उपभोक्ता भन्छन् : ‘समितिलाई रस, नगरलाई न्यानो, जनतालाई धमिलो पानी’

सुवास गौतम, बागलुङ
बागलुङ नगरपालिका भित्र वितरण भइरहेको खानेपानी आपूर्ती तथा गुणस्तरको सम्बन्धमा बागलुङ नगरपालिकाले चासो दिन थालेको छ । बागलुङ नगरपालिकाको आइतबार सम्पन्न सातौं नगरसभामा बागलुङ नगरपालिका–२ का वडा अध्यक्ष जीवन आर्चायले सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएपछि नगरपालिकाले सरोकारवाला निकायलाई बोलाएर छलफल गरेको थियो ।

नगरकार्यपालिका सदस्यको रोहबरमा नगर प्रमुख, नगर उप–प्रमुख, नगर खानेपानीका पदाधिकारी तथा सरोकारवाला निकायसँग छलफल गरिएको बागलुङ नगरपालिकाले जानकारी दिएको छ । छलफलका क्रममा कानून व्यवसायी बद्रिप्रसाद शर्माले सरोकारवाला प्रति लक्षित गर्दै ‘समितिलाई रस, नगरपालिकालाई न्यानो र जनतालाई धमिलो पानी’ कहिले सम्म भनेर प्रश्न गर्नुभयो । उहाँले जनताको मौलिक हकमा रहेको शुद्ध खानेपानी आपूर्तिमा भइरहेको समस्यामा नगरपालिकाले हाल सम्म कुनै चासो नदिएको भन्दै ‘समितिलाई त रस नै होला, नगरलाई न्यानो नभए सम्म अहिलेसम्म खानेपानी संस्थालाई किन दबाव दिइएन ? पक्कै न्यानो भएर होला ।’ उहाँले ढिलै भए पनि नगरपालिकाले खानेपानीको समस्या समाधानका लागि गरेको पहल जायज भएको बताउनुभयो ।

छलफलमा खानेपानीका बिषयमा रुद्र महत, राम शर्मा, देवबहादुर श्रेष्ठ, डिल्लीराज शर्मा, भरत पुरी, कृष्ण बहादुर केसी, तारानाथ आचार्य, रणसिंह बोहोरा लगायतले नगर खानेपानी संस्थाले बिधि सम्मत तरिकाले संस्था सञ्चालन नभएको, आर्थिक अनियमितता, अपारदर्शिता भएको, बजारको खानेपानीको बिषयमा तत्काल र दीर्घकालिन समाधानमा गाम्भीर्यता नदेखाएको, लेखा समितिलाई सक्रिय नबनाएको, मरेका मान्छेको नाममा साधारणसभाको पुस्तिकामा हस्ताक्षर गरिएको, गुणस्तरहिन काम गर्ने निर्माण कम्पनीलाई अवैधानिक तरिकाले भुक्तानी दिएको भन्दै आक्रोश व्यक्त गरेका थिए ।

आर्थिक अनियमितता भएको भन्दै राजिनामा दिनुभएको खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका कोषाध्यक्ष रामप्रसाद शर्माले आफुले अवैध रुपमा कसैलाई पैसा दिन नसक्ने भन्दै राजिनामा दिएको बताउनुभयो । कार्यक्रममा नेकपा बागलुङ नगर कमिटिका अध्यक्ष धनबहादुर परियार, नेपाली कांग्रेसका नेता वसन्त कुमार श्रेष्ठ र राष्ट्रिय जनमोर्चाका तर्फवाट अध्यक्ष अमर थापाले सबै मिलेर गुणस्तरिय खानेपानी वितरण गर्नुपर्नेमा जोड दिनुभएको थियो । छलफलमा उठेका प्रश्नमा जवाफ दिँदै नगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष हरिप्रसाद श्रेष्ठले खानेपानीको पाइप डिजाईन गलत स्थानमा भएकाले पहिरोले पाइप बगाएको, फिल्टर गर्ने ट्याङ्कीको विकल्प, अर्को ट्याङ्की नहुँदा शुद्धिकरण गर्न समस्या भएकोे बताउनुभयो ।

नगरको सात बुँदे निर्देशन
– संस्था विधान सम्मत सञ्चालन
– जवाफदेही र पारदर्शिता
– खानेपानी शुद्धिकरण
– समस्याका विषयमा उपभोक्ता र सरोकारवालालाई सूसुचित
– वर्षातको समयमा वैकल्पिक व्यवस्था
– नगरपालिकाद्वारा खानेपानीको अनुगमन/सुपरिवेक्षण
– हिउँदे सभा सम्म खानेपानीको कार्यविधि ल्याउने

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *