सेवा अनिवार्य रुपमा स्थानीय सरकारले उपयोग गर्ने र बजार विस्तारका लागि सहजीकरण गरिदिने ।
(७) लगानीकर्ताहरुलाई आकर्षित गर्न लगानीकर्ताहरुलाई करछुट, निशुल्क रुपमा संभाव्यता अध्ययन एवं उद्योग स्थापना हुने स्थानसम्म खानेपानी, सडक, विद्युत लगायतका सुविधा स्थानीय सरकारले उपलब्ध गराउने ग्यारेण्टी गर्ने ।

शिक्षा क्षेत्र तथा खेलकुद क्षेत्र
(१) गाउँपालिका भित्रका शैक्षिक संस्थाहरुको शैक्षिक गुणस्तरमा अभिबृद्धि गर्दै सम्पूणर् अभिभावकहरुलाई आफ्ना छोराछोरीहरुलाई सरकारी विद्यालयमा पढ्न प्रेरित गर्ने अभियान संचालन गर्ने ।
(२) विद्यालयहरुको गाउँ गाउँमा भैरहेका बिकास निर्माण एवं काठेखोला गाउँपालिकाको रणनीतिक योजनाहरुको बारेमा कक्षाहरु संचालन गर्ने । गाउँपालिकाको बिकासको सन्दर्भलाई पाठ्यक्रममा समावेश गर्ने ।
(३) स्थानीय तह स्तरमा नै अध्ययन तथा अनुसन्धानलाई प्रबद्र्धन गर्ने नीति अबलम्बन गर्ने ।
(४) गाउँपालिकाका विभिन्न स्थानहरुमा व्यवस्थित पार्क र खेलकुद मैदानहरुको निर्माण गर्ने ।
रचनात्मक, जनमुखी र समावेशी नीति तथा कार्यक्रम मार्फत अगाडि बढ्दा नेपाल सरकारले अगाडि सारेको समृद्ध नेपाल सुखी नेपाली अभियान सफल हुने विश्वास लिएको साथै संभव भएसम्म गण्डकी प्रदेशका धेरै भन्दा धेरै स्थानीय सरकार समक्ष रचनात्मक नीति तथा कार्यक्रमहरुको लागि सुझाव पेश गर्ने संगठनले तयारी गरेको समेत पिन गण्डकी प्रदेश समितिका अध्यक्ष विकास वाग्ले बताए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *