बागलुङमा विपद् व्यवस्थापन : स्थानीय तहको फितलो तयारी

फाइल तस्बिर

आदर्श अनलाइन, बागलुङ

भनिन्छ–‘विपति बाजा बजाएर आउदैन ।’ र त समाजमा हरेक वर्षायामसँगै अपुरणिय जनधनको क्षति हुन्छ । यस्तो क्षतिमा स्थानीय सरकार, सरोरकारवाला र स्वयम् आम नागरिकले पूर्ववत सचेतता, योजना र तयारीमा यथेष्ट ध्यान दिन सके विपत्ति रोक्न सकिने ठाउँमा नियन्त्रण गर्न सकिन्छ भने विपत्ति रोक्न नसकिने अवस्थामा क्षति न्युनिकरण गर्न सकिन्छ । तर, असार महिना सकिएर दैनिकजसो भारी वर्षा भइरहँदा पनि जिल्लामा विपद् पूर्वको तयारी यथेष्ट रुपमा हुन नसकेको गुनासो छ ।

जिल्लाभरमा जोखिमयुक्त क्षेत्रको पहिचान, त्यसको संवेदनशिलताको आधारमा बर्गिकरण, जोखिम प्रभावित क्षेत्रका नागरिकलाई स्थान्तरण या सचेतता, सहयोग, विपत या भवितव्यमा उद्धारका लागि जनशक्ति, यन्त्र उपकरण र स्रोत साधनको यथोचित व्यवस्थापनमा स्थानीय सरकारले पनि प्रभावकारी कदम चाल्न सकेका छैनन् । असार मध्येबाट अविरल परेको वर्षा सँगै आएको बाढि पहिरोले छिमेकी जिल्ला म्याग्दीमा बितण्डा मच्चाइसक्यो । त्यहाँ ३२ बढि नागरिकको ज्यान गएको छ । सौभाग्यवश बागलुङमा यसपटक काठेखोला गाउँपालिकाको वडा नम्बर ४ फापरखेतमा घर पुरिदा एक महिलाको ज्यान जाने बाहेक अरु विपत्तिको अप्रिय घटना भएको छैन ।

जिल्ला प्रशासन कार्यालयमा गत साता मात्र जिल्ला स्तरीय विपद् व्यवस्थापन समितिको बैठक भएको थियो । त्यस वैठकले पिद्का घटना न्यूनिकरणका लागि सबै स्थानीय तहमा क्विक रेस्पोन्स टिम गठन गर्ने, जोखिमयुक्त वस्तीको पहिचान गर्ने लगायतको निर्णय गरेको थियो । तर, अधिकांश स्थानीय तह यसबारे बेखवर देखिएका छन् । फलस्वरुप तत्काल जिल्ला विपद् व्यवस्थापन समितिको निर्णय र निर्देशन कार्यान्वयनमा आउने सम्भावना न्यून देखिएको छ । जिल्ला प्रशासन कार्यालय अन्र्तगतको जिल्ला विपद् व्यवस्थापन समिति, स्थानीय तह, सुरक्षा निकाय तथा जिल्ला समन्वय समितिको असार २८ गते बसेको संयुक्त वैठकले प्रत्येक स्थानीय तहमा क्विक रेस्पोन्स टिम गठन गर्न भनेपनि हाल सम्म कुनै पनि तहमा गठन हुन सकेको छैन ।

बागलुङका सवैजसो स्थानीय तहमा विपद् व्यवस्थापन समिति भए पनि पूर्व तयारी फितलो देखिदै आएको छ । बागलुङ नगरपालिकाले विपद् व्यवस्थापनका लागि खानेपानीको पाईप, ग्याविन जाली वितरण गरेको बताए पनि क्विक रेस्पोन्स टिम गठन गर्न नसकेको सूचना अधिकारी युक्तप्रसाद सुवेदीले जानकारी दिनुभयो । सामान्य तयारी रहेको र विपद् व्यवस्थापन समिति मार्फतनै काम गर्ने योजनामा रहेको उहाँको भनाई छ ।

गलकोट नगरपालिकाका विपद् व्यस्थापन समितिका संयोजक विरजंग भण्डारीले क्विक रेस्पोन्स टिमको विषयमा जानकारी नभएको बताउनुभयो । विपद् व्यवस्थापन सम्बन्धि धेरै काम नगर प्रमुखको नेतृत्वमै हुने गरेको भन्दै विषयगत समिति अन्र्तगत मात्र विपद् व्यवस्थापन समिति रहेको जानकारी दिनुभयो । अघिल्लो वर्ष गलकोटको दुदिलाभाटीमा आएको बाढीले ठूलो नोक्सानी पु¥याए पछि मात्रै विपद् व्यवस्थापन कोष बनाउन थालिएको थियो ।

जिल्लाको काठेखोला गाउँपालिकाले एक वर्षलाई विपद् व्यवस्थापनका लागि २४ लाख रुपैयाँ बजेट विनियोजन गरेको प्रमुख प्रशासकीय अधिकृत खिम विश्वकर्माले जानकारी दिनुभयो । उहाँले क्विक रेस्पोन्स टिम गठन गर्ने तयारीमा रहेको बताउनुभयो । आवश्यक पर्दा तदारुकताका साथ सडक खुलाउन तथा बाढी पहिरो नियन्त्रणमा लाग्ने उहाँको भनाई छ ।

विपद् व्यवस्थापनका लागि प्रहरी कार्यालय सँगको सहकार्यमा तयारी थालेको ताराखोला गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तिले जानकारी दिनुभयो । गाउँपालिकाका केही जोखिमयुक्त बस्तीको पहिचान गरी जिल्ला प्रशासन कार्यालयमा पेश गरेको उहाँको भनाई छ । सम्भावित विपद् रोक्न पूर्व तयारीका लागि विपद् व्यवस्थापन समितिलाई सक्रिय बनाइने उहाँले बताउनुभयो । अरु स्थानीय तहको पनि प्रभावकारी विपद् पूर्ववत योजना छैन ।

बागलुङ जिल्ला प्रशासनले लाइफ लाइन सडकका रुपमा रहेको मध्यपहाडी पुष्पलाल राजमार्ग र कालिगण्डकी करिडोरलाई नियमित सञ्चालन, विपद् व्यवस्थापनका लागि आवश्यक पर्ने डोजर, स्काइभेटर, एम्बुलेन्स, दमकल लगायतका स्रोत साधन तत्कालै पठाउन मिल्ने गरी तयारी अवस्थामा राख्न सडक डिभिजन, अस्पताल तथा आयोजना कार्यालयलाई निर्देशन गरिएको छ ।

प्रशासन कार्यालयका तर्फबाट विपद् व्यवस्थापन समितिको निर्णय अनुसार सबै स्थानीय तहमा विपद् व्यवस्थापनका लागि आवश्वक तयारी तथा क्विक रेस्पोन्स टिम गठन लगायतको पूर्ववत योजनाका लागि पत्राचार गरिएको जिल्ला प्रशासन कार्यालयल बागलुङका प्रशासकीय अधिकृत सूचना अधिकारी धिरेन्द्रराज पन्तले बताउनुभयो । ‘अघिल्लो साता जिल्लामा सम्भावित विपद्का घटना रोक्न आवश्यक पहल र निर्णय सहित पत्राचार गरिएको हो, केही ढिलो भएको होला’ सूचना अधिकारी पन्तले भन्नुभयो ‘संघीय अभ्यासमा स्थानीय सरकारको बढि अधिकार र दायित्व हुन्छ । यसमा प्रशासन कार्यालयका तर्फबाट आवश्यक पहल, समन्वय र सहयोगमा हामी कुनै कसर बाँकी राख्दैनौ ।’

बागलुङका नवआगन्तुक प्रमख जिल्ला अधिकारी सुरेश न्यौपानेले स्थानीय तहको समन्वय विना काम गर्न नसकिने भन्दै विपद् व्यवस्थापनको पूर्व तयारीका लागि सुरक्षा निकाय तयारी अवस्थामा रहेको बताउनुभयो । यसका लागि आफ्ना मातहतका निकायलाई अलर्ट अवस्थामा राखिएको प्रजिअ न्यौपानेले बताउनुभयो । आँफु नयाँ भएकाले यसको यथेष्ट तयारीका बारेमा केही बुझ्न बाँकी रहे पनि विपद् पूर्वको योजना र व्यवस्थापनका लागि प्रशासनका तर्फबाट आवश्यक पहल र समन्वय गरिने उहाँको भनाई छ ।

अहिले लगातारको वर्षातले विभिन्न जिल्लामा बाढी पहिरो तथा ठूलो जन धनको क्षति पु¥याएको छ । बागलुङमा समेत केही घरहरु बगाएको छ । मध्यपहाडी पुष्पलाल लोकमार्ग र कालिगण्डकी करिडोर समेत पटक पटक अवरुद्ध भइसकेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *