खानेपानी समस्यामा बागलुङबासी, दीर्घकालीन समाधानमा सम्बन्धित निकायको ध्यान गएन

डम्मर बुढा मगर, बागलुङ ।
बागलुङ बजारमा खानेपानीको हाहाकार मच्चिएको छ । पहिरोले विभिन्न स्थानमा खानेपानीको पाइप बगाउँदा बजारमा पानी आपुर्ति हुन नसकेको हो ।

आठ दिनदेखि बजारमा खानेपानी आपुर्ति नहुँदा स्थानीयहरु आक्रोसित भएका छन् । खानेपानी संस्थाको लापरवाहीले बजारबासीहरुले समस्या भोगि रहेको उनीहरुको आरोप छ ।

खानेपानीको जोहो गर्नका लागि बाजरबासीहरु तित्याङ, उपल्लाचौर, कुँडुले लगायतका स्थानमा पुग्न बाध्य भएका छन् ।

धारामा पानी नआउँदा जारको पानी किनेर खाना पकाउने र लुगा धुने गरेको हल्लनचोकी लक्ष्मी बास्ताकोटीले बताउनुभयो ।

उहाँले लामो समयदेखि पानी नआउँदा भरेर राखेको सबै पानी सकिएको भन्दै किनेरै प्रयोग गर्नु पर्ने बाध्यता रहेको बताउनुभयो । बास्ताकोटीले सानो बच्चा हुदाँ टाढा पानी बोक्न जान सक्ने अवस्था नभएको भन्दै किनेकै पानीले सबै काम गर्नु पर्ने बताउनुभयो ।

‘मेरो सानो बच्चा छ, पानी नआउँदा उसको सबै कपडाहरु थुप्रिएको छ, किनेको पानीले कति धुनु,’ उहाँले भन्नुभयो ‘किनेको पानीले बच्चाको कपडा धुन सक्ने अवस्था पनि रहेन, कहिले आउने हो धारामा पानी कुन्नी ?’

स्थानीय मनप्रसाद शेरचनले धेरै दिनसम्म पानी नआउँदा खाना पकाउनदेखि शौच गर्न समेत जारको किनेरको पानी प्रयोग गर्नु परेको बताउनुभयो ।

उहाँले खाना पकाउनको लागि किनेकै पानी प्रयोग गरे पनि अन्य सरसफाइ गर्न गाह्रो भएको बताउनुभयो ।

‘आज थुप्रै दिन भयो पानी नआएको खाने प्रयोग गर्ने पानी त बुहारीले उपल्लाचौर गएर ल्याउछ, टाढाबाट ल्याएको पानी खाना पकाउनमै ठिक्क हुन्छ,’ उहाँले भन्नुभयो ‘बजारमै पानीको हाहाकार भएपछि किन्ने पानी पनि पाइएन ।’

बागलुङ नगर खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष हरिप्रसाद श्रेष्ठले पहिरोले पाइप बगाएको स्थानमा निर्माण गरे पनि पाइपमा पानी संचालन नभएको बताउनुभयो ।

उहाँले पाइपमा पानी संचालन भनएपछि विभिन्न स्थानमा नेपाली सेनाका जवानहरु परिचालन गरि पाइप चेकजाँच गरि रहेको बताउनुभयो । पहिरोले पाइप बगाउँदा पाइमा ढुङ्गा पसेपछि पानी संचालन हुन नसकेको अनुमान गरिएको छ ।

अध्यक्ष श्रेष्ठले पानी आपुर्ति गर्नको लागि आफूहरु निरन्तर लागि रहेको भन्दै पाइपको बिचबिचमा खोलेर हेरिरहेको त्यो पत्ता लागेपछि आजै भोलीमा पानी आउने बताउनुभयो ।

‘हामी पनि अचम्मित भयौँ, यस्तो समस्या त कहिल्यै भएको थिएन, बाढि पहिरोले पाइप त बगाउँथ्यो तर यस्तो भएको थिएन,’ उहाँले भन्नुभयो ‘पाइपमा ढुङ्गा अड्किएको हो की, पाइमा पानी संचालन भयो भने त पानी आजै आउँछ ।’

बागलुङ बजारमा हरेक वर्षातको समयमा खानेपानी अवरुद्ध हुँदै आएको छ । पानी अवरुद्ध हुँदै आए पनि सम्बन्धित निकायले यसको दीर्यकालीन समाधान गर्न सकेको छैन । दीर्घकालीन रुपमा समाधानको खोजी भएन भने बागलुङ बजारबासी यसै गरि खानेपानीको समस्या भोगी रहनुपर्ने छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *