पहिरो पीडित भन्छन् : व्यवस्थापनपछि मात्रै खानेपानी

आदर्श अनलाइन, बागलुङ
जिल्ला सदरमुकाममा खानेपानी आपूर्तिको समस्या बढ्दो छ । तर, वर्षायाम सँगै आउने प्राकृतिक प्रकोप त खानेपानी संस्थाका लागि चूनौतीको बिषय त हुँदै हो । त्यसमा वर्षात् सँगै खानेपानीको पाइप फुटेका कारण पहिरो जाँदा घर, खेत समेत जोखिममा परेको छ ।

हाल खानेपानीको पाईप सहित बगाएको पहिरोले बागलुङ नगरपालिका–३ बोक्से बोक्सेमा तीन र काठेखोला गाउँपालिका वडा नम्बर ६ दोविल्लामा एक घर पहिरोको उच्च जोखिममा परेको हो ।

बोक्सेमा पहिरोका कारण पाइप फुटेर घर माथि पहिरो गएका कारण रातभर जाग्राम बस्ने बाध्यता रहेको पीडित गिता रेग्मीले गुनासो गर्नुभयो । ‘हिउँदमै पहिरो व्यवस्थापनका लागि पटक–पटक भन्दा बागलुङ नगर खानेपानी समितिले बेवास्ता गरेर बस्यो, हाम्रो माग र सुझावको कुनै सुनुवाई भएन’ रेग्मीले भन्नुभयो ‘अहिले बर्खामा पाइप फुटे पछि दौडधुप गर्न थालिएको छ । तर, तत्काल काम गरेर समस्या हल हुने र जोखिम टर्ने खालको सम्भावना देखिदैन ।’ पहिरो व्यवस्थापन विना खानेपानी वितरण गर्न नदिने स्थानीयको भनाई छ । यसमा संस्थाले गम्भीरतापूर्वक सरोकारवाला सँग छलफल गरेर पहिरो रोकथाम सहित खानेपानी आपुर्तिको उपर्युक्त विकल्प तयार गर्नुपर्ने बताउनुभयो ।

खानेपानी पटक–पटक फुट्दा आफ्नो घर जोखिममा परेको काठेखोला गाउँपालिका–६ रामप्रसाद गौतमले गुनासो गर्नुभयो । ‘उहाँले पहिला त्यस्तो पाइप फुटेको कमै मात्रामा सुन्थ्यौं’ गौतमले भन्नुभयो ‘अहिलेको नयाँ आयोजनाको पाइप फुट्दा फुटेको पाइपबाट आएको पानीले पहिरो जाने गरेको छ ।’

आफुहरु खानेपानी अवरोध गर्ने पक्षमा नभए पनि खानेपानीको पाइपकै कारण घर,खेत र ज्यान समेत जोखिममा परेको बिषयमा संस्थाले खेलवाड गर्न नहुने स्थानीय बताउँछन् । अहिले तत्काल पाइप बगाएको दुवै स्थानमा पाइप मर्मतको कार्य थाले पनि बागलुङ बजार नजिकैको बोक्से गैरामा भौगोलिक जटिलताको कारण मर्मतमा समस्या भएको बागलुङ नगर खानेपानी संस्थाका अध्यक्ष हरिप्रसाद श्रेष्ठ बताउँनुहुन्छ । यसमा घर जोखिममा रहेका र बागलुङ नगर खानेपानीका उपभोक्तालाई पनि पानी बितरण गर्न सकिने गरी आवश्यक र उपर्युक्त विकल्पका लागि समिति प्रयासरत रहेको उहाँको भनाई छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *