स्कुलबाट हटाइदै क्वारेन्टिन, तर विकल्पमा अन्यौल

कमाण्ड पोस्ट भन्छ–‘एकल प्रयासले कोरोना रोकथाम असम्भव’

जिल्लाका ८ पालिकाले स्थानीय तहबीचको व्यवस्थापन खर्च नदिए पछि सदरमुकाममा मात्रै क्वारेन्टिन केन्द्रित गर्नेमा अन्यौलता पैदा भएको छ ।

आदर्श अनलाइन, बागलुङ
देशमा जारी तीन महिना लामो बन्दाबन्दी (लकडाउन) खुले सँगै बागलुङमा कोरोना रोकथाम तथा नियन्त्रणको थप तयारी र व्यवस्थापनका विकल्पका बारेमा सरोकारवालाबीच अन्यौल देखिएको छ ।

जिल्लाका १० वटै पालिका भित्रका क्वारेन्टिन स्थानीय विद्यालयहरुमा सञ्चालन गरिएको छ ।लकडाउन खुले सँगै जिल्ला कमाण्ड पोस्ट र जिल्ला शिक्षा समन्वय समितिको कार्यालयले जिल्लाका सबै स्थानीय तहका बिद्यालयहरुलाई अब पढाई सञ्चालनको तयारी गर्ने गरी क्वारेन्टिन हटाउन र आवश्यक व्यवस्थापन तर्फ लाग्न निर्देश गरिसकेको छ ।

जस अनुसार भारतबाट आएर क्वारेन्टिन बसेका ठुलो संख्या पीसीआर परीक्षणसँगै घर गएकाले अहिले अधिकांश क्वारेन्टिन खाली भइसकेका छन् । सबै भन्दा ठुलो संख्याको भार खेपेको निसीखोला गाउँपालिकामा अहिले ३१ जना मात्रै क्वारेन्टिनमा छन् । यो पालिकाले ८ सय ३७ जनालाई क्वारेन्टिन राखेर पीसीआर परीक्षण गरेर घर पठाएको छ । बडिगाड गाउँपालिकाले पनि अधिक संख्याको व्यवस्थापन ग¥यो । ५ सय ८५ जनालाई क्वारेन्टिनमा राखेर सबैलाई घर पठाइए पछि अहिले सबै क्वारेन्टिन रित्तो भएको छ । ढोरपाटन नगरपालिकामा अहिले पनि १४ जना क्वारेन्टिनमा छन् ।

जिल्लाको काठेखोला गाउँपालिकामा १८, बागलुङ नगरपालिकामा १८, जैमिनी नगरपालिकामा २८ र बरेङ गाउँपालिकामा ६ जना जना क्वारेन्टिन छन् । यि सबै क्वारेन्टिनमा बैकल्पिक व्यवस्थापन गर्ने तयारी छ । प्रि–आइसोलेसनको रुपमा रहेको धौलागिरी बहुमुखी क्याम्पस पनि अब पढाई र परीक्षा सञ्चालन गर्ने तयारीमा छ । र कोरोना संक्रमित बिरामी राख्न छोडिसकिएको छ । आगामी भाद्र १ गतेदेखि बिद्यालयमा पढाई सञ्चालन गर्ने सरकारको तयारी छ । यद्यपी, पछिल्ला दिनमा कोरोना संक्रमितको संख्या फेरी बढ्न थालेकाले केही अनिश्चितता देखिन थालेको छ ।

क्वारेन्टिन बनाइएका स्कुलमा पढाई सञ्चालन गर्ने तयारी सँगै स्थानीय सरकारले पनि स्थानीय स्तरको विद्यालय इतरको बैकल्पिक स्थल खोजीमा लागेका छन् । र अधिकांश स्थानीय तहका प्रमुखहरुले जिल्ला सदरमुकाममै अब क्वारेन्टिन केन्द्रित गर्नुपर्नेमा जोड दिएका छन् । तर, बजारमा मात्रै क्वारेन्टिन राख्ने बिषयमा स्थानीय तह बीच यसअघिको व्यवस्थापन खर्चको बिषयलाई लिएर केही बिवाद र अन्यौल देखिएको छ ।

जिल्लामा कोरोना रोकथाम र नियन्त्रणका लागि देशमा जारी लकडाउन खुले पनि कोरोना जोखिम कायमै रहेकाले फरक तवरले सुरक्षा सचेतता अपनाउनेमा सबै स्थानीय तह एकमत भए पनि व्यवस्थापन खर्चको बिषयले अन्यौलता थपिएको हो ।

यसअघि कोरोनाको तिव्र जोखिम हुँदाको समयमा बागलुङ बजारमा होल्डिङ सेन्टर बनाएर सबै स्थानीय तहका अलपत्र नागरिकलाई उद्वार तथा व्यवस्थापन गर्ने, त्यसको व्यवस्थापन बागलुङ नगरपालिकालाई गर्ने र सबै स्थानीय तहले खर्च बाँडफाड गर्ने सहमति भएको थियो । तर, गत आर्थिक वर्षमा सहमति अनुसार काठेखोला गाउँपालिकाले बाहेक अन्य कुनै पनि पालिकाले खर्च नदिए पछि अब विदेशबाट आउनेलाई सिधै सम्बन्धित स्थानमा पठाउने गरिएकोमा अब बागलुङ बजारमै होल्डिङ सेन्टर बनाएर क्वारेन्टिनमा राख्ने बिषयमा बागलुङ नगरपालिकाले असहमति जाहेर गरेको छ ।

यद्यपी स्थानीय तह प्रमुखहरुको भने सदरमुकाममै क्वारेन्टिन केन्द्रित गर्नेमा जोड छ । ‘विदेशबाट आउने र कोरोना संक्रमित संख्या पनि घटेको छ, लकडाउन हटेको छ,’ताराखोला गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तिले भन्नुभयो, ‘अब बर्खायाम भएकाले लैजान र संक्रमित भए फेरी ल्याउन पनि समस्या छ, ठाउँ ठाउँमा सडक अवरुद्व भएका छन् । यसकारण जिल्ला सदरमुकाकमै समन्वय व्यवस्थापन गर्ने सहमति भएको छ ।’ सदरमुकामकै क्वारेन्टिनमा राखेर पीसीआर परीक्षण गरेर नेगेटिभ आए पश्चात मात्र गाउँ पठाउदा राम्रो हुने उहाँको भनाई छ ।

१/२ जना आउने र उनीहरुलाई छुट्टा छुट्टै लैजादा सवारीदेखि अरु व्यवस्थापनमा पनि समस्या र खर्चिलो हुने भएकाले सदरमुकाममै उत्तम विकल्प भएको बरेङ गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद पौडेलले बताउनुभयो । ‘बर्खाको बाटो अवरुद्ध छ, भोलीका दिनमा अझ केके हुने हो अनिश्चित छ, यस्तो बेलामा सदरमुकाममै विदेशबाट आएकालाई राख्दा सबै हिसावले सहज हुन्छ’ उहाँले भन्नुभयो, ‘पीसीआर परीक्षण गरेर मात्र गाउँ घर पठाउँदा सुरक्षित पनि हुन्छ ।’

तर, बागलुङ नगरपालिकाले यसको व्यवस्थापनमा यसअघि जिल्लाका ८ वटा स्थानीय तहले सहमति गरे अनुसार क्वारेन्टिन र होल्डिङ सेन्टरमा राखेको खर्च बेहोर्ने निर्णय कार्यान्वयन नगरेकाले अब व्यवस्थापन गर्न नसकिने अडानमा छ । ‘अहिले सम्म केहि समय पहिलेको निर्णय अनुसार जिल्लाका सबै स्थानीय तहका नागरिकलाई उद्वार गरेर क्वारेन्टिनमा व्यवस्थापन ग¥यौ तर काठेखोला गाउँपालिकाले २ लाख रुपैयाँ बाहेक अरुले सहमति कार्यान्वयन गरेनन्,’ बागलुङ नगरपालिकाका मेयर जनकराज पौडेलले भन्नुभयो ‘त्यसैले फेरी निर्णय गर्ने कुरामा असहमति जाहेर गरिएको हो, हामी मानविय हिसावले गर्नुपर्ने उद्वार र व्यवस्थापन पहिला जुन हिसावले गरेका थियौ, अब पनि आफ्नै हिसावले गर्छौ ।’ काठेखोला बाहेक अरु स्थानीय तहमा सहमति अनुसार रकम नदिए पनि बागलुङ नगर रकम माग्न पनि नजाने उहाँको भनाई छ ।

कमाण्ड पोस्ट भन्छ–‘एकल प्रयासले कोरोना रोकथाम असम्भव’
कोरोना संक्रमण जोखिमलाई केन्द्रित गरेर देशमा लामो समय लागु गरिएको लकडाउन हटे पनि कोरोना नहटेकाले जिल्ला कमाण्ड पोस्टले समन्वय र सचेतनाका लागि काम गरिरहेको बताएको छ । यसका लागि अहिले नेपाल सरकारले निर्देशन गरे अनुसार स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्न लगाउने कार्यमा लागेको जिल्ला कमाण्ड पोस्टका संयोजक तथा बागलुङका प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले बताउनुभयो । ‘अहिलेका क्वारेन्टिन सबैजसो स्कुलमा भएकाले हटाउन भनिएको छ, अरु सम्भावित वैकल्पिक भवनहरु खोज्न जिल्लाका सबै पालिका सँग अनुरोध गरिसकेका छौ’ प्रजिअ न्यौपानेले भन्नुभयो, ‘जिल्ला सदरमुकाम पनि रहेकाले बागलुङ नगरपालिकाका सम्भावित बैकल्पिक भवनहरु हेर्ने काम भइरहेको छ, हामी बिद्यालयको अरु विकल्प खोज्ने क्रममा छौ, बजारका हकमा बागलुङ नगरपालिकाले यसको विकल्प खोज्ने पहलमा छ ।’

अब सदरमुकाममा मात्रै क्वारेन्टिन केन्द्रित गर्ने बिषयमा छलफल भए पनि पालिकाका बीचको यसअघिको सहमति कार्यान्वयनको बिषयमा असमझदारी देखिएकाले केही असहज भएको न्यौपानेको भनाई छ । ‘अब तत्कालै सहज होला जस्तो छैन । अरु जिल्लामा क्रमशः संक्रमित संख्या बढीरहेको छ ।’ उहाँले भन्नुभयो, ‘अब सबै पालिकाले जति सक्दो छिटो विकल्प तयार गर्नुपर्छ, प्रशासन र कमाण्ड पोस्टका तर्फबाट सचेतनामूलक कार्यक्रम मास्क लगाउने, सामाजिक दुरी कायम गर्ने, पसलवालालाई पनि सचेत बनाउने, प्रचारात्मक कार्यक्रम गरिरहेका छौ, केहीलाई सांकेतिक रुपमा कारवाही गरेर अनिवार्य मास्क लगाउन र सचेतता अनपाउन भनेका छौ ।’
अब चाडपर्वको सिजन समेत शुरु भएकाले गाउँ–गाउँमा पालिकालाई स्वास्थ्य सुरक्षा र सचेतताका लागि समन्वय गर्न आग्रह गरिएको छ । हर नागरिक स्वयम् सचेत भए मात्र कोरोना रोकथाम र नियन्त्रण सम्भव हुने भन्दै प्रहरी, प्रशासनको एकल प्रयासले मात्र सम्भव नहुने प्रजिअ न्यौपानेले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *