व्यवस्थापन तयारीः बागलुङका सबै स्थानीय तहमा ‘क्विक रेस्पोन्स टिम’

आदर्श अनलाइन, बागलुङ
लगातारको वर्षाका कारण नेपालमा बाढी पहिरोको घटना बढ्दै जान थालेपछि बागलुङ जिल्लामा सर्तकता अपनाउन थालिएको छ । सम्भावित प्राकृतिक प्रकोपको घटना नियन्त्रण, रोकथाम गर्न र तत्कालै बाढी पहिरो गएमा उद्दार तथा पुर्नस्थापनका लागि जुट्न बागलुङ जिल्लाका १० वटै स्थानीय तहमा क्विक रेस्पोन्स टिम गठन गरिने भएको छ ।

जिल्ला प्रशासन कार्यालय बागलुङमा गत आइतवार गते बसेको पालिका प्रमुख सहितको सरोकारवालाको बैठकले जिल्लामा हुन सक्ने बाढी, पहिरो तथा विपद्का घटनालाई नियन्त्रण तथा नियामक बनाउनका लागि जिल्लाका सबै स्थानीय तहमा सुरक्षा निकाय, स्वास्थ्य, जनप्रतिनिधि र कर्मचारी सहितको ‘क्विक रेस्पोन्स टिम’ गठन गर्ने निर्णय गरिएको हो ।

जिल्ला तहमा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्ला विपद् व्यवस्थापन समिति छ । सोही समितिले विपद् व्यवस्थापनमा चुस्त ढंगले काम गर्नका लागि प्रत्येक पालिकामा क्विक रेस्पोन्स टिम गठन गर्न निर्देश गरेको जिल्ला प्रशासन कार्यालय बागलुङका सूचना अधिकारी धिरेन्द्रराज पन्तले जानकारी दिनुभयो । ‘हामीले विपद् व्यवस्थापनका लागि पूर्व सचेतता अपनाउन थालेका छौ’ पन्तले भन्नुभयो,‘स्थानीय तहले क्विक रेस्पोन्स गठन प्रक्रियामा हुनुहुन्छ, जतिसक्दो चाँडो भनेका छौं ।’ जिल्ला प्रशासन कार्यालयले जिल्ला प्रहरी कार्यालय, नेपाली सेना, सशस्त्र प्रहरी वल लगायतका सुरक्षा निकायलाई विपद् व्यवस्थापनका लागि २ लाख बराबरको सामग्री समेत खरिद गर्न थालेको पन्तको भनाई छ ।

जिल्ला प्रशासनले कोरोना कहर बीच प्राकृतिक प्रकोप बढ्न सक्ने भन्दै तत्काल उद्दार तथा राहतका लागि सरोकारवाला निकायलाई सचेत समेत गराएको छ । जिल्ला प्रशासनले लाइफ लाइन सडकका रुपमा रहेको मध्यपहाडी पुष्पलाल राजमार्ग र कालिगण्डकी करिडोरलाई नियमित सञ्चालनका लागि आयोजना तथा नेपाली सेनालाई परिचालन गर्ने भएको छ । विपद् व्यवस्थापनका लागि आवश्यक पर्ने डोजर, स्काईभेटर, एम्बुलेन्स, दमकल लगायतका स्रोत साधन तत्कालै पठाउन मिल्ने गरी तयारी अवस्थामा राख्ने र यसका लागि सडक डिभिजन, अस्पताल तथा आयोजना कार्यालयलाई निर्देशन गरेको छ ।

विपद्का घटना भएमा सुत्केरीको तत्कालै उद्दार गर्नका लागि ८५ वटा वडामै हेलिप्याड बनाउन सेनाको प्राविधिक सहयोग लिने, सम्भावित जोखिमपूर्ण स्थानलाई पहिचान गर्ने, राहतका लागि फूड बैंक स्थापना गर्ने, उपकरण तथा औषधीको जाहो गर्ने, एकद्वार प्रणली मार्फत राहत वितरण गर्ने निर्णय समेत भएको छ । मध्यपहाडी पुष्पलाल लोकमार्गको बोक्से गैरा, तुरतुरे, काठेखोला र गलकोट लगायतको स्थानमा सर्तकता अपनाउन आग्रह गरिएको छ ।

मध्यपहाडी पुष्पलाल लोकमार्ग अवरुद्ध हुन नदिनका लागि विभिन्न स्थानमा ठूला औजार राखिएको आयोजना पर्वत कार्यालयका प्रमुख आशिष थापाले जानकारी दिनुभयो । उहाँले वर्खाको समयमा पहिरो गए पनि तत्कालै एकतर्फी यातायात सञ्चालनका लागि व्यवस्था मिलाएको जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *