बागलुङमा संक्रमित बढ्दै, अझै सुस्त तयारी

डम्मर बुढा मगर, बागलुङ
बागलुङमा दिनप्रति दिन कोरोना भाइसर संक्रमितको संख्या बढ्दै गएपछि व्यवस्थापनमा समस्या आएको छ ।

कोरोना रिपोर्ट ढिला आउँदा सबै नागरिकलाई क्वारेन्टिनमै व्यवस्थापन गर्दै आए पनि संक्रमण पुष्टि हुदै गएपछि थप व्यवस्थापनमा चुनौति हुने देखिएको छ ।

जिल्ला कमाण्ड पोस्टले केही हप्ता अगाडी जिल्लाको विभिन्न चार स्थानमा प्रि आइसोलेसन निर्माण गर्ने निर्णय गरे पनि उक्त निर्णय अझै सम्म कार्यान्वयनमा आएको पाइएको छैन ।

पश्चिम बागलुङका चार पालिका ढोरपाटन नगरपालिका, निसीखोला गाउँपालिका, तमानखोला गाउँपालिका र बडिगाड गाउँपालिकाको लागि बुर्तिबाङ स्वास्थ्य केन्द्रमा २० वेडको प्रि आइसोलेसन निर्माण गरिएको छ । गलकोट नगरपालिकामा अहिले निर्माण कार्य जारी छ भने जैमिनीमा भने अझै निर्माण शुरु हुन सकेको छैन ।

बुर्तिबाङमा २० वेडको बनाउने भनिए पनि चार पालिकाको सक्रियताले २५ वेडको नै प्रि आइसोलेसन निर्माण भएको छ । ५ जना महिला र २० पुरुष राख्न सकिने गरि प्रि आइसोलेसन निर्माण भएको छ ।

गलकोट नगरपालिका र ताराखोला गाउँपालिकाका संक्रमित राख्नका लागि गलकोटको नरेठाँटी स्वास्थ्य चौकीमा २० वेडको निर्माण गर्ने भनिए पनि त्यसको काम पनि अझै सकिएको छैन ।
जिल्ला कमाण्ड पोस्ट संयोजक तथा प्रमुख जिल्ला अधिकारी गौलोचन सैंजूले गलकोटमा प्रि आइसोलेसन निर्माणको अन्तिम चरणका पुगेको बताउनुभयो ।

काठेखोला गाउँपालिका र बागलुङ नगरपालिकाको समन्वयमा धौलागिरी बहुमुखी क्याम्पसका ५० वेडको प्रि आइसोलेसन निर्णय हुँदाको केही दिनमै निर्माण गरिएको थियो ।

बरेङ गाउँपालिका र जैमिनी नगरपालिकाको समन्वयमा जैमिनीमा २० वेडको प्रि आइसोलेसन निर्माण गर्ने भनिए पनि अझै सम्म पनि कहाँ बनाउने भन्ने विषयमा टुङ्गो छैन ।

निर्णय गर्ने तर प्रभावकारी ढंगले कार्यान्वयनमा नल्याउँदा थप समस्या आउने देखिन्छ । संक्रमण दर फैलिदो क्रममा भए पनि जैमिनीमा प्रि आइसोलेसन निर्माण गर्ने तर्फ जिल्ला कमाण्ड पोस्ट, जैमिनी नगरपालिका र बरेङ गाउँपालिकाको त्यति धेरै गम्भीर नदेखिएको स्थानीयको गुनासो छ ।

हाल धौलागिरी अस्पतालमा १० संक्रमित रहेका छन् जहाँ २४ जना राख्न सक्ने क्षमता छ । धौैलागिरी बहुमुखी क्याम्पस ५० वेड तयार रहेकोमा ४२ संक्रमितलाई राखिएको छ । बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा २५ बेड रहेकोमा २२ जना संक्रमित छन् । १२ जना निको भएर घर फर्किएका छन् ।

जिल्लामा यो समाचार तयार पार्दासम्म संक्रमितको संख्या ११७ पुगेको छ । सम्बन्धित निकायको कमजोर तयारीले थप समस्या आइ पर्ने देखिन्छ । तत्काल कमाण्ड पोष्टको निर्णय अनुसार प्रि आइसोलेसन समयमै निर्माण गर्न सकिएन भने संक्रमितलाई क्वारेन्टिनमै राख्नु पर्ने अवस्था देखिएको छ । यसले गर्दा थप अन्य क्वारेन्टिनमा बसेका नागरिकहरुलाई पनि संक्रमण हुने जोखिम बढ्छ ।

प्रमुख जिल्ला अधिकारी सैंजूले अहिले सम्म संक्रमितलाई जिल्ला भर निमार्ण गरिएका प्रि आइसोलेशनमा राखिएको बताउनुभयो । उहाँले कोरोना संक्रमित थपिदै गए यस बारेमा सोच्नु पर्ने भन्दै अन्य विकल्पको लागि छलफल गर्नु पर्ने बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *