सरकारको निर्णय कार्यान्वयनमा ढिलाई : कहिले आउँछ धौलागिरी अस्पतालमा पीसीआर ल्याब

आदर्श अनलाइन, बागलुङ
धौलागिरी अस्पताल बागलुङमा पीसीआर परीक्षण ल्याब स्थापना गर्ने नेपाल सरकारको निर्णय एक महिना वित्दा समेत कार्यान्वयनमा आउन सकेको छैन ।

गण्डकी प्रदेशको पोखराको दुई वटा ल्यावमा मात्र कोरोना परीक्षण गर्दा निकै सुस्त भएको र आम नागरिकबाट परीक्षणको दायरा बढाउनु पर्ने तिव्र माग भए पछि गत असार १२ गते सरकारले बागलुङ सहित बिभिन्न स्थानमा पीसीआर मेसिन राख्ने निर्णय गरेको थियो ।

नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले धौलागिरी अस्पताल सहित १० अस्पताललाई कोरोना भाइरस (कोभिड–१९)को पीसीआर नमूना परीक्षणको अनुमति दिएपनि हाल सम्म धौलागिरी अस्पतालमा एक जानकारी सहितको पत्र बाहेक अरु प्रगति प्राप्त छैन ।

यसअघि सातै प्रदेशका २३ अस्पतालमा पीसीआर विधिबाट स्वाब परीक्षण प्रयोगशाला सञ्चालन भइरहेकोमा सरकारले थप १० स्थानमा प्रयोगशाला स्थापना गर्ने निर्णय सँगै धौलागिरीबासी उत्साहित भए पनि महिना दिन बित्दा समेत प्रयोगशालाका स्थापनाका लागि आवश्यक उपकरण, बजेट र थप कुनै जानकारी नआएको धौलागिरी अस्पताल बागलुङका सूचना अधिकारी तीर्थराज गौतमले जानकारी दिनुभयो । ‘प्रयोगशाला स्थापना गर्ने मन्त्रालयको पत्र प्राप्त भएको छ’ गौतमले भन्नुभयो ‘पीसीआर मेसिन र जनशक्तिको विषयमा हाल सम्म थप केहि जानकारी आएको छैन ।’

मन्त्रालयमा पटक–पटक ताकेदा गर्दा नयाँ मेसिन खरिद पश्चात मात्रै ल्याव स्थापना गर्ने जानकारी आएको बागलुङका संघीय सांसद डा.सुर्यप्रसाद पाठकले जानकारी दिनुभयो । ‘तिव्र जोखिम र परीक्षण सुस्त भएका बेला सरकारले धौलागिरीमा पनि ल्याब राख्नका लागि निरन्तर पहल र दबाब दिएको परिणाम हो,’ सांसद पाठकले भन्नुभयो, ‘केहि ढिलाई भइरहेको छ, हामीले निरन्तर पहल र दबाब दिइरहेका छौ, जतिसक्दो छिटो पीसीआर मेसिन ल्याउने र कोरोना रोकथाम नियन्त्रण गर्ने कार्यलाई तदारुकताका साथ अघि बढाउन प्रयत्नशिल छौ ।’

मन्त्रालयले अस्पतालमा पठाएको पत्र अनुसार धौलागिरी अस्पताल बागलुङ सँगै मेची अस्पताल, डडेलधुरा अस्पताल, दैलेख अस्पताल, राष्ट्रिय आर्युवेद अनुसन्धान तथा तालिम केन्द्र, सशस्त्र प्रहरी अस्पताल, पाल्पा अस्पताल, धनकुटा अस्पताल, वीरेन्द्र प्रहरी अस्पताल र नेपाली सेना अस्पतालमा प्रयोगशाला सञ्चालन गर्ने निर्णय भएको थियो । पीसीआर परिक्षण प्रयोगशाला स्थापना गर्नका लागि कम्तिमा तीन वटा सुविधा सम्पन्न कक्ष र छ जना ल्याव टेक्निसियन आवश्यक पर्ने धौलागिरी अस्पतालले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *