कोरोना संक्रमणः बढ्यो जोखिम, घट्यो सर्तकता

डम्मर बुढा मगर, बागलुङ

देशमा लकडाउन खुले सँगै बागलुङ जिल्लामा कोरोना संक्रमणको जोखिम फेरी बढेको छ । तर, आवश्यक सर्तकता भने नभएको पाइएको छ ।

लकडाउन खुलेपछि पनि सरकारले आवश्यक स्वास्थ्य सुरक्षा र सचेतता सहित यात्रा गर्न आग्रह गरेको छ । तर, बजार, भिडभाडमा पनि नागरिकहरु लापरवाही ढंगले बिना मास्क हिँडिरहेका छन् । आम नागरिक स्तरमा सचेतताका लागि बागलुङका प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले सडकमै आएर बिभिन्न संघ संस्थाको सहयोगमा मास्क बितरण गर्दै अब नियमित लगाएर यात्रा गर्न आग्रह गर्नुभयो । यो क्रम नरोकिए पछि शनिवार त जिल्ला प्रहरी कार्यालयले मास्क नलगाई सडकमा यात्रा गरिरहेका १५ जनालाई पक्राउ गरेर प्रति व्यक्ति १ सय रुपैयाँ जरिवाना समेत गरेको छ ।

फेरी संक्रमणको संकेत
जिल्लाको जैमिनी नगरपालिकामा यसै साता एक स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भयो । उनी अहिले धौलागिरी अस्पतालको आइसोलेसनमा छन् ।

जैमिनीका स्वास्थ्य संस्थादेखि नगरपालिका र स्थानीय स्तरमा सबै सन्त्रस्त छन् । जैमिनी नगरपालिकाले त समुदाय स्तरमा कोरोना संक्रमण फैलिएको आंशका सहित अति आवश्यक बाहेक सबै सेवाहरु बन्द गरेको छ ।

संक्रमित स्वास्थ्यकर्मी सँग सम्पर्कमा रहेका सबैलाई क्वारेन्टिनमा राखिएको छ । स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि नगरपालिकाले उनीसँग सम्पर्कमा आएकाहरुको पहिचान गरि स्वाब संकलन र पीसीआर परीक्षणलाई तीव्रता दिएको छ ।

नगरपालिकाले ती स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि हुन साथ उनीसँगको सम्पर्कमा आएकाहरुको पहिचान गरी स्वाब संकलन पछि परीक्षणको लागि पोखरा पठाएको जैमिनी नगरपालिकाका नगर प्रमुख इन्द्रराज पौडेलले बताउनुभयो । ‘कोरोना संक्रमणका हिसावले हामी जिल्लामा निकै कम प्रभावित अवस्थामा थियौ, तर अचानक एक स्वास्थ्यकर्मीमा कोरोना संक्रमण भएको पाइयो । त्यस पश्चात उहाँको सम्पर्कमा आएका सेवाग्राही, कर्मचारी लगायतको स्वाब परीक्षणको लागि पोखरा पठाएका छौँ,’ नगर प्रमुख पौडेलले भन्नुभयो ‘केही समयमै परीक्षणको रिपोर्ट आउँछ, त्यसपछि थप कदम अगाडी बढाउनेछौ ।’

नगर प्रमुख पौडेलका अनुसार कुश्मिशेरा प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत स्वास्थ्यकर्मी, नगर स्वास्थ्य शाखाका कर्मचारी र संक्रमित स्वास्थ्ययकर्मीसँगको सम्पर्कमा आएका ५० जनाको स्वाब संकलन गरिएको छ ।

‘हामीले पहिलो चरणमा स्वास्थ्यकर्मी लगायत केही कर्मचारीको स्वाब संकलन गरेर परीक्षणका लागि पठाएका छौँ, उहाँहरुको रिपोर्ट कस्तो आउँछ,’ पौडेलले भन्नुभयो ‘त्यसपछि यसको जोखिम न्यूनिकरण के कसरी गर्न सकिन्छ ? सोही अनुरुप लाग्ने योजनामा छौँ ।’ उहाँले केही समयका लागि नगरपालिकाबाट प्रवाह हुने आकस्मिक सेवा बाहेक सबै बन्द गरेको भन्दै स्वाबको नतिजा आएपछि अवस्था हेरेर सेवा सुचारु गर्ने बताउनुभयो ।

कोरोना संक्रमणलाई समुदाय स्तरसम्म पुग्न नदिनका लागि जनस्तरमा सतर्कता अपनाउन लगाइएको छ । स्थानीयलाई एक घरदेखि अर्को घरसम्म पनि जानका लागि रोक समेत लगाएको नगरपालिकाले जनाएको छ ।

संक्रमित स्वास्थ्यकर्मीलाई कसरी संक्रमण भयो भन्ने बारे अझै खुल्न नसकेको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले बताउनुभयो । संक्रमित स्वास्थ्यकर्मीले बिरामी चेक जाँज गर्ने भएको हुँदा बिरामीबाट सर्न सक्ने आशंका गरिएको गुरौको भनाई छ । उहाँले अहिलेनै समुदाय स्तरमा फैलिइ नसकेको बताउनुभयो । ‘अहिले समुदाय सम्म पुगेको भन्न मिल्दैन, फ्रन्टलाइनरहरुलाई कोरोना संक्रमण हुन सक्छ,’ उहाँले भन्नुभयो ‘केही स्वास्थ्यकर्मी सहित कर्मचारीको स्वाब परीक्षणको लागि पठाइएको छ, रिपोर्ट आएपछि थप परीक्षणको दायरा बढाउछौ । त्यसपछि मात्रै समुदाय स्तरमा कोरोना फैलिएको या नफैलिएको खुल्नेछ ।’

संक्रमित स्वास्थ्यकर्मी भन्छन्–कसरी भयो ?
जैमिनी नगरपालिकाका संक्रमित स्वास्थ्यकर्मी स्थानीय बासिन्दा समेत हुन् । साउन १५ गते कोरोना संक्रमण पुष्टी भएपछि ५२ वर्षीय स्वास्थ्यकर्मी अहिले सम्म आफुलाई कोरोना संक्रमण कहाँबाट भयो भन्ने पत्तो नभएको बताउछन् । उनको सोमवार साँझ पीसीआर रिपोर्ट नेगेटिभ आइसकेको अस्पताल स्रोत बताउँछ ।

नगरपालिकाको स्वास्थ्य शाखाको मुख्य जिम्मेवारी भए पनि उनको काम नगरपालिकामा ज्वरो नाप्ने, औषधी दिने र बिरामीको उपचार गर्ने भने थिएन । तर, जैमिनी नगरपालिका–१ शेरा बजारमा उनको आफ्नै क्लिनिक पनि छ । क्लिनिकमा आएका बिरामीको भने चेकजाँच र औषधि दिने कार्यमा सक्रिय थिए ।

विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना नेपाल नआउदै कोरोना रोकथाम तथा व्यवस्थापनमा आफुले सक्दो भुमिका निर्वाह गर्ने प्रतिबद्धता अन्तरमनबाटै गरेका थिए । त्यसै अनुरुप जैमिनी नगरपालिकामा कोरोना संक्रमित भेटिन थालेपछि क्वारेन्टिनको व्यवस्थापन, स्वास्थ्य उपकरणको जोहो गर्दै स्वास्थ्यकर्मी र क्वारेन्टिनमा रहेकाको मनोवल उच्च बनाउने काममा क्रियाशिल भए ।

नगरप्रमुख सहित नगपालिकाको कार्यालय भित्र काम गर्ने सबै कर्मचारीको साउन ८ गते स्वाब संकलन गरिएको थियो । स्वाब संकलन गरिएका अन्य सबैको रिपोर्ट नेगेटिभ आयो । मात्र उनै स्वास्थ्यकर्मीको पीसीआर रिपोर्ट पोजेटिभ आयो । आफुलाई कोरोना संक्रमण भएको कुरा आफै स्वास्थ्यकर्मी भए पनि विश्वास गर्नै नसकेको उनी बताउँछन् । ‘कोरोना संक्रमितको प्रत्यक्ष सम्पर्कमा आएको थिइन, नियमित हात धुने, सेनिटाइजर प्रयोग गर्ने, ग्लब्स लगाउने जस्ता सबै सावधानी अपनाएर काम गरेको थिए,’ आचार्यले भन्नुभयो ‘मलाई पनि संक्रमण भयो भने कोरोना गाउँ–गाउँमै पुगेको छ कि भन्ने लागेको छ ।’

स्वाब संकलनको काम गर्दा ल्याबका साथीहरु अगाडी खटिए पनि आँफु केबल व्यवस्थापकिय काम मात्र गरेको उनको भनाई छ । नगरपालिकमा सेवा लिन आएका सेवाग्राहीबाट आफुलाई कोरोना सरेको भए घर घरमै गएर परिक्षण गर्नुपर्ने अवस्था आउन सक्ने उनी बताउँछन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *