नगरपालिकाले भत्कायो सल्लाह बिना क्याम्पसको पर्खाल

बागलुङ
स्वतन्त्र विद्यार्थी युनियन धौलागिरि बहुमुखी क्याम्पस बागलुङले क्याम्पसका सरोकारवाला पक्षसंग छलफल र सरसल्लाह नै नगरी क्याम्पसमा लगाएका पर्खाल भत्काईएको प्रति आपत्ती जनाएको छ ।
स्वतन्त्र विद्यार्थी युनियन धौलागिरि बहुमुखी क्याम्पस बागलुङका अध्यक्ष मनबहादुर थापा ‘मनिष’ले एक विज्ञप्ती जारी गरी क्याम्पसको उपल्लो हातामा रहेको पर्खाल भत्काएकोमा आपत्ती जनाएका हुन् । नाली निर्माणको नाममा बागलुङ नगरपालिका वडा नम्बर २ ले कुनै समन्वय र सल्लाह नगरी क्याम्पसको पर्खाल भत्काएको विज्ञप्तीमा उल्लेख छ ।

‘लामो समय देखि लकडाउनको कारण शैक्षिक संस्थाहरु संगै धौलागिरि बहुमुखी क्याम्पसको पठनपाठन समेत वन्द रहेको अवस्था छ,’थापाद्वारा जारी विज्ञप्तीमा देखिएको छ,‘यस्तो अवस्थामा बागलुङ नगरपालिका वडा नं १ र २ मा अवस्थित धौलागिरि बहुमुखी क्याम्पसमा मिति २०७७ जेष्ठ २४ गते बिना जानकारी क्याम्पसको उपल्लो हातामा रहेको पर्खाल भत्काइएको प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।’ खुल्ला रुपमा रहेको क्याम्पस क्षेत्रलाई प्राज्ञिक बनाउने गरी २०६२ सालदेखि स्वतन्त्र विद्यार्थी युनियनकै अगुवाईमा निर्माण भएको पर्खाल बानपा—२ ले क्याम्पसको सहमति बिना नै उपल्लो हातातर्फ भत्काएर नाली निर्माण थालेको विज्ञप्तीमा उल्लेख छ ।

जारी विज्ञप्तीमा आफुहरु नाली निर्माणको विपक्षमा नभए पनि क्याम्पसको सरोकार पक्षसंग सहमति बिना पर्खाल भत्काउनु आपत्ती जनक रहेको उल्लेख छ । ‘हामीले लगातार रुपमा सहमति र मापदण्ड अनुसार निर्माण गर्न भनेका छौं र पनि एकलौटी रुपमा अघि बढ्न खोज्नु नगरपालिकाको मिचाहा प्रवृति भएको हाम्रो निष्कर्ष छ,’ विज्ञप्तीमा उल्लेख छ । क्याम्पसको तल्लो पट्टीबाट मध्येपहाडी लोकमार्ग र माथिपट्टीबाट नगरपालिका च्याप्दै जाँदा क्याम्पस हाता साँघुरिदै गएको स्ववियुको भनाई छ ।

‘तल्लो हाताको बीचबाट लोकमार्ग प्रवेश गरेपछि क्याम्पसका संरचनाहरु कम्पाउण्डको बीचमा बनाउनुपर्दा स्वरुप नै कुरुप बन्दै गईरहेको छ,’ थापाले लेखेका छन्,‘लोकमार्गको रुटलाई छेउबाट लैजान पहल पनि नगर्ने र उपल्लो हातामा पनि पर्खाल भत्काएर क्याम्पसको जग्गा नाली मिच्नुले क्याम्पस चौतर्फी रुपमा आक्रमणमा परेको देखिन्छ । यो हामी सबैको चिन्ताको विषय हो ।’ संरक्षण गनुपर्ने पक्षले नै क्याम्पसको जग्गा मिच्दै मिच्दै जानु चिन्ताजनक विषय भएको उनको भनाई छ । क्याम्पसको विषयमा हुने यस्तो खाले मिचाहा र हेपाहा प्रवृतिलाई तुरुन्त रोक्न र क्याम्पस प्रशासन संगै, त्रिभुवन विश्वविद्यालय र मातहतका निकायले समेत विश्वविद्यालयको आफ्नो सम्पत्तीलाई टुलुटुलु हेरेर होइन संरक्षण गरेर राख्न जोडदार माग गर्दछौ,’ विज्ञप्तीमा उल्लेख छ ।

क्याम्पसले आफ्नो लालपुर्जामा रहेको पुरा जग्गाको नापजाँच गरी विभिन्न बहानामा गुमेको जग्गा सार्वजनिक गरी संरक्षण गर्न माग गर्दै आग्रहलाई नगरपालिका र क्याम्पसले वेबास्ता गरी अगाडी बढ्न खोजे हामीले क्याम्पसको सम्पत्ती रक्षाको लागि थप कदम चालिने विज्ञप्तीमा जनाईएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *