काँडेबासमा कोरोनाले नरोकेको पढाई

डम्मर बुढा मगर, बागलुङ
विश्वभर महामारीको रुपमा फैलिएको कोरोना संक्रमणका कारण शैक्षिक क्षेत्र अस्तव्यस्त छ ।
गत वर्षको परिक्षा त स्थगित भयो नै । नयाँ शैक्षिक सत्रको पठन पाठन समेत अनिश्चित भएको छ ।
बालबालिका पढाइ भन्दा पनि घुम्ने डुल्ने, टिभी हेर्ने, मोवाइलमा गेम खेलेरै दिन बिताउने गरेका छन् । जसका कारण अभिभावक भने आजित बनिरहेका छन् ।

अधिकांश सामुदायिक विद्यालयमा क्वारेन्टिन निर्माण गरि विदेशबाट आउने नागरिकलाई व्यवस्थापन गरिदै आइएको छ । यसले गर्दा विद्यार्थीलाई सुरक्षा सामग्रीको प्रयोग गरि सामाजिक दूरी कामय गरेर अध्ययापन गराउने अवस्था पनि छैन । त्यसैले जिल्लाभर लकडाउन खुल्ला भए सँगै थोरै थोरै संख्यामा थालिएको पठन पाठन पनि जिल्ला शिक्षा समन्वय इकाईको कार्यालय बागलुङले बिवाद निम्ताएको भन्दै तत्काल रोक्न निर्देशन दिएको छ ।

तर, जिल्लाको गलकोट नगरपालिका वडा नम्बर ६ काँडेबासमा रहेको शिव माध्यमिक विद्यालयले भने विद्यार्थीलाई भिन्न शैली अपनाएर पढाइ रहेको छ । सेवा क्षेत्र भित्रका बालबालिकालाई टोल–टोलमा पुगेर शिक्षण गराइ रहेको बिद्यालयले जनाएको छ ।

विद्यालयले शिक्षकहरुलाई गाउँ–गाउँमै पठाएर शिक्षण गराइएको छ । लकडाउन अवधिदेखि नै सुरक्षित हुँदै बालबालिकालाई अध्यापन गराउँदै आएको विद्यालयका प्रधानाध्यपक हरि चालिसेले बताउनुहुन्छ । ‘लकडाउन सुरु भएको केही समयदेखि नै टोल–टोलमा पुगेर विद्यार्थी पढाउन सुरु गरेका हौँ, सामाजिक दूरी कायम गरि स्वास्थ्य सुरक्षाका सामग्री प्रयोग गरि पढाउँदै आएका छौँ’, प्रधानाध्यपक चालिसेले भन्नुभयो ‘यस्तो समयमा पनि पढाउँछन् भनेर धेरैले गुनासो पनि गर्नुभयो । तर हामीले सुरक्षित भएर विद्यार्थीलाई अध्यापन गराइ रह्यौँ ।’

शिक्षकहरुको ११ समूह निर्माण गरी विद्यार्थीहरुलाई निश्चित संख्यामा राखेर पढाइएको उहाँको भनाई छ । विद्यालय सेवा क्षेत्रका विभिन्न १० स्थानमा ‘शिव मावि अध्ययन स्थल’ तोकेर हरेक दिन विहान १० बजेदेखि दिउँसो १ बजेसम्म पढाउँदै आएको प्रधानाध्यापक चालिसे बताउनुहुन्छ । ‘विद्यार्थीहरुलाई पायक पर्ने स्थान छनौट गरेर १० स्थानमा अध्ययन स्थल तोकेर त्यही स्थानमा पढाउँदै आएका छौँ,’ उहाँले भन्नुभयो ‘अध्ययन स्थलमा पुग्नको लागि प्रत्येक विद्यार्थीलाई १०÷१५ मिनेट लाग्छ ।’

यसरी विद्यार्थीलाई टोल–टोलमा पुगेर अध्यापन गराउन त्यति सहज भने छैन । तर पनि शिव माध्यमिक विद्यालयले संकटमा शिक्षणको दायित्व पुरा गर्न शिक्षण क्रियाकलापलाई निरन्तरता दिएको उहाँको भनाई छ । अध्ययन स्थलमा शिक्षण क्रियाकलापलाई निरन्तरता दिनुले विद्यार्थीहरुमा पनि केही समस्याहरु आउनु स्वभाविक हो ।

खानेपानी, शौचालय लगायतको व्यवस्थापनमा पनि उत्तिकै चूनौती नै हुने गर्छ । विद्यालयले सबै अध्ययन स्थलमा खानेपानी र अस्थायी शौचालयको व्यवस्थापन गरेको प्रधानाध्यापक चालिसेको भनाई छ । ‘तत्कालको समस्यालाई समाधानका लागि सबै स्थानमा खानेपानी र अस्थायी शौचालयको व्यस्थापन गरेका छौँ, यसको व्यवस्थमानमा अलिकति समस्या त हुँदो रैछ, तैपनि हामीले व्यवस्थापन ग¥यौँ,’ उहाँले भन्नुभयो ।

वार्षिक परिक्षा हुने समयमा कोरोना महामारीको हल्ला मच्चिन थालेसँगै तोकिएको मिति भन्दा केही समय अगाडीनै परिक्षा सुरु भएको थियो । तर, परिक्षाको नतिजा सार्वजनिक नहुँदै लकडाउन सुरु भएको थियो । बागलुङका अधिकांश विद्यालयले समाजिक सञ्जाल फेसबुक तथा अन्य माध्यमबाट नतिजा सार्वजनिक गरेका थिए ।

विद्यालयले नतिजा सार्वजनिक भए लगत्तै सबै विद्यार्थीलाई पुराना पाठ्य पुस्तकहरु बाँडेरै भए पनि शिक्षणलाई अगाडी बढाउँदै आएको छ भने विभिन्न चरणमा विद्यार्थीलाई फरक–फरक किसिमले शिक्षण गरिएको छ । लकडाउन लम्बिने र विद्यालय तत्काल खोलिने सम्भावना नरहे पछि नयाँ पाठ्य पुस्तक समेत विद्यार्थीको हात–हातमा पु¥याएको प्रअ चालिसेको भनाई छ । आँफूहरुले गलकोट नगरपालिका र शिक्षासँग समन्वय गरेर शिक्षण गतिविधिलाई अगाडी बढाएको चालिसेले बताउनुभयो ।

शिक्षा विकास तथा समन्वय इकाइ बागलुङका प्रमुख कुश्मराज उपाध्यायले टोल–टोलमा पुगेर सुरक्षा सम्बन्धि सबै उपाय अपनाएर शिक्षण गर्न मिल्ने बताउनुभयो । उपाध्यायले विद्यालयमा जस्तै कक्षा सञ्चालन गर्न नहुनेमा निर्देशन जारी गरिएको तर टोल टोलमा सामाजिक दूरी कायम गरेर शिक्षण गर्न सकिने बताउनुभयो । ‘धेरै विद्यार्थी जम्मा गरेर पढाउनु भएन, सामाजिक दूरी कायम गरी सुरक्षाका सबै सावधानी अपनाएर गर्नुपर्छ,’ कार्यालय प्रमुख उपाध्यायले भन्नुभयो ‘धेरै ठाउँमा गलकोटमा जस्तै भएको छ, त्यो त निर्देशिकामा समेत लेखेको छ ।’

उहाँले धेरै विद्यार्थी जम्मा गर्न नहुने र धेरै समय एकै ठाउँ राखेर शिक्षण गर्न नहुने समेत बताउनुभयो । सरकारले असार असार १ गतेदेखि विद्यालय संचालन गर्ने भने पनि देशमा संक्रमितको संख्या बढ्दो र जोखिम पनि उच्च हुँदै गएपछि अन्य क्षेत्र जस्तै शैक्षिक संस्था पनि सञ्चालन हुन सकेका छैनन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *