वर्षासँगै विपद् : योजनावद्व विकासको अभाव

अहिले दैनिकजसो वर्षा भइरहेको छ । वर्षाले बाढि पहिरोको प्रकोप निम्तिरहेको छ । जिल्लाको निसीखोलामा मंगलवार विहानै सडकबाट खसेको पहिरोले घर भत्किदा एकै परिवारका दुई बालबालिकाको ज्यान गयो भने निसीखोलामा पनि एक बालकको ज्यान गयो । यसअघि काठेखोला गाउँपालिकाको फापरखेतमा एक महिलाको पहिरोले घर पुरिदा ज्यान गुमाउनुप¥यो । प्राकृतिक कारण आउने विपत अर्थात भवितव्य त अकल्पनीय हिसावले आउँछ । तर, मानवीय लापरवाहीका कारण पनि पछिल्लो समय ठुलो क्षति बेहोर्नु परेको अवस्था छ । वर्षासँगैको विपद, यसका कारण, पहिरो प्रभावित क्षेत्रका बासिन्दाका सकसपूर्ण अनुभूति, सरकार र नागरिक स्वयम्ले अपनाउन सकिने सम्भावित सचेतताका बिषयमा आदर्शकर्मी साधना पन्तले कुराकानी गर्नुभएको छ । प्रस्तुत छ कुराकानीको सम्पादित अशंः

खगेन्द्र घमाल
तमानखोला वडा नम्बर १,बागलुङ

पहिरो र प्रकोपले मन आत्तिएको छ । पानी रोकिने संकेत छैन । म अहिले बागलुङ बजारमा छु । घर जाउँ भने कसरी जाउँ । बोक्सेको खाल्टोमा पहिरो कारण बाटो अवरुद्व छ । नियमित वर्षाका कारण अहिले ६० वर्षकी आमा, भाउजु र श्रीमतीलाई घरबाट सरेर आफन्तको घरमा बस्नका लागि भनेको छु । यसरी त कति दिन राख्छन् होला मेरो परिवारलाई ? उनीहरुको पनि आफ्नै परिवार छ । अहिले हामीहरु ठूलो समस्यामा परेका छौ ।

मेरो घर भन्दा माथिको घर गए राति पहिरोले बगाएछ । मेरो घर पनि पहिरोको जोखिममा छ । सडक निर्माण गर्ने क्रममा मेरो घर तलबाट र घर माथीबाट सडक निर्माण गरिएको छ । मेरो घर सडकको बीचमा छ । कति बेला के हुने हो थाहै छैन ? छिमेकीको घर पहिरोले लग्यो र बालबच्चा पनि पहिरोमा परे भन्ने खबरले मन बिचलित भएको छ ।

हामीहरु अब घरमा बस्ने वातवरण छैन । घर तल र घर माथि सडक निमार्ण गर्नका लागी डोजर चलाए पछि माटो खुकुलो भएर अहिले पानीले सवै माटो गलाईदिएको छ । अहिले सम्म हामीलाई कुनै पनि जनप्रतिनिधिको फोन आएको थिएन । तर, तपाईहरुले फोन गर्नुभयो खुसी लाग्यो । मेरो मात्र घर होइन, मेरा घरका आडका ४ वटा घर पनि जोखिममा छन् । सोमबार रातीको पानीले छिमेकीको घर बगाए पछि मात्र हाम्रा समस्या बाहिर आएको हो । हामीहरु महिनौ दिन पुगिसक्यो राम्रो सँग नसुतेको ।

बर्खाभर हामीहरु कहाँ बस्ने भनेर सोचाईमा परेको छु । जग्गा जमिन नभएको त होइन, हिउँद लागेपछि बनाउँला जसोतसो गरेर घर । तर अहिले के खाने, कहाँ बस्ने भन्ने समस्या आएको छ । भएको घर जोखिममा परेकाले अब त्यही घरमा जाने कुरा भएन । लगातार १ दिन र रातभर पानी प¥र्यो भने हाम्रा घर सवै मासिन्छ । अब तपाईहरुनै भनिदिनुहोस् हामीहरु के गरौ ?

सम्झना सिर्पाली
तमानखोला वडा नम्बर २ बागलुङ

सुतिराखेको समयमा राती १ बजे पहिरो आएर घर पर छिमेकीको घर पहिरोले लग्यो । रातभरी सुतेकी छैन । १५ महिनाको बच्चा साथमा छ । धेरै दिन भयो, लगातार पानी परिरहेको छ । अहिले पनि पानी पर्ने क्रम जारी छ । जाने ठाउँ कतै छैन, घरमै बसेका छौ, डर लागेको छ । सासु ससुरा, नन्द र म घरमा छम्म । श्रीमान बिदेश हुनुहुन्छ । अब खान बनाउन लागेका छौ । चाडै खाएर अब कसैको घरमा जानेकी भनेर ससुरा बा संग सल्लाह हुदैछ ।

हामीहरुले भनेको कसले सुन्छ र ? घर माथीबाट र तलबाट सडक बनाएका कारण आज हामीहरु घर छोडेर भाग्नु पर्ने अवस्था आएको छ । घरलाई बीचमा पारेर बाटो खनिएको हुनाले अहिले पहिरोको जोखिममा हाम्रो घर पनि परेको छ । सानो बच्चा छ घरमा, पहिरो आईहाल्यो भने पनि कसरी भाग्ने ? वडा अध्यक्ष, गाउँपालिकाका अध्यक्षयलाई त थाहा पनि नहोला । अहिले सम्म हामीलाई कसैले पनी केही भन्नु भएको छैन ।

नियमित पानी परिराखेको छ । एक दुई दिनको कुरा पनि भएन । त्यही पनि पानी परेको बेलामा कहाँ जाने, कसकोमा जाने ? हामीहरु ठूलो समस्यामा परेका छौ । तर, हाम्रो समस्या सुनिदिने, समाधान गरिदिने कोही भएनन् । बुढा सासु ससुरा हुनुहुन्छ घरमा । सानो बच्चा छ । अलमलमा परेकी छु । यही घरमा बसम् भने राति पहिरो आयो भने के गर्ने । घर छोडेर जाउँ भने कहाँ जाउँ ? समस्याले पिरोलिरहेको छ ।

डिल्लीराज उपाध्याय
उपप्राध्यापक
धौलागिरी बहुमुखी क्याम्पस

अहिले अविरल वर्षाका कारण बाढी पहिरोको जोखिम बढेको छ । बाढी पहिरोको सम्भावित जोखिम भएको स्थानमा सम्बन्धित स्थानीय सरकारले स्थानीय पत्रपत्रिका, एफएम रेडियो, टेलिभिजनबाट सुरक्षित हुनका लागि सुचना प्रवाह गर्नु पर्दछ । अहिले नेपालमा मौसमविदहरुले अझै पनि केहि दिन वर्षा हुने मौसमको पूर्व अनुमान गरेका छन् । त्यस्ता खालका सुचनालाई सकेसम्म धेरै मानिसहरु सम्म पु¥याउने काम गर्नु पर्दछ । यसरी सुचना धेरै मानिस सम्म पु¥याउने हो भने मानिसहरु आफै सचेत हुन्छन् ।

स्थानीय सरकार बिपत व्यवस्थापनका लागी तयारी अवस्थामा बस्न जरुरी छ । आफ्नो स्थानीय तहमा कुन–कुन स्थानहरु जोखिममा छन् भनेर अवलोकन गरी उनीहरुका लागी उचित व्यवस्थापन गर्न आवश्य हुन्छ । अहिले स्थानीय सरकार विपत व्यवस्थापनका लागि योजना विहिन देखिन्छ । स्थानीय सरकार भनेको पहिरो आए पछि मात्र जाने काम भएको छ । पहिरोमा परेका मानिसहरुलाई राहत बितरण गर्ने तर पहिरो आउने सम्भावना भएका मानिसहरुलाई बेवास्ता गरेको अवस्था छ । स्थानीय सरकारले सरकारी विद्यालय,भवनहरुमा पहिरोको जोखिममा परेका मानिसहरुलाई राख्ने व्यवस्था मिलाउनु पर्दछ । विपतिमा सहयोग गर्ने संघ संस्था नेपाल रेडक्रस, जिल्ला प्रशासन कार्यालयमा सिडियोको मातहतमा रहेर दैवि प्रकोप राहत उद्वार समिति र अन्य संघ सस्थाले सहयोग गर्नु पर्दछ । जोखिम भएको स्थानमा दुर्घटना हुनु भन्दा पहिले नै गएर मानिसहरुलाई सुरक्षित स्थानमा लाने काम र दुर्घटना भएपछि उद्वार र राहतको लागी सामाग्री सहित समयमा पुग्नु पर्ने हुन्छ ।

अहिले जुन खालले विकास निर्माणका काम योजना विहिन ढङ्गले भईराखेका छन् । यस विषयमा सरकारको ध्यान जान जरुरी छ । विकासको नाममा बन जंगल फडानी गर्ने । जथाभावीबाट बाटो खन्ने गरेकाले बर्खाको समयमा धेरै बाढी पहिरो आउने र जनधनको क्षति भएको पाईन्छ । त्यसकारणले विकासको नाममा विनाश भएको कुरामा स्थानीय सरकारको ध्यान जानु पर्दछ । बिकास गर्दा प्राकृतिक संरचना नबिगार्ने गरेर काम अगाडी बढाउनु पर्दछ ।

स्थानीय सरकार बिपत व्यवस्थापनको लागी योजना बनाएर काम गर्नु पर्दछ । अहिले हाम्रा स्थानीय सरकार सँग योजना नभएको हामीहरुले महुशुुस गरेका छौ । जोखिममा परेका मानिसहरु पनि आफै सचेत हुन जरुरी छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *