वर्षासँगै विपद रोकथामः ‘घटना पछि होइन,वर्षा नलाग्दैको तयारी आवश्यक’

अहिले दैनिकजसो वर्षासँगै ठाउँ–ठाउँमा विपद्का घटना भइरहेका समाचार छन् । बागलुङ जिल्लामा पनि केही दुखद घटनाहरु क्रमशः बढ्न थालेका छन् । अझै वर्षायामको थुप्रै समय बाँकी नै छ । यसबीच विपद घटना, यसका कारण, समस्या र व्यवस्थापनका सवालमा जिल्लाका स्थानीय सरकार र सरोकारवालाको तयारी, स्वयम् आम नागरिकको भुमिका लगायतका बिषयमा विकास निर्माणका मुख्य हिस्सेदार अर्थात योजनाकार इञ्जिनियर र पहिरो प्रभावित नागरिकसँग आदर्शकर्मी साधना पन्तले केही सोधखोज गर्ने प्रयास गर्नुभएको छ । प्रस्तुत छ, कुराकानीको सम्पादित अशंः

मुकुन्द प्रसाद लामिछाने
इञ्जिनियर
सडक डिभिजन कार्यालय, बागलुङ

अहिले लगातार मनसुनी वर्षाका कारण बाढी पहिरो आउने कारण हो । गाउँ–गाउँमा सडक निमाण गर्ने क्रममा नयाँ कटिङ गरेका कारणले कमजोर भौगोलिक बनावट हुन्छ । त्यसमा कमजोर सतह हुन जान्छ । बर्खाको समय हो, निरन्तर पानी परेको छ । कमजोर सतहमा पानी परेका कारणले पहिरो गएको हो ।

मानिसहरुले अहिले बिना योजना जस्तो पनि स्थानमा बस्ती बसाएका छन् । मानिसहरु को बस्ती जुन ठाउँमा छ । त्यस ठाउँमा सडक लैजाने होड छ । बन जंगल फडानी गर्ने काम तिव्र गतिमा भएका छन् । यसले गर्दा प्रकृतिलाई बिनाश गर्दा प्राकृतिक विपत्ति आउँछ । अहिले बाटो खन्ने क्रम्मा माटोलाई बाटोको छेउमा राख्दा त्यसको लोड बढी भएर पहिरो जान्छ । त्यसकारणले सवै भन्दा पहिले सडक निमाण गर्दा ध्यान दिन जरुरी हुन्छ ।

हामीहरुले काम गर्दा ५० वर्षको एक पटक बाढी पहिरो आउन सक्दछ भनेर योजना गरिएको हुन्छ । हामीले पुल निर्माण गर्दा सोही अनुसार काम गरेका हुन्छौ । अनुमान गरिएका कुरा हुन् तर हामीहरुले कुनै पनी संरचना निर्माण गर्दा सोही अनुसार काम गरेका हुन्छौ ।

बर्खाको समय आउनु भन्दा पहिलेनै कुन–कुन स्थानहरु बाढी पहिरोको जोखिममा छन् भनेर लिस्ट आउट गर्ने र त्यस्ता स्थानमा वाल बनाउने, मानिसहरुलाई सजग बनाउने र समस्याको समाधान गर्नु पर्दछ । पानी परेको बेला कतिको पानी परेको छ भनेर हेर्न काम गर्नु पर्दछ । यसको विषयमा स्थानीय सरकाले प्रभावकारी भुमिका निवाह गर्नु पर्दछ ।

गौरव शर्मा
इञ्जिनियर
बागलुङ नगरपालिकाको कार्यालय

भर्खरै खनिएका सडकहरु धेरै छन् अहिले । नयाँ खनिएको सडकको माटो धोल्लो भएकाले पानी पसेर भत्कने समस्या धेरै भएको पाईन्छ । हामीहरुले सडक खन्ने कुरामा मात्र ध्यान दिएका छौ । सडक खन्ने क्रममा डोजरको प्रयोग हुन्छ । डोजरले माटो खुकुलो बनाई दिएको हुन्छ । हामीहरुले सडक खन्न साथ वालहरु लगाउने काम गर्नु पर्ने हो तर वाल लगाउने काम नभएकाले पनि पहिरो आउने सम्भावना धेरै हुन्छ ।

मानिसहरुलाई अहिले आफ्नो घर अगाडी सवैलाई बाटो चाहिन्छ । नगरपालिकामा आएर भनेका हुन्छन् हामीलाई हाम्रो घर अगाडी बाटो बनाई दिनुप¥र्यो भनेर । समिति आफै बनाएर आएकालाई हामीहरुले इस्टिमेट गर्नै पर्ने हुन्छ् । तर, मानिसहरुले बुझ्न जरुरी छ कि जथाभावी सडक निर्माण गर्ने काम ठिक होइन । प्रकृतिलाई बिनाश गर्दाको कारणले पनि बाढी पहिरो धेरै आउने गरेको हुन्छ । हामीहरुले प्रकृतिको संरक्षण गर्नु पर्दछ ।

अबको बिकल्प भनेको पानी रोकिन साथ हामीहरुले पहिरो भएको स्थानमा सुधार गर्ने काम गर्दछौ । हामीहरुले बार इञ्जिनियरिङ गर्ने काम गर्छौ । पहिरो आएको स्थानमा बिरुवा रोप्ने काम गर्नेछौ ।
हामीहरु त इञ्जिनियर हो । तर, नगरपालिकाले कम बाटो खन्ने र खनिएका बाटोलाई राम्रो सँग संरचनाहरु बनाउने । वाल लगाउने, जाली लगाउने जोखिम भएको स्थानमा र पहिरो आउन नदिनका लागी सवै उपायहरु अपनाउनु पर्दछ । जथाभावी सडक निर्माण गरेर विकास हुुँदैन । निर्माण गरेका संरचनालाई दीगो बनाउन तिर लाग्नु पर्दछ ।

हामीहरु पहाडी एरियामा भएर पनि पहिरोको समस्या धेरै हुन्छ । भिरालो जग्गामा हामीले बस्ती बसाएका हुन्छौ । बस्ती बसाउनु भन्द पूर्वनै कस्तो स्थानमा जोखिम छ या छैन भनेर बुझेर घर निर्माण गर्नु पर्दछ । बन जंगलको संरक्षण गर्न आवश्यक देखिन्छ । अहिले बन जंगल फडानी गरेर सडक बनाइएको छ । हरेकको घरमा सडक पु¥याइएको छ । जथाभावि डोजर चलाइएको छ । यस्ता कारणले माटो खुकुलो हुने र बर्खाको समयमा पानी बढी पर्ने भएकाले पहिरो धेरै आएको हो । अहिले ५० वर्षको सवै भन्दा ठूलो पानी परेको भएर पनि धेरै बाढी पहिरो आएको सुन्न पाइन्छ । त्यसैले सुरुमा आफु सजग हुन आवश्यक छ । पहिरोको जोखिम भएको स्थानमा नबसेकै राम्रो यो समयमा । हुन त हाम्रो बागलुङ नगरपालिकाले राहात वितरण गरि राखेको छ । पाल, जाली, खाद्यान्न दिएको छ । तर, आगामी दिनमा यस्ता खालका समस्या आउन नदिनका लागी हामी आफै सजग हुनु पर्दछ । जथाभावी सडक निमार्ण गर्ने काम रोक्नु पर्दछ । भएका सड्कलाई चाहिने संरचनाहरु बनाउने काममा लाग्नु पर्दछ भन्ने मलाई लाग्दछ ।

सुरथ बहादुर रेग्मी
स्थानीय,
बोक्से खाल्टो

पानी लगातार परेको छ । हामीहरु रातभर नसुतेको त धेरै दिन भयो । अरुको घरमा बस्न कति दिन जाने ? घरमा बुढा आमा बुबा र साना–साना छोरा–छोरी छन् । पानी परेको परेकै छ, पहिरो झरेको झरेकै छ । यो बोक्सेको खाल्टोमा सासंद, मेयर, सिडियो, एसपी सबै जना आएर जानुभयो । तर, हाम्रो समस्या जहाँको त्यही छ । जथाभावी डोजर चलाउने र माटो जति हाम्रो घर माथि फालिदिने काम भएकाले हामीहरु अहिले बिस्थापित भएका छौ । लोकमार्ग निर्माण गर्ने क्रममा लापरवाही गरेर अहिले यो अवस्था आएको हो । कहिल्यै पहिरो नआएको स्थानबाट पहिरो गएको छ । माटो सबै सडकबाट तल फालिएको छ । पानी र पहिरो रोकिने सम्भावना कम छ । तर, यस समस्याको समाधान गर्ने को ? सवै आएर हेरेर जानु भयो । सासंद सुर्य पाठक, मनकुमारी केसी, इन्द्रलाल सापकोटा र नगरपालिकाका मेयर जनकराज पौडेलले आएर हेरेर मात्र जानु भयो । वडा नम्वर ३ का वडा अध्यक्षयलाई फोन गर्दा उहाँले पनी हाम्रो समस्यामा चासो नराखेको पाइयो ।

लोकमार्गबाट माटोको लेदोले घर अब कति बेला पुर्ने हो भनेर डराउदै बसेका छौ । एक घरको मात्र समस्या होइन यो । हाम्रो ४ घर परिवारको समस्या हो । हामीले लोकमार्गमा डोजर लगाएको समयमा पनि हामीहरुले पटक–पटक भनेका थियौ । तल घरहरु छन् माटो फाल्नु हँुदैन भनेर तर कसैले सुनेको पाइएन । पुराना बाटाहरु पनि मासिएका छन् । रुख बिरुवा पनि मासिएका छन् । बाटो खन्ने र माटो जति बाटो भन्दा तल फाल्ने काम भएकै कारणले अहिले यो अवस्था आएको छ । सडक बनाउने क्रममा हामी प्रत्यक्ष रुपमा देखेका छौ । माटो तल फाल्ने र ढुङ्गा निकालेर छेउमा राख्ने गरिएको छ । त्यस्ता खालका लापरबाहीले गर्दा अहिले पहिरो आएको हो । जुन ठाउँबाट ढुुङ्गा निकालेको त्यही ठाउँमा वाल लगाउने, जाली लगाउने गरिएको भए आज हामीहरु बिस्थापित हुनुपर्ने थिएन । अहिले दैनिकजसो लोकमार्ग अवरुद्व हुने थिएन । अहिले पनि डोजरले माटो हाम्रो घर तिरै फालेको छ । बाटो पन्छाउने निहुँमा माटो जति तलतिर फाल्ने र तलका घरहरु जोखिममा पार्ने मात्र काम भएको छ ।

सिता कुमारी शर्मा गौतम
स्थानीय, बोक्सेको खाल्डो

हामीहरु १ महिना सम्म आफन्तको घरमा बसेका थियौ । पहिरोको जोखिममा हाम्रो घर भएकाले दिनमा घरमा बसे पनि रातमा आफन्तको घरमा सुत्नका लागि गएका थियौ । अहिले पनि ठूलो पानी परे पछि आफन्तकै घरमा बस्न जान्छौ । तर, अहिले हाम्रो घर माथि जाली लगाउने काम भइराखेको छ । खास खानेपानीको नाला फुटेर पहिरो आएको थियो । त्यसको समस्या समाधान हुनै लाग्दा फेरी बोक्सेको खाल्डोमा पहिरो आएको छ । लगातार पानी परेका कारणले जोखिम अझ बढाएको छ । जथाभावी डोजर चलाउने बर्खा सुरु भए पछि । माटो जति बाटो भन्दा तल फाल्ने गरेकाले अहिले बाटो तलका घरहरु समस्यामा परेका छन् । हामीलाई समस्या परेको छ । तर, समस्या समाधान गर्ने कोही पाएका छैनौ । जो पनि आउँछन् हेर्छन् र जान्छन् । बोक्सेको खाल्डोमा बाटो खन्ने क्रम्रमा लापरवाही धेरै भएकै कारणले आज यो समस्या आएको हो । पहिरोको जोखिम भएको स्थानमा सजगता अपनाउन पर्ने ठाउँमा डोजरले मात्र खनेर छोड्ने कहाँ सम्मको लापरवाही हो । हप्ता दिन नबिराएर डोजर लगाएर माटो जति बाटो तल फाल्ने र बाटो भन्दा तलका घरलाई जोखिममा पार्ने काम बाहेक अरु केहि भएको छैन । बाटो खनेर मात्र हँुदैन, ढलको व्यवस्थापन गर्नुपर्छ । रुख बिरुवा जोगाऔ । पुराना पैदल हिड्ने बाटाहरुमा लोकमार्ग खन्ने क्रम्मा माटो फालेर पुर्ने काम मात्र भयो । पहिलाको बोक्सेको खाल्टो र अहिलेको बोक्सेको खाल्टो हेर्दा त अहिले पहिरे खाल्टो भने हुन्छ भन्ने मनमा लाग्दछ । भएको सवै संरचना भत्काएर जथाभावि डोजर चलाउने काम बाहेक केही भएको छैन । बाटो तलका बस्तीहरु बिस्तापित भएका छन् । त्यसकारणले यस विषयमा सम्वन्धित निकायको ध्यान जान जरुरी छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *