कुँवरको कथा : हतियार चलाएका हात कृषि कर्ममा

खेमराज गौतम, बागलुङ

भनिन्छ–‘संघर्षले मानिसलाई जीवन जिउन सिकाउँछ ।’ बागलुङ गलकोटका सुर्य कुँवरले सानै उमेरमा संर्घष रोज्नुभयो । र त गलकोट नगरपालिका–१ दुदिलाभाटीका ३० बर्षीय कुँवरको जीवनमा ठूलै उतार चढाव आयो । तर पनि कत्ति विचलित हुनुभएन कुँवर । न्याय र समानताको लडाई लड्ने भन्दै १४ वर्षकै उमेरमा दुदिलाभाटिको सरस्वती माध्यामिक विद्यालयको कक्षा नौं अध्ययनरत कुँवर जनयुद्धमा होमिनु भो । कलिलो उमेरमा सामाजिक न्याय, समानता र बुर्जुवा शिक्षाको नाराले कुँवरको मनमा छुट्टै बिद्रोहको भाव ल्याइदियो, र नयाँ क्रान्तिका लागि जंगल छिर्नु भयो । तत्कालिन नेकपा माओवादीमा सक्रिय भएर जनुयद्व लडेका कुँवर जनमुक्ति सेनामा सक्रिय हुनुभयो ।

धेरै स्थानमा भएको आक्रमणमा एक योद्धाको रुपमा मैदान उत्रिनु भयो । युद्वका सुखद, दुखद र संघर्षका अनेक पाटा अहिले सम्झनामा छन् । तर, अहिले त्यही सम्झना बाहेक अरु चिज उनका लागि गौण बनेको आभाष हुन्छ । कारण योद्वा बनेर हतियार चलाएका कुँवरका हात अहिले आफ्नै गाउँघरको कृषि कर्ममा समर्पित छन् । अक्सर उहाँले पुरानो दुखद् कहानी कसैलाई सुनाउन नपाए हुँन्थ्यो भन्ने सोच्नुहुन्छ । रमाईलो र सुखद् कहानी त कस्ले लुकाउन खोज्छ र तर सूर्य कुँवरको नरमाईलो कहाँनी कस्लाई सुनाउने, उहाँ सकभर त्यो कहानी विर्सने प्रयासमा हुँनुहुन्छ । “हामीलाई सानै उमेरमा न्याय र समानताको सिद्धान्त रटाइयो, बुर्जुवा शिक्षाको अन्त्य गरी व्यवहारिक शिक्षा ल्याउनु पर्छ भनियो” कुँवरले पुराना दिनहरु सम्झदै भन्नुभयो “समानताका लागि जनयुद्धमा होमिएको म पछि आफै अपहेलित भएर निस्कनु प¥यो ।”

२०६२/०६३ को जनआन्दोलन पश्चात माओवादी शान्ति प्रक्रियामा आइसके पछि क्यान्टेनमेन्टमै एसएलसी पास गरेका कुँवरको उच्च शिक्षा पढ्ने सपना समेत अुधरै रह्यो साकार हुन सकेन । सेना समायोजनको समयमा जनमुक्ति सेनामा रहेका कुँवरलाई उमेर सानो भएको भन्दै ‘अयोग्य लडाकु’ घोषणा गरियो । सबै किसिमको समानता, जातिय, बर्गिय, लैंगिक कोही धनी गरिब नहुने राज्यको परिकल्पना थियो कुवँरको मनमा पनि । तर, ज्यानको बाजी लगाएर होमिनुभएको उहाँको सपना ७ वर्षमै तुहियो । समय क्रमले झन् भन्दा झन् पछि ।

“सानै उमेरमा लाखौं सपना बाँडेर जनयुद्धमा होमाएको माओवादीले अयोग्यको बिल्ला भिराउदै १० हजार सहित बिदाई ग¥यो” जीवनकै नमिठो अनुभव भन्दै कुँवरले सुनाउनुभयोे “हिम्मत हारिन, शिर ठाडो बनाएर गाउँ फर्किए, तर लगानीको समस्या भो । अनि कृषिमा लगानीको जोहो गर्न परदेश भासिए ।” उहाँले दश हजार समेत नलिने भन्दै तत्कालै फिर्ता गरेर गाउँ फर्केको बताउनुभयो । उहाँलाई अब समाजलाई सम्झाउनु छ र समाजमै घुलमिल हुँन प्रेरित ग¥यो र गाउँ फर्कनुभयो ।

जनयुद्धमा होमिदा यसरी परदेश भासिएला भन्ने कल्पना सम्म नगरेका कुँवरले परदेशिनुको विकल्प नभए पछि सोही विकल्प अपनाएको अनुभव बताउनुभयो । अयोग्यको बिल्ला मेट्नै भए पनि विदेशिएको उहाँको तर्क छ ।

६ वर्ष मलेसिया बसेर स्वदेश फर्कनुभएका कुँवर अहिले पुनः गाउँ फर्किएर व्यवसायिक कृषि कर्ममा सक्रिय हुनुभएको छ । ३० वर्षको उमेरमा अनेकौ दुःख कष्ट भोग्नुभएका कुँवरले दुदिलाभाटीको भाटी बजारमा डेढ वर्ष अघि पाँच रोपनी जग्गा खरिद गरी एकिकृत अमृता सनसाइन कृषि फर्म सञ्चालनमा ल्याउनुभएको छ । उहाँको फर्ममा २ हजार सिल्भर, कमन र ग्रास जातका माछा र ३ हजार रेन्बो ट्राउट माछा, कुखुरा पालन शुरु गर्नुभएको छ । उहाँले फर्ममा १० बंगुर र मिश्रित कृषि खेती गर्दे आउनुभएको छ । उहाँको फर्ममा एक ग्रिन हाउस र दुई टनेल रहेका छन् । टनेलमा गोलभेडा, ब्रो काउली, बन्दा लगायतका बेमौसमी र मौसमी तरकारी फलाउदै आउनुभएको छ । अयोग्यको बिल्ला मेटाउनैका लागि र लगानीको जोहो गर्न विदेशिएका कुँवरलाई मलेशियामा कृषि कर्मले झनै उहाँलाई कृषिको अनुभव सिकायो ।

“मलेसियामा छ वर्ष कृषि कर्ममै बिताए, धेरै कुरा सिक्ने मौका समेत पाए” उहाँले भन्नुभयो “विदेशमा सँगालेको अनुभव र सीपलाई स्वदेशमै प्रयोग गर्ने अठोटका साथ कृषि कर्ममा लागेको हुँ ।” फर्मका लागि जग्गा खरिद तथा पूर्वाधार निर्माणका लागि झण्डै ६० लाख लगानी गरिसक्नुभएका युवा व्यवसायी कुँवरले फर्म नजिकै रिसोर्ट खोल्ने योजना रहेको बताउनुभयो ।

उहाँले उत्पादन गर्नुभएको बंगुर तथा तरकारी गलकोट नगरपालिकाको सदरमुकाम रहेको हटिया बजारमा खपत हुने गरेको छ भने माछा उत्पादनको परिक्षणमै छन् । उत्पादन गर्न सके बजारको समस्या नभएको भन्दै कुँवरले आफूले उत्पादन गर्दै आएको तरकारी र मासु होलसेलमा बिक्री गर्ने गरेको जानकारी दिनुभयो ।

मलेसियाकै प्रविधिमा आफूले एकृकित खेति गर्दा पूर्वाधार निर्माणमा खर्च धेरै लाग्ने गरेको उहाँको अनुभव छ । उहाँले एकृकित खेती प्रणलीमा शुरुमा बढी लगानी लागेपनि दिर्घकालिन रुपमा आफूलाई फाईदा र सहज उहाँको भनाई रहेको छ । कृषिमा आधुनिकरण भित्राउने योजना अनुसार दीर्घकालिन सोँच राखेर लगानी गरेको र लगानी क्रमश बढाउदै जाने उहाँको योजना छ । “मिश्रित खेती प्रणाली मेरो प्रमुख उद्देश्य हो, एउटै फर्ममा सबै प्रकारका मासुजन्य तथा तरकारी उत्पादन गर्ने हो” उहाँले पुराना दिन स्मरण गर्दै भन्नुभयो “अयोग्य लडाकु भएर गाउँमा आउँदा समाजमा अपहेलित भएर विदेशिएको मलाई अहिले सबैले उत्साह, प्रशंसा र सल्लाह सुझाब दिदै आउनुभएको छ ।”

अयोग्य भएर आउँदा समाजमा घुलमिल हुन निकै समस्या भएका कुँवरले व्यवसायीक कृषि पेशा अँगालेपछि सहज भएको उहाँको अनुभव छ । उहाँले ३० वर्षको उमेरमा धेरै हण्डर खाए पनि अब जीवन सहज हुने उहाँको अपेक्षा छ ।

विदेशमा कमाएको ४० लाख रुपैयाँले कृषि व्यवसाय शुरु गरेको भन्दै उहाँले केही ऋण गरेर लगानी गर्दै आए पनि उत्पादन गरेको तरकारी र मासुले बजार पाउँदा खुसी भएको बताउनुभयो । “माछापालन परीक्षणमै छ, एकै पटक पाँच हजार माछा उत्पादन गर्दा राम्रै आम्दानी हुन्छ भन्ने आशामा छु’”कुँवरले भन्नुभयो “परिवारको राम्रै साथ र सहयोग छ, अवश्य पनि सफल हुनेछु ।” कुँवरले हाल सम्म तरकारी र बैगुरपालनबाट पाँच लाख भन्दा बढी आम्दानी समेत गरिसक्नुभएको छ । कुँवरलाई व्यवसायमा श्रीमती अमृता कुँवरले समेत सघाउदै आउनुभएको छ ।

गाउँमै कृषि व्यवसाय गर्दै आउनुभएका श्रीमानलाई कृषि कर्ममा अभिप्रेरित र सक्दो काममा सघाउदै आएको श्रीमती अमृताले बताउनुभयो ।

“उहाँले विदेशमा पनि कृषि कर्ममा नै सात वर्ष विताउनुभयो” श्रीमती अमृताले भन्नुभयो ‘जीवन चलाउनलाई आफ्नै पेशा गर्न उत्तम भन्ने लागेर परिवारकै सल्लाहमा व्यवसायीक कृषि पेशा अँगालेका हौं ।” सानै उमेरमा घर छोडेको छोरा गाउँमै कृषि कर्ममा रमाउदा सबैले उहाँलाई उदाहरणिय पात्रको रुपमा समेत ल्याएको श्रीमती अमृताको भनाई छ । उहाँले संग संगै परिवारको साथमा रहेर कृषि कर्म गर्दा आम्दानी संगै पारिवारिक रुपमा सन्तुष्टी दुबै हुने गरेको बताउनुभयो ।

न्याय, समानता र समृद्धिका लागि जनयुद्धमा होमिएर अपमानपूर्वक २०६५ सालमा रित्तो हात घर फर्कनुभएका कुँवर पुनः ७ वर्षको मलेसियाको बसाई पछि एक वर्ष अघि मात्रै घर आउनुभएको थियो । कृषि र मासुमा गलकोट नगरपालिका र जिल्लालाई आत्मनिर्भर हुने गरी ठूलो परिमाणमा आधुनिक खेती प्रणाली विस्तार गर्ने सपना र सोच रहेको पनि अन्त्यमा छुटाउनु भएन । कृषिमा आत्मनिर्भता खोज्नका लागि लागिपरेका युवाहरुलाई आफूले प्रेरित गर्ने खालको बातावरण मिलाएको गलकोट नगरपालिका–१ दुदिलाभिटिका अध्यक्ष नेत्र बहादुर बुढाथोकीले जानकारी दिनुभयो । उहाँले सुर्य कुँवर जस्तै आफ्नो वडामा भएको आधा दर्जन व्यवसायीक कृषकहरुलाई सक्दो सहयोग गर्दै आएको जानकारी दिनुभयो । “उहाँको शुरुवाती चरणमै छ, भर्खर प्रतिफल दिन थालेको छ” बुढाथोकीले भन्नुभयो “शुरुमा गाउँ छोडेर पलायन भएका युवाहरु, गाउँमै फर्केर कृषि कर्ममा लागनु उदारणीय हो, अनुदान तथा प्राविधिकरुपमा सहयोग गरिरहेका छौं ।” बुढाथोकीका अनुसार सूर्य कुँवरको फर्मलाई गण्डकी प्रदेश सरकार अन्र्तगत कृषि ज्ञान केन्द्र पर्वतबाट रु. तीन लाख ३० हजार, गलकोट नगरपालिकाको तर्फवाट रु.दुईलाख ५० हजार र वडा कार्यालयले समेत सक्दो सहयोग गर्दै आएको छ । उर्जाशिल युवाहरुले गर्दानै गलकोट नगरपालिकाले पाँच वर्ष भित्र कृषिमा आत्मनिर्भर हुँने लक्ष्य राखेकोमा सहयोग पुग्ने उहाँको अपेक्षा रहेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *