अमेरिकामा अन्त्य एक युवा सपना…

अमेरिका पुगेपछि बागलुङ जैमिनकी तुलसी थापाले पटक–पटक दोहोराइ रहनुहुन्थ्यो–‘बाबा बिति हाल्नुभयो, आमालाई अमेरिका ल्याएर घुमाउने रहर छ ।’ तर, तुलसीको आमालाई अमेरिका घुमाउने रहर मात्र होइन, जीवनका सारा सपना अमेरिका पुगेको १४ महिनामै टुटेको छ ।


सिर्जना पन्त
उमेरले ३९ वर्ष, पोखराको बोर्डिङ स्कुलमा पढाउदा–पढाउदै डिभी पर्याे । बागलुङको जैमिनी नगरपालिका–१ कुश्मिशेराकी तुलसी थापालाई डिभी पर्याे भनेर शुरुमा त पत्यार लागेन । तर, डिभी परेको सत्य थियो । साथीसंगतीको लहडमा डिभी भर्नुभएकी थापा डिभी परेको यथार्थ भए पछि खुशी र उत्साहले फुरुंग बन्नुभयो ।

त्यसबखत तुलसीका ६६ वर्षीया आमा हरिकला थापालाई गाउँ, छिमेकी र आफन्तले भनेका थिए–‘ओहो ! तिमी र तिम्री छोरी त कति भाग्यमानी रहेछौ । छोरी अब सबै भन्दा ठुलो देश अमेरिका जाने भएछिन् ।’

डाइभर्सिटी भिसाको सबै प्रक्रिया पुरा गरेर २०७५ कात्तिक १५ गते तुलसी अमेरिका उड्नुभयो । अमेरिकाको टेक्सास सहरमा आफन्तको सहयोगमा काम पनि मिल्यो । दिन राम्रै चल्दै थियो । तुलसीको व्यक्तिगत र पारिवारिक जीवनमा खुसीका बालाहरु झुल्दै थियो ।

तुलसी अमेरीका पुगे पछि नै हो–बुढेशकाल लागेकी आमाले स्मार्ट फोन देखेको । तुलसीलेनै आमासँग भिडियो कल गर्नुपर्छ भनेर स्मार्ट फोन पठाइ दिनुभएको । अझ घरमा इन्टरनेट जोड्ने पनि भन्नुभएको थियो । सबै खालको प्रयास गर्दा पनि गाउँमा सजिलै इन्टरनेट जोड्न नसके पछि तुलसीले अमेरिकाबाट दिदीलाई भन्नुभयो–‘आमालाई डाटा लिएर भिडियो कल गर्न सिकाई दिनु ।’

दुई दिदी बहिनी र एक दाजु मध्येकी कान्छी छोरी हुन् तुलसी । अमेरीकाबाट पछिल्लो पटक मंसिरमा महिनामा पैसा पठाउदा तुलसीले दिदीसँग भन्नुभएको थियो–‘आमालाई सुनका बाला बनाई दिनु ।’

अमेरिका पुगेपछि तुलसीले पटक–पटक दोहोराइ रहनुहुन्थ्यो–‘बाबा बिति हाल्नुभयो, आमालाई अमेरिका ल्याएर घुमाउने रहर छ ।’ तर, तुलसीको आमालाई अमेरिका घुमाउने रहर मात्र होइन, जीवनका सारा सपना अमेरिका पुगेको १४ महिनामै टुटेको छ । २०७६ पुस १० गते विहान बाथरुममा नुहाउदा नुहाउदै बेहोस भएकी तुलसीको अस्पताल पुर्योउदा पुर्याउदै मृत्यु भयो । तुलसीको मृत्यु भएको ८ महिना विते पनि आमा हरिकला थापाको आँखा भने ओभाएका छैनन् ।

छोरीले अमेरीकाबाट ७०,८० हजार रुपैया पठाउँदा खुसीले फुरुङ्ग हुने तुलसीका आमा छोरीको नामले राहत स्वरुप १० लाख पठाउँदा पनि अनुहारमा कुनै उत्साहको रगं देखिएन । बरु भावशुन्य भएर एकहोरो आँखाबाट अश्रुधारा बगिरह्यो । अमेरिका पुगेको छोटो समयमै सामाजिक अभियानमा पनि सक्रिय थापा नेपाल मगर संघ टेक्सास कमिटीको सदस्य भएर काम गरिरहनुभएको थियो । थापाको निधन पछि अमेरिकामै रहेको नेपाल मगर संघ अमेरिकाले राहत संकलन अभियान चलाएर संकलित १० लाख ५८ हजार ७ सय ६४ रुपैयाँको चेक तुलसीका आमा हरिकलालाई बागलुङ बजारमा एक कार्यक्रमका बीच हस्तान्तरण गरियो ।

मृतक तुलसीका आमा हरिकला थापालाई चेक हस्तान्तरण गर्दै ।

हातमा १० लाख रुपैयाँको चेक पर्दा समेत आमा हरिकलाका आँशु र बहिनीको माया र सम्झनाका सामु १० रुपैयाँ बराबर पनि नभएको तुलसीकी दिदी मनकुमारी बताउनुहुन्छ । ‘पैसा सबै कुरा होइन रहेछ,’ उहाँले भन्नुभयो ‘बहिनीको मृत्यु पछि हाम्रो दुःख पीडालाई कम गराउन मगर संघ अमेरिका सँगै विभिन्न संघ संस्थाले धेरै सहयोग गर्नुभएको छ, हातमा पैसाका विटा भए पनि त्यसमाथि बहिनीका आँशुका बाछिटा छन् जस्तो लाग्छ ।’

विदेश गए पछि पैसाका लागि अनवरत काम गर्नु पर्ने बिवशता भए पनि आफ्नो जीवन र स्वास्थ्यको पनि बिशेष ख्याल गर्न बिर्सन नहुने तुलसीका आफन्त तथा स्थानीय तारा थापाले बताए । ‘पैसा मात्र केही होइन रहेछ, मुख्यतः जीवन नै हो, बाध्यताले जहाँ जहाँ जानु परे पनि स्वास्थ्य र सुरक्षामा ध्यान दिनुपर्दछ भन्ने पाठ यो घटनाले पनि दिएको छ’ थापाले भन्नुभयो, ‘अहिले विदेशमा भएका सबैजसो व्यस्त छन्, तर आफु र आफ्नो जीवन बिर्सिरहेका छन् । यो हाम्रा लागि निकै महंगो सावित हुन सक्छ, जतिसक्दो ख्याल गरौ ।’

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *