बागलुङ बजारका घर–घरमा कौसी खेती अभियान

आदर्श अनलाइन, बागलुङ
बजार क्षेत्रमा जग्गाको अभावमा तरकारी उत्पादनमा अभाव झेलिरहेका बागलुङ बजार भित्र पर्ने वडामा कौसी खेती अभियानालाई तिव्र बनाइएको छ । गत वर्ष देखि बागलुङ नगरपालिकाको वडा नम्बर १, २ मा कौसी खेती गर्न घरधनीलाई प्रोत्साहित गर्दै मल र बिउ दिन थालेको छ । बागलुङ नगरपालिक–१ रामरेखा वडा कार्यालयले यस वर्ष कौसी खेती प्रर्बद्धन गर्नका लागि रु. दुई लाख विनियोजन गरेर घर–घरमै तरकारीको बिउ वितरण थालेको छ । कौसीमै मौसम तथा बेमौसमी तरकारी उत्पादन गराई तरकारीमा आत्मनिर्भर गराउने उद्देश्यले कौसी खेतीलाई प्रर्बद्धन गर्न थालिएको बागलुङ नगरपालिका–१ का वडा अध्यक्ष दुर्गाबहादुर बोहोराले जानकारी दिनुभयो ।
“वडा कार्यालयले गत वर्ष पनि झण्डै तीन लाख बराबरको कौसी खेती विस्तारका लागि टोल विकास संस्था अनुसार बिउँ, पाइप तथा झार वितरण गरेका थियौं”वडा अध्यक्ष बोहोराले भन्नुभयो “अहिले वडाका प्रत्येक घर–घरमै पुगेर तरकारीको बिउँ वितरण गरिरहेका छौ ।” वडा कार्यालयले गार्डन जातको सिमी, कोरियन जातको मूला, मार्फ जातको रायो, गोल्डेन जातको बन्दा, चाइनिज जातको धनिया र हाइब्रिड हरियो जातको बोडी वितरण गरेको छ ।

नेपालका बजार क्षेत्रमा जग्गाको अभाव संगै कौसी खेतीको विस्तार भएपछि स्थानीय तहले कौसी खेती प्रर्बद्धनात्मक कार्यक्रम थालेको बागलुङ नगरपालिका–२ का वडा अध्यक्ष जीवन आचार्यले जानकारी दिनुभयो । वडा कार्यालयले यस वर्ष कौसी खेती प्रर्बद्धनका तालिम सञ्चालन गर्न रु.एक लाख ५० हजार र बिउ विजन तथा जैविक मल वितरण गर्नका लागि रु.४ लाख बिनियोजन गरिएको थियो ।

जस अनुसार कोरोना भाइरस कोभिड–१९ का कारण तालिम स्थगन गरेपनि जैविक मल तथा बिउ विजन वितरण गरिसकेको र केही बिरुवा बितरणको कार्य बाँकी रहेको वडा अध्यक्ष आचार्यले जानकारी दिनुभयो । “बजारमा जमिनमा तरकारी खेती गर्न सम्भव छैन” वडा अध्यक्ष आचार्यले भन्नुभयो “कम्तिमा घरमा बस्नेलाई कौसी खेतीले मौसम तथा बेमौसमी तरकारी उत्पादन गरी खान पुगोस् भन्ने मात्रै हो ।” शहरी क्षेत्रमा पछिल्लो समय कौसी खेती फस्टाउदै जान समेत थालेको छ । आफ्नो छतमा पलाएको सिमि बोडी, खुर्सानी, धनीया तथा टमाटरले कम्तिमा आँफूलाई पुग्ने गरी कौसी खेती गर्दै आएको बागलुङ नगरपालिका–१ रामरेखा निवासी घरधनी माया शर्माले बताउनुभयो ।

घर निर्माण गर्दा सुरक्षित तरिकाले क्यारी निर्माण गरेमा कौसी खेतीका लागि सहज हुने उहाँको भनाई रहेको छ । महंगोमा विषादीयुक्त तरकारी खरिद गर्न बाध्य बजारवासीलाई कौसी खेती प्रर्बद्धनात्मक कार्यक्रमले तरकारीमा आत्मनिर्भर गराउन धेरथोर सहयोग पु¥याउने बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले जानकारी दिनुभयो ।

प्रमुख पौडेलका अनुसार नगरका १४ वडा मध्ये बजार क्षेत्र भएको वडामा कौसी खेतीलाई मध्यनजर गरेपनि अन्य वडामा भने व्यवसायीक तरकारी, सुन्तला, चिया लगायतका खेतीलाई प्राथमिकतामा राखिदै आएको छ । नगरपालिकाले हरेक वर्ष वडाको संभावना हेरी चिया, सुन्तला, लिचि तथा अनुदानमा तरकारी खेतीका लागि टनेल समेत वितरण गर्दै आएको बागलुङ नगरपालिका कृषि शाखाले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *