राष्ट्रिय गौरवको ‘लाइफ लाइन’ सडक छियाछिया

आदर्श अनलाइन, बागलुङ

जिल्लाको ‘लाइफ लाइन’ सडकको रुपमा रहेका मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ–बुर्तिवाङ खण्डको कालोपत्रे भत्किएर पूर्ववत अवस्थामा पुगेको छ ।

राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको लोकमार्ग वर्षात्को कारण बाढी पहिरोले कतै भासिने र कतै कालोपत्रे उप्काउने र पुरिने गरेका छन् ।

बागलुङ बजार देखि घोडाबाँधे खण्डको २५ किलोमिटर सडक कालो पत्र हुन नसक्दा यात्रुले सास्ती भोगिरहेका छन् । त्यस बाहेकको अधिकांश खण्ड कालोपत्रे भए पनि घोडाबाँधे देखि वुर्तिवाङ पुग्ने सडक कतै भासिने, कतै चर्किने, कतै पहिरो जाँदा निकै जोखिमपूर्ण यात्रा गर्न यात्रु बाध्य छन् ।

अविरल वर्षाका कारण लोकमार्गको बागलुङ–बुर्तिवाङ खण्डमा सडक माथिबाट ठाउँ–ठाउँमा पहिरो खस्ने गरेको छ । अत्याधिक वर्षाका कारण लोकमार्गको बागलुङ नगरपालिकाको बोक्से देखि काठेखोला, गलकोट, बडिगाड, ढोरपाटन र निसीखोलाका बिभिन्न स्थानमा पहिरो जाने, भासिने, ढुङ्गा खस्ने, कालोपत्र बगाएर कच्ची सडककै अवस्थामा पुगे पछि लोकमार्गको यात्रा जोखिम र सकसपूर्ण बनेको छ ।

प्राकृतिक रुपमा भन्दा मानवीय लापरवाहीका काराण लोकमार्ग छिया–छिया बन्दै जान थालेको मध्यपहाडी पुष्पलाल लोकमार्ग आयोजना कार्यालय पर्वतका प्रमुख आशिष थापाले बताउनुभयो । ‘लोकमार्ग जोगाउने नागरिकको पनि दायित्व हो’ आयोजना प्रमुख थापाले भन्नुभयो ‘लोकमार्गबाट जताततै अनावश्यक रुपमा शाखा सडक अनुमति बिनै निर्माण गर्दा लोकमार्ग छियाछिया बन्दै गएको हो ।’

प्राकृतिक रुपमा भन्दा ठूलो विपत्ति मानवीय गल्तीका कारण निम्तिएको भन्दै लोकमार्गलाई स्थानीय तहले समेत जोगाउने दायित्व हुने उहाँको भनाई छ । लाइफ लाइन सडक माथि स्थानीय तह र नागरिकको खेलवाडका कारण लोकमार्गको कालोपत्रे जोगाउन कठिन भएको थापा बताउनुहुन्छ । समस्या भएका स्थानीय तहमा अनुमति बिना शाखा सडक निर्माण नगर्न पत्र समेत पठाउदै आए पनि स्थानीय तहले पत्र बुझ्नै नमानेको थापाको गुनासो छ । लोकमार्गको अनुमति मागेमा प्राविधिक रुपमा आयोजना कार्यालयले सघाउने बताउदै आएको छ ।

‘कालोपत्रे नभएको स्थानमा त नागरिकलाई सास्ती हुने नै भयो, कालोपत्रे भएका स्थानमा समेत जनताले सास्ती खेप्नुमा शाखा सडक मुख्य जिम्मेवार छ’ उहाँले भन्नुभयो ‘लोकमार्ग माथी र तल प्राविधिक मुल्यांकन विनै सडक खन्दा लोकमार्ग नै धरापमा परिरहेको आयोजनाको गुनासो छ । मध्यपहाडी लोकमार्गको खास गरी कालोपत्रे भइसकेको गलकोट, बडिगाड र ढोरपाटनमा बढी सडक भत्किएको आयोजनाको दावी छ । गलकोटको दरमखोला छेउ, आगाँखेत, रिघा, बडिगाड गाउँपालिकाको राक्से, जैवर म्याल खोला, खाला बजार, भुजुङे, बालुवा, ढोरपाटन नगरपालिकाको तुततुरे, खोल्टुकोट लगायतको स्थानमा माथिबाट आएको पहिरो, शाखा सडकको भेलका कारण लोकमार्ग खतरामा परेकोे छ ।

आवश्यकभन्दा बढी सडक खनेका कारण समस्या सिर्जना हुन थालेको बागलुङको बडिगाड गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाइजाले बताउनुभयो । ‘शुरुमा हामी पनि अलिकति महत्वकांक्षी भएर सडक निर्माण गरेकै हो, शुरुमा प्राविधिक ज्ञानको समेत अभाव भयो’ अध्यक्ष पाइजाले भन्नुभयो ‘लोकमार्ग आयोजनाले समेत अलि पहिलेनै स्थानीय तह सँग यथेष्ट समन्वय र नागरिकमा समेत सचेतना जगाउन सक्नुपथ्र्योे,त्यहाँ पनि केहि कमजोरी भएकै छ । अब पनि समन्वय गरेर लोकमार्ग र अरु सडकको सुरक्षा दिर्घकालिन हिसावले समस्या नदोहारिने गरि काम गर्न जरुरी छ ।’ गाउँपालिकाले अब निर्माण गर्ने बाटोमा भने मध्यपहाडी लोकमार्गसँग समन्वय गरी निर्माण गर्ने अध्यक्ष पाइजाले जानकारी दिनुभयो । लोकमार्गले समेत दिर्घकालिन रुमा टिक्ने गरी गुणस्तरिय हिसावले सडक निर्माण गर्न सक्नु पर्नेमा उहाँको जोड छ ।

वर्षात्का कारण बागलुङ–बुर्तिवाङ खण्डको ९२ किलोमिटर सडकमा मात्र दुई दर्जन भन्दा बढी स्थानमा पहिरो र कयां स्थानमा शाखा सडकबाट बगेर आएको बाढी पहिरोका कारण लोकमार्गमा बढि क्षति पुगेको यात्रुको गुनासो छ । बागलुङ बजार देखि बुर्तिवाङ तीन घण्टामा पुग्न सकिने सडकमा अहिले ६÷७ घण्टा लाग्ने सवारी चालक भरत गौतमले गुनासो गर्नुभयो ।

मध्यपहाडी पुष्पलाल लोकमार्ग सडक खण्ड माथिबाट खनिएका ग्रामिण सडकका कारण लोकमार्ग उच्च जोखिममा परेको बडिगाड गाउँपालिका–७ खाल बजारका रविन्द्र श्रेष्ठले बताउनुभयो । ‘नाली विनाको ग्रामिण सडकले जम्मा गरेको भल सोझै लोकमार्गमा आउँछ, लोकमार्गले बनाएको सानो संरचनाले थेग्न सक्दैन अनि जलमग्न हुन्छ, लोकमार्गनै बगाउने गरेको छ’, उहाँले भन्नुभयो ‘वर्षात शुरु भएसंगै मध्यपहाडी लोकमार्ग दर्जनौ पटक अवरुद्ध भई सकेको छ । अब यसमा ढिलै भए पनि सरोकारवाला निकायले सोच्नुपर्छ ।’

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *