तमानखोला नागरिकको स्वास्थ्य सेवामा पहुँच बढाउदै

डम्मर बुढा मगर, बागलुङ
जिल्लाको तमानखोला गाउँपालिकामा स्वास्थ्य सेवाको पहुँच बढ्दै गएको छ ।

गाउँपालिकाबासीको स्वास्थ्य सुविधाको पहु्ँचलाई गुणस्तरीय बनाउनको निम्ति गाउँपालिकाले विभिन्न वडामा स्वास्थ्य चौकी, स्वास्थ्य इकाइ र स्वास्थ्य परामर्श केन्द्र सञ्चालनमा ल्याएको छ ।

जनताको स्वास्थ्य उपचारलाई सरल र सहज बनाउनको लागि पालिकामा रहेको वडामा स्वास्थ्य उपचार केन्द्र सञ्चालनमा ल्याएको गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले बताउनुभयो ।

‘सामान्य बिरामी पर्दा घण्टौ लगाएर स्वास्थ्य संस्थामा पुग्नु पर्ने आम नागरिकको मस्यालाई बुझेर पालिकाले सबै वडामा स्वास्थ्य उपचारका लागि स्वास्थ्य चौकी, स्वास्थ्य इकाइ र स्वास्थ्य परामर्श केन्द्र स्थापना गरेका छौँ,’ अध्यक्ष बुढा मगरले भन्नुभयो ‘स्थापना भएका यी स्वास्थ्य संस्थालाई थप व्यवस्थित र सेवा सुविधा पनि बढाउदै लैजाने योजना छ ।’

स्वास्थ्य केन्द्र नहुँदा घण्टौ लगाएर बुर्तिबाङसम्म पुग्नु पर्ने बाध्यता अहिले हटेर गएको उहाँको भनाई छ । स्वास्थ्य संस्थाको सुधार गरेर जनमुखी स्वास्थ्य सेवा प्रदान गर्नको लागि गाउँपालिका योजनाबद्ध हिसावले लागिरहेको अध्यक्ष बुढा मगरको भनाई छ ।

गाउँपालिकाले ३ वडामा स्वास्थ्य चौकी, ३ स्थानमा स्वास्थ्य इकाइ र ३ स्थानमा स्वास्थ्य केन्द्र स्थापना गरेको छ । साबिक बोङ्गादोभान गाविस, तमान गाविस र खुङ्खानी गाविसमा १÷१ वटा स्वास्थ्य चौकी थिए भने गाउँपालिकाले अहिले वडा नम्बर २ को बोङ्खानी, वडा नम्बर ४ को लामेला र वडा नम्बर ६ को नर्जाखानीमा स्वास्थ्य इकाई स्थापना गरेको छ ।

यसैगरी वडा नम्बर १ को बेसीमा, वडा नम्बर २ को सिलगुम र वडा नम्बर ५ को थास्पुरीमा स्वास्थ्य परामर्श केन्द्र स्थापना गरि नागरिकहरुको स्वास्थ्य उपचारलाई सहज बनाएको छ ।

बागलुङकै विकट मानिने तमानखोला गाउँपालिकामा बिस्तारै स्वास्थ्यको पहुँच पुग्न थालेपछि स्थानीयलाई ठूलो राहत मिलेको छ । नजिक स्वास्थ्य संस्था नहुँदा धेरै नागरिकले उपचार नपाएर अकालमै ज्यान गमाउनु परेको थियो ।

गाउँमा स्वास्थ्य संस्था नहुँदा सामान्य बिरामी हुँदा पनि बुर्तिबाङ धाउनु परेको पीडा तमान लाम्मेलाकी नरमता सिर्पालीले बताउनुभयो । ‘अहिले त कोही बिरामी भए नजिकै ओखति मुलो हुन्छ, उतिबेला त कति गाह्रो थियो,’ उहाँले भन्नुभयो ‘ज्वरो आउने, टाउको दुख्यो भने पनि दिनभर लगाएर तल बुर्तिबाङ पुग्नु पथ्र्यो ।’

गाउँपालिकाले घरमै सुत्केरी बनाउने शुन्य होम डेलिभरी अभियानलाई अघि बढाई रहेको छ । केही वर्ष अगाडीदेखि शुरु भएको यो अभियानले सार्थकता पाउदै गएको छ ।

गत वर्ष १०७ जना महिला स्वास्थ्य संस्थामा डेलिभरी भएकोमा यस वर्ष १ सय ३३ जना पुगेको छ । यस तथ्याङ्कलाई हेर्दा होम डेलिभरी हुनेको संख्यामा कमी आएको गाउँपालिकाका स्वास्थ्य संयोजक डिलबहादुर छन्त्यालले जानकारी दिनुभयो ।

गाउँपालिकाले विभिन्न ३ स्थानमा वर्थिङ सेन्टर समेत स्थापना गरेको होम डेलिभरीलाई शून्य पार्ने प्रयास गरिरहेको संयोजक छन्त्यालको भनाई छ । वडा स्तरबाटै होम डेलिभरीलाई शून्य पार्नको लागि गाउँपालिकाले योजना बनाएर लागेको उहाँको भनाई छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *