बागलुङका गाउँमा सडक सम्पर्क बिच्छेद

आदर्श अनलाइन, बागलुङ

पहिरोका कारण सदरमुकाम बागलुङ बजार सँग जोडिएका सबैजसो सडक सञ्जालको सम्पर्क टुटेको छ ।

लगातारको वर्षले ग्रामीण सडकका साथै बागलुङ जिल्लाका लाइफ लाइन सडकहरु समेत दैनिक अबरुद्ध हुने गरेका छन् ।

सडक अवरुद्व भए पछि दैनिक र अत्यावश्यक कामले यात्रा गर्ने नागरिकले सास्ती खेप्न बाध्य भएका छन् ।

बागलुङ जिल्ला सदरमुकामबाट जिल्लाको दक्षिण भेग जोड्ने बलेवा, कुश्मिशेरा, भकुण्डे रायडाँडा सडकको गलुवामा गएको पहिरोका कारण एक हप्तादेखि सडक अबरुद्ध बनेको सडक शुक्रबार खुलेको छ । कालोपत्रे भएको सडक भासिएर कालिगण्डकी करिडोरमा पुग्दा पहिरो पार गर्न यात्रुलाई समेत हम्मे हम्मे भएको थियो ।

तित्याङ हुँदै भकुण्डे रायडाँडा पुग्ने सडकको तित्याङ बुकेनीमा सडक भासिदा एक सातादेखि सवारी आवागमन ठप्प छ । यो सडक कहिले खुल्ने भन्ने अनिश्चित छ । बागलुङ बजार देखि सिगाना हुँदै बरेङ गुल्मीको शान्तिपुर जोड्ने सडकमा सवारी गुड्न छोडेको १५ दिन भन्दा बढि भइसक्यो । सिगानामा गण्डकी प्रदेश सरकार र संघीय सरकारको साढे दुई करोड बजेटमा सडक चौडा पार्ने काम भए पनि पहिरो खस्दा सवारी आगमन ठप्प रहेको छ ।

बागलुङको लाइफ लाइनका रुपमा रहेका राष्ट्रिय गौरवका दुई आयोजना कालिगण्डकी करिडोर, मध्यपहाडी पुष्पलाल लोकमार्ग समेत ठाउँ–ठाउँमा अबरुद्ध हुँदा जिल्ला सदरमुकाम सम्मको सडक सम्पर्क टुटेको छ । लोकमार्ग र करिडोर सँग जोडिएका सबै शाखा सडकमा सवारी साधन चल्न नसकेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी राजेन्द्र रेग्मीले जानकारी दिनुभयो ।

दक्षिण भेग मात्रै होइन, बागलुङ जिल्लाको पश्चिम भेगसँग जोडिएको लोकमार्गको बोक्से सिस्नेरी भिमगिठेमा खसेको पहिरोले लोकमार्ग, ढोरपाटन सालझण्डी सडक, अधिकारीचौर, बोबाङ सडक समेत पहिरो खसेका कारण अबरुद्ध भएको बुर्तिबाङमा क्रियाशिल पत्रकार रामनारायण सुवेदीले जानकारी दिनुभयो । उहाँले अविरल वर्षासँगै प्राविधिक अध्ययन नगरी सडक खन्दा बढी क्षति हुन पुगेको बताउनुभयो ।

मध्यपहाडी लोकमार्गको बोक्सेमा खसेको पहिरोले सयौं यात्रु अलपत्र पर्दै आएका छन् । लोकमार्गको बोक्सेमा निरन्तर पहिरो खसिरहेको र पहिरो पन्छाउन समेत स्थानीयको अबरोध हुँदा जनतन एकतर्फी मात्रै सडक खुलाइएको लोकमार्ग आयोजना कार्यालय पर्वतका प्रमुख आशिष थापाले जानकारी दिनुभयो । कालीगण्डकी करिडोरको कालाखोला बगरमा सडक माथिबाट लगातार पहिरो खस्दा सडक सुचारु गर्न कठिनाइ भएको छ ।

बागलुङ नगरपालिका क्षेत्रबाट जिल्लाका अन्य स्थानीय तह सँग जोडिएका सडकहरु वैकल्पिक रुपमा र एकतर्फी मात्रै सडक खुलाउन पहल र प्रयास भइरहेको बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले जानकारी दिनुभयो । उहाँले तत्कालै लोकमार्ग र कालिगण्डकी करिडोरको समस्या समाधान नहुने भएकाले वैकल्पिक रुपमा सडक सञ्चालनका लागि पहल भइरहेको जानकारी दिनुभयो ।

वर्षातले काठेखोला गाउँपालिकाको रेशमा जिरेदीखोला बढेका कारण सवारी जान सकेको छैन भने लेखानीमा समेत सवारी आवागमन ठप्प रहेको काठेखोला गाउँपालिकाले जनाएको छ । गाउँपालिकाको धम्जा, भीमापोखरा, पाला लगायतको स्थानमा दर्जन बढी पहिरो खसेको छ । गलकोट नगरपालिका क्षेत्र भित्र पर्ने लोकमार्गको दुदिलाभाटी तथा नरेठाँटीमा लोकमार्ग भासिएको छ भने बडिगाडका अधिकांश ग्रामिण सडक २० दिन देखि अबरुद्ध नै छन् । गलुवामा गएको पहिरोले कुस्मिशेरा र बरेङ पुग्ने सवारी साधनहरु थन्किएका हुन् ।

सरकारले जिल्ला भित्र आन्तरिक यातायात सञ्चालन गर्ने निर्णय गरे पनि सडक सञ्जाल अवरुद्व भए पछि बागलुङमा सवारी चलाउन नसकेको यातयात व्यवसायीले गुनासो गरेका छन् ।
कालीगण्डकी करिडोरको स्थलगत अनुगमन

बिहिबार संघीय सांसद मनकुमारी केसी, प्रदेश सांसद इन्द्रलाल सापकोटा, बागलुङ नगर प्रमुख जनकराज पौडेलले कालिगण्डकी करिडोर र वलेवा कुस्मिशेरा सडक खण्डको अनुगमन गर्नुभएको थियो ।

अनुगमनका क्रममा करिडोरको पहिरो तत्काल पन्छाउन नसकिने अवस्था देखिएकाले कालाखोला बगरको तल्लो सडकलाई नियमित सञ्चालनमा ल्याउनका लागि बागलुङ नगरपालिकाले विपद् व्यवस्थापन समिति मार्फत कार्यआदेश गरेको छ ।

“अहिले जिल्ला सदरमुकाम सम्म सबैजसो सडकको सम्पर्क टुटेको छ, बानपा क्षेत्रका सबै पहिरो पन्छाउने काम शुरु गर्न थाले पनि तत्कालै गाह्रो देखिन्छ” नगर प्रमुख पौडेलले भन्नुभयो “हाल बोक्से, कालाखोला र सिगानाको बैकल्पिक सडकको काम भइरहेको छ ।” उहाँले तत्कालै ग्याविन चिन्ने, पर्खाल लगाउने, नाली काट्ने अवस्था नभए पनि ट्रयाक खोल्ने काम तिव्र रुपमा अगाडी बढाइएको जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *