बागलुङका स्वास्थ्यकर्मीलाई ९६ लाख जोखिम भत्ता

आदर्श अनलाइन, बागलुङ
विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड–१९)का कारण नेपालमा धेरै स्वास्थ्यकर्मीको योगदान प्रशंसनीय छ । कोरोना संक्रमितको उपचार र रोकथामका लागि खटिएका बागलुङका स्वास्थ्यकर्मीले झण्डै एक करोड जोखिम भत्ता पाउने भएका छन् ।

अग्रभागमा खटिएका स्वास्थ्यकर्मीलाई प्रोत्साहन स्वरुप गण्डकी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले धौलागिरी अस्पताल बागलुङ मार्फत वितरण गर्न रु.९१ लाख र स्वास्थ्य कार्यालय बागलुङ मार्फत वितरण गर्नका लागि रु. पाँच लाख गरी रु. ९६ लाख जोखिम भत्ता निकासा गरेको हो ।

कोरोना संक्रमितको उपचार गराईराखेको धौलागिरी अस्पताल र स्वास्थ्य कार्यालय मार्फत वितरण गर्नका जोखिम भत्ता निकासा भएर आएकोे धौलागिरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. शैलेन्द्र बि. पोखरेलले जानकारी दिनुभयो ।

गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयले अस्पतालको खातामा जोखिम भत्ता स्वरुप रु. ९१ लाख १३ हजार र स्वास्थ्य कार्यालय बागलुङको खातामा रु. पाँच लाख रकम निकासा गरी पठाएको डा. पोखरेलको भनाई रहेको छ । “कोरोना संक्रमणको उपचार तथा अन्य क्षेत्रमा जोखिम मोलेर खटिएका स्वास्थ्यकर्मीका लागि वितरण गर्न भनेर रकम पठाएको छ ।” डा.पोखरेलले भन्नुभयो “जोखिम भत्ता वितरणको कार्यविधि अनुसार अहिले तथ्याङ्क संकलन गरिरहेका छौं, छिट्टै वितरण गरिनेछ ।”

बागलुङ जिल्लाभरका आईसोलेसनको अग्रभागमा खटिएका स्वास्थ्यकर्मी, ल्याव टेक्निसियनहरुका लागि भनेर रकम निकासा भएको हो । स्वास्थ्य कार्यालय मार्फत खटिएका स्वस्थ्यकर्मी तथा ल्याव टेक्निसियनका स्वास्थ्य कार्यालमार्फतनै लागि रु. पाँच लाख जोखिम भत्ता निकासा भएर आएको स्वास्थ्य कार्यालयका प्रमुख सुरज गुरौंले जानकारी दिनुभयो ।

यस अघि धौलागिरी अस्पतालले असार मसान्त सम्म रु.एक करोड ५३ लाख मागेको र त्यसवेला जम्मा दुईजना संक्रमितको मात्रै उपचार भएको भन्दै गण्डकी प्रदेशसभामा समेत ठूलो चर्चा भएको थियो । प्रदेश सरकारबाट स्वीकृत भएको धौलागिरी अस्पताल, धौलागिरी बहुमुखी क्याम्पस, बागलुङ बहिरा विद्यालय, नरेठाँटी स्वास्थ्य चौकी र बुर्तिबाङको प्राथमिक स्वास्थ्य केन्द्र र बुर्तिवाङकै निसीभुजि जनता क्याम्पसकोे आईसोलेसनमा खटिएका स्वास्थ्यकर्मीहरुको लागि जोखिम बहन गरे वापतको भत्ता रहेको धौलागिरी अस्पतालका सुचना अधिकारी तीर्थराज गौतमले जानकारी दिनुभयो ।

निर्देशिका अनुसार, प्रत्येक आईसोलेसनमा एक जना मेडिकल अधिकृत, दुई जना स्वास्थ्य कर्मी र दुई जना सफाई कर्मचारीको १२÷१२ घण्टाको ड्युटी अवधी तोकेर खटाउने र त्यही खटाएको दिनको आधारमा जोखिम भत्ता दिने उल्लेख गरिएको छ । धौलागिरी अस्पतालले धौलागिरी क्याम्पस, , बहिरा विद्यालय, गलकोट र बुर्तिबाङमा ड्युटी खटिएकाहरुको पनि रेकर्ड मागेको छ । सरकारले नियमित स्वास्थ्य उपचार बाहेक कोरोना संक्रमणको अवस्थामा आवश्यक भन्दा बढी काममा खटिने स्वास्थ्यकर्मीका लागि जोखिम भत्ता दिने निर्णय गरेको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *