विदेशबाट आएका आरडिटी पछि घर, समुदायमा त्रास

डम्मर बुढा मगर, बागलुङ
जिल्लाको १० पालिका मध्ये निसीखोला गाउँपालिकामा भारतबाट आउनेको संख्या अधिक छ । जिल्लाभर करिब २२ सयको हाराहारीमा नागरिक आएकोमा निसीखोला गाउँपालिकामा मात्रै ८ सय बढि आएका छन् ।

यसरी आएर क्वारेन्टिन बसेका नागरिकलाई पीसीआर परीक्षण ढिलाई भए पछि गाउँपालिकाले धमाधम आरडिटी गर्दै घर पठाएको छ । आरडिटी गरि घर पठाइ रहँदा गाउँ वस्ती र स्थानीय नागरिक भने त्रसित भएका छन् । गाउँपालिकाले भारतबाट आएका नागरिकलाई १४ दिनदेखि २० दिनसम्म क्वारेन्टिनमा राखेर एक हप्ता घर बस्न भन्दै पठाइएको गाउँपालिकाको भनाई छ ।

पीसीआर नगरी घर पठाइए पछि समुदायमा कोरोना संक्रमणको जोखिम र त्रास बढेको भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन् । क्वारेन्टिनमा बसेर घर फर्किएकाहरु गाउँमा खुलेआम डुल्न थालेका छन् ।

भारतबाट आएका नागरिकहरु समुदायमा घुलमिल गर्न थालेपछि आफूहरुलाई संक्रमण हुन्छ भन्ने चिन्ताले सताएको निसीखोला गाउँपालिका वडा नम्बर ५ का एक स्थानीयले आफ्नो नाम नखुलाउने सर्तमा आदर्श अनलानलाई बताए ।

‘भारतबाट आएर क्वोन्टिनमा बसेकाहरु अहिले गाउँमा खुलेआम डुलिरहेका छन्, यसले गर्दा कतै हामीलाई पनि कोरोना लाग्ने हो की भन्ने डर छ,’ उनले भने ‘सरकारले कोरोना जाँच गर्ने भने पनि स्थानीय सरकारले आरडिटी जाँच गरेर छोडेको छ, गाउँमा कोरोनाको निकै डर भएको छ ।’

उनले गाउँमा भारतबाट आएकाहरु जथाभावी रुपमा हिँड्दा स्थानीयहरु त्रसित भएको भन्दै कथमकदाचित कसैलाई संक्रमण देखिए समुदायमा भयावह अवस्था आउन सक्ने बताए ।

निसीखोला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत इश्वरलाल शाक्यले क्वारेन्टिनबाट घर पठाएकालाई गाउँपालिकाले आवश्यक स्वास्थ्य परामर्श दिएर दुई साता होम क्वारेन्टिनमा बस्ने गरी घर पठाएको बताउनुभयो ।

उहाँले संक्रमणको जोखिमलाई मध्यनजर गर्दै वडा स्तरबाट समन्वय गरेर उनीहरुको निगरानी गरिरहेको बताउनुभयो ।

‘भारतबाट आएकाहरु धेरै समय गाउँपालिकाले निर्माण गरेको क्वारेन्टिनमा बस्नुभयो, परीक्षणको लागि पठाएको स्वाबको पनि २०/२२ दिनसम्म रिपोर्ट आएन,’ उहाँले भन्नुभयो ‘समयमा रिपोर्ट नआउँदा उनीहरुको व्यवस्थापनमा निकै समस्या भयो र सरकारको गाइड लाइन अनुसार केही नागरिकलाई आरडिटी परीक्षण गरेर पठायौँ ।’

समुदायका नागरिकहरुमा कसैलाई कोरोनाको लक्षण देखिएमा तत्काल पहिचान गरि त्यसको परीक्षण गर्ने व्यवस्था गाउँपालिकाले गरेको शाक्यको भनाई छ ।

गाउँपालिकामा हालसम्म ७ जनामा कोरोना पोजेटिभ देखिएकोमा ५ जनाको पीसीआर रिपोर्ट नेगेटिभ आए पछि होम क्वारेन्टिनमा राखिएको छ भने २ जना आइसोलेसनमा छन् ।

गाउँपालिकाले भारत तथा तेस्रो मुलुकबाट आएका ७ सय ९० जना मध्ये ३ सय ८३ जनाको पीसीआर परीक्षण गरेको छ भने ३ सय ५३ जनाको आरडिटी परीक्षण गरि घर पठाइएको प्रमुख प्रशासकीय अधिकृत शाक्यको भनाई छ ।

अहिले क्वारेन्टिनमा ४७ जना रहेको र केही दिनमै उनीहरुको कोरोना परीक्षण गरिने उहाँको भनाई छ । कोरोना रोकथामको लागि गाउँपालिकाले विभिन्न योजना बनाएर लागि रहेको शाक्यको भनाई छ ।

गण्डकी प्रदेशमै बागलुङ कोरोना संक्रमणमा अगाडी छ । जिल्ला भर हालसम्म संक्रमितको संख्या २ सय १८ पुगेको छ । जस मध्ये १ सय ७८ जना निको भएर घर फर्किएका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *