कृषि कथाःमौरी जस्तै जाँगरिला डिलबहादुर

आदर्श अनलाइन, बागलुङ
माहुरीको गुलियो मह । र त्यही मह जस्तै मिठो नाम डिलबहादुर । नाम मात्रै होइन, काम पनि उस्तै प्रेरणादायक । जिल्लाको बागलुङ नगरपालिका–१२ अमलाचौरका डिलबहादुर खत्री र मौरी एक अर्काका पर्यावाची बन्नुभएको छ ।

जिल्लामै सफल मौरीपालक कृषकका रुपमा स्थापित हुनुभएका डिलबहादुर दुःख र संर्घष भने सामान्य छैन । अझै आफ्नो धरातल बिर्सनु हुन्न र भन्नुहुन्छ–‘अहिले संघर्षरत छु, साँच्चिकै सफलता प्राप्त गर्न त अझै बाँकी नै छ ।’

कुनै समय कृषि पेशा तरकारी र कुखुरा पालन गर्दा बिफल भएर निराश नभएको पनि होइन । तर, त्यसबाट गम्भीर पाठ सिक्नुभएका डिलबहादुर अहिले मौरी पालनबाट उत्साहित हुनुहुन्छ । उमेरले ५७ वर्षका डिलबहादुरले २०४५ सालमा रुखमा रहेका मौरी लिएर परम्परागत घारमा मौरी पालनको शुरुवात गर्नुभएको थियो । एक घारबाट मौरीपलन गर्न शुरु गर्नुभएका खत्रीले अहिले मौरीपालन व्यवसायबाट वार्षिक १२ लाख बढी आम्दानी गर्दै आएको बताउनुहुन्छ ।

‘कृषिमा धेरै दुःख गरियो, भैसी पाले, खेतीपाती गरे, कुखुरा फर्म खोले’ क्षत्रीले भन्नुभयो ‘सबैबाट असफलता मात्रै हात लाग्यो, कुखुरा फर्म डुब्यो, मौरीले मात्रै मलाई चिने जस्तो छ, यसबाट सफलता मिल्यो, सन्तुष्टि मिल्यो ।’ मौरीपालन गर्नुअघि पाँच वर्ष कुखुरा फर्म खोलेर कुखुरा पालन गर्दै आउनुभएका खत्रीले पाँच वर्षमा आम्दानी भन्दा बढी ऋणको भार बेहोर्नुप¥यो । मौरी पालनलाई व्यवसायीक बनाउदै लैजाने सोचका कारण २०६५ सालमा बलेवा मौरी पालन उद्योग दर्ता गरी मौरी पालन व्यवसाय अगाडी बढाउनु भयो । उहाँको उद्योगमा मह मात्रै हैन, मह उत्पादनका लागि आवश्यक आधुनिक घार र मौरी सहितको घार उत्पादन तथा विक्री हुँदै आइरहेको छ । हाल सम्म मौरी पालनमा रु.८० लाख लगानी गर्दै आउनुभएका खत्री सहित दुई छोरा र ६ कामदार खटाएर दैनिक मौरीको घार समेत निर्माण गर्दै आएको बताउनुभयो ।

‘दुई छोरा जीवन र जनक फर्ममा घार उत्पादनमा सघाउदै आएका छन् । जेठो विदेश र कान्छो छोरा अध्ययनमै छ’ उहाँले भन्नुभयो ‘कृषि कर्ममा भएको असफलताबाट हिम्मत हारिन,अहिले मौरी पालनबाट सफलता मिलेको छ ।’ वर्षमा पाँच हजार केजी मह उत्पादन गर्दै आएको फर्मबाट वार्षिक ८ सय मौरीका घार समेत बिक्री हुँदै आएको छ । खत्रीका अनुसार गत वर्ष मात्रै ७ सय मौरीका घार होलसेल २८ सय र खुद्रा ३५ सय सम्ममा बिक्री गरेको उहाँको भनाई छ ।

मौरी पालन उद्योगमा उत्पादन गरेको अर्गानिक मह प्रति केजी एक हजारमा बिक्री गर्दै आउनुभएका खत्रीको उद्योगमा ३ सय मौरीका घार बिक्रीका लागि तयारी अवस्थामा छन् । स्थानीय काठको प्रयोग गर्दै बनाइएको मौरीको घर ५ देखि १० वर्ष टिकाउ हुने खत्रीको दावी छ । उहाँले मौरी सहितको घारलाई भने ९ हजारमा बिक्री गर्दै आउनुभएको छ ।

उत्पादन भएको मह बिक्रीका लागि बजार जानुपर्ने अवस्था नरहेकाले उपभोक्ता घरमै मह खरिद गर्न पुग्ने गरेका छन् । मौरीका घार पहिले जिल्ला कृषि विकास कार्यालयले खरिद गरेर कृषकलाई अनुदानमा वितरण गर्दै आएकोमा अहिले स्थानीय तहले खरिद गर्दै आएको उहाँको भनाई छ ।
बलेवा क्षेत्रमा उपर्युक्त चरन क्षेत्र भएका कारण एकै घारबाट वर्षमा चार पटक मह निकाल्न सकिने उहाँको अनुभव छ । ‘चरण क्षेत्र उपर्युक्त भएको स्थानमा असोज, कात्तिक, फागुन र जेठमा मह निकाल्न सकिन्छ’ खत्रीले भन्नुभयो ‘गाउँको हावा पानीमा हुर्केका मौरीबाट अर्गानिक मह उत्पादन हुन्छ, यसलाई आयुर्वेदिक औषधीको रुपमा समेत प्रयोग गर्न सकिन्छ ।’

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *