कहिले सुध्रिन्छ बोक्से ?

तत्कालै पहिरो हटाउन समस्या छ, पहिरोको माटो अन्तै लगेर फाल्न दुई तीन दिन लाग्ला –मध्यपहाडी आयोजना कार्यालय

आदर्श अनलाइन, बागलुङ

जिल्लाको लाइफ लाइन मध्यपहाडी लोकमार्गको बागलुङ–बुर्तिबाङ सडक अवरुद्ध बनेको छ ।

बागलुङ नगरपालिका वडा नम्बर ३ स्थित बोक्सेगैरामा मंगलबार बिहान खसेको पहिरोले अबरुद्ध बनेको लोकमार्ग बेलुका एकतर्फी सञ्चालनमा आएको थियो । भौगोलिक हिसावले निकै जटिल तथा बलौटे माटोका कारण समस्याग्रस्त बोक्से बुधबार विहानैदेखि पुनः अबरुद्ध भएको छ । बोक्सेगैरामा वर्षौदेखी पहिरो खस्ने, सडक हिलाम्य हुने र गाडी फसिने समस्या छ । यसका बारेमा दैनिकजसो यात्रुले सुधार र स्तोरन्नतिका लागि पहल र दबाब दिइरहे पनि केहि सुधार हुन सकेका छैन । फलस्वरुप जिल्ला सदरमुकाम आसपासका नागरिकले मात्र होइन, दुर मानिएका ढोरपाटन, निसीखोला र तमानखोलाका पक्की सडकमा सरर यात्रा गर्दै आएका नागरिकले समेत ठुलो सास्ती र सकस पाइरहेका छन् ।

पहिरो खुलाउनका लागि दिनभर पहल र प्रयास जारी राखिए पनि लगातारको वर्षाले पहिरो नरोकिएको र स्थानीयको पहिरोको माटो फाल्ने कार्यमा अवरोध पछि समस्या भएको मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय पर्वतका प्रमुख आशिष थापाले जानकारी दिनुभयो । ‘हामीले आवश्यक औजार र प्राविधिक खटाएका छौं’, पहिरो पन्छाउदा सडक मुनिका बस्ती जोखिममा पर्ने गुनासो आएको छ’ थापाले भन्नुभयो ‘तत्कालै पहिरो हटाउन समस्या छ, पहिरोको माटो अन्तै लगेर फाल्न त दुई तीन दिन लाग्ला ।’

राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको लोकमार्ग वर्षात्को कारण बाढी पहिरोले कतै भासिने र कतै कालोपत्रे उक्किने र पुरिने गर्दा सवारी आवागमन असहज बनेको गलकोट नगरपालिका–७ मल्मका याम सुनारले गुनासो गर्नुभयो । सवारी हिलोमा फसेर सास्ती त भएकै थियो त्यसमाथी पटक–पटक अबरुद्ध हुँदा समस्या सृजना भएको छ ।

लोकमार्गको बागलुङ नगरपालिकाको बोक्से मात्र हैन काठेखोला, गलकोट, बडिगाड, ढोरपाटन र निसीखोलाका बिभिन्न स्थानमा समेत पहिरो खस्ने गरेको छ । लोकमार्ग अबरुद्ध हुँदा साथ एकतर्फी खुलाउने नीतिका साथ तत्कालै पहल भए पनि बोक्सेमा ठूलो समस्या आएको आयोजनाको भनाई छ । बोक्सेको पहिरोले सडक मुनिका तीन घर पहिरोको उच्च जोखिममा परेको छ ।

सडक माथिबाट आएको पहिरो पन्छाएर सडक तल फाल्दा घर नै पुरिने थालेकाले पहिरोको माटो अन्यत्र लगेर फाल्नुपर्ने स्थानीय गीता रेग्मीले बताउनुभयो । ‘लोकमार्ग सञ्चालन नहोस् भन्ने हाम्रो चाहना हैन, तर पहिरोको दीर्घकालिन व्यवस्थापन गर्न आवश्यक छ’ रेग्मीले भन्नुभयो ‘लोकमार्ग पन्छाउने निहुँमा घर माथी माटो फाल्दा झनै समस्या भएको हो ।’ पहिरो पन्छाउदा घरको सुरक्षा सुनिश्चित गर्नुपर्ने उनीहरुको माग छ । मध्यपहाडी पुष्पलाल लोकमार्ग सडक खण्ड माथिबाट खनिएका ग्रामिण सडकका कारण लोकमार्ग उच्च जोखिममा परेको स्थानीयको आरोप छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *